सरकारलाई चिकित्सकहरूको ७२ घण्टे अल्टिमेटम !


काठमाडौं : चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरूको जायज माग तत्काल पूरा गर्न माग गरेको छ। संघले ७२ घन्टासम्म सरकारी आफूहरूका माग वार्ता र संवादको माध्यमबाट पूरा नगरे सशक्त विरोधका कार्यक्रमहरू देशभर संचालन गर्ने बताएको छ।




सरकारी चिकित्सकहरूको आन्दोलनको छैठौँ दिनसम्म पनि कुनै वार्ता र संवादको पहल नगरेको र आफ्ना मागहरूलाई बेवास्ता गरेको भन्दै संघले ७२ घन्टासम्म पनि माग पूरा नभए आन्दोलन गर्ने निर्णय गरेको हो। संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो।

‘७२ घण्टाभित्र नेपाल सरकारले वार्ता र संवादको माध्यमबाट उत्पन्न समस्याको समाधान निकाल्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ। अन्यथा, चिकित्सकहरूको माग र संवेदनशिलतालाई बेवास्ता गर्दै चिकित्सकहरूको मान मर्यादालाई अबमूल्यन गरिएको खण्डमा नेपाल चिकित्सक संघ सशक्त विरोधका कार्यक्रमहरू देशभर संचालन गर्न बाध्य हुने व्यहोरासमेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ’ जारी गरेको विज्ञप्तिमा भनिएको छ।


यस्तै संघले समायोजनका सम्बन्धमा उत्पन्न समस्याको उचित समाधान वार्ता र संवादबाट गर्नु पर्नेमा सरकारका जिम्मेवार व्यक्तिहरूले सार्वजनिक रूपमा चिकित्सा पेशालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्ति दिने, शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका चिकित्सकहरूलाई नै प्रहरी लगाई धरपकड गर्ने जस्ता क्रियाकलापलाई प्रसय दिएकोले चिकित्सकहरूलाई चिढाउने र सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने वातावरण सिर्जना गरेको आरोप लगाएको छ।

संघीयताअनुसार स्वास्थ्य सेवाका कर्मचारीको समायोजन गर्दा अन्याय भएको भन्दै सरकारी चिकित्सक देशभर आन्दोलनमा छन्। सरकारी चिकित्सक संघको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि संघले बिहीबार चिकित्सकहरूको बृहत बैठक बोलाएको छ।

 




सम्बन्धित
Loading...