बारा पर्सा अपडेटः मृतकको संख्या ३५ पुग्यो, ५०० बढी घाइते, उद्धार जारी

77







आइतबार राति आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा गरी ३५ जनाको मृत्यु भएको छ । बारामा ३४ र पर्सामा एक जनाको मृत्यु भएको हो । हावाहुरीबाट रौतहटमा  गरी ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार जारी राखेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बाराको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।

तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको हो । आधा दर्जन बढी गाउँका अधिकांश घर भत्किएका छन् । पर्सामा पनि केही गाउँमा क्षति पुगेको छ ।
अहिले उद्धारकार्य जारी रहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

बारा पर्सामा चितवनबाट चिकित्सकको टोली जाँदै

तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो ।
चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए।

 

अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको उनको सचिवालयले जनाएको छ। पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

मुख्यमन्त्री र प्रधानमन्त्रीवीच टेलिफोन वार्ता, राष्ट्रिय शोक घोषणा गर्न माग

 

प्रदेश २ सरकारले प्रदेशको बारा र पर्सामा भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ ।

प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टेलिफोन कुराकानीका क्रममा मुख्यमन्त्री राउतले राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेका हुन् ।

प्रदेशमा आफूहरुले नै शोक घोषणा गर्न लागे पनि यत्रो क्षतिले राष्ट्र नै शोकमा पुगेकाले संघीय सरकारलाई यस्तो आग्रह गरिएको मन्त्री साहले बताए ।

मन्त्री साहका अनुसार सोमबार बिहानको प्रदेश सरकारको बैठकममै यो प्रस्ताव आए पनि आफूहरुले यस सम्बन्धमा कुनै निर्णय नगरी प्रधानमन्त्रीलाई आग्रह गरिएको हो ।

मृतकका परिवारलाई रु ३ लाखका दरले क्षतिपूर्ति दिने र घाइतको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

बिहान बसेको प्रदेश सरकारको बैठकले मृतकका परिवारलाई रु ३ लाखका दरले क्षतिपूर्ति दिने र घाइतको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

 

उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मातहतका सुरक्षा निकायलाई राहत, उद्दार तथा उपचारमा गम्भीर हुन निर्देशन दिएका छन् ।

बारा–पर्सामा गएराति आएको भीषण हावाहुरीमा ठूलो जनधनको क्षति भएको बताउँदै उनले उद्दार र उपचारमा गम्भीर हुन निर्देशन दिएका हुन् ।

 

You might also like
Loading...