नमुना नवलपुर सदरमुकामको शिलन्यास

195







कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जिल्ला नवलपुर जिल्लाको नमुना नवलपुर सदरमुकामको शिलान्यास गरेका छन् ।

शनिबार उनले कावासोतीमा औपचारिक कार्यक्रमका बीच नेपाल सरकारको नाममा लालपूर्जा ल्याएको कावासोती ३ को खुल्ला चौरमा शिलान्यास गरेका हुन् ।

योसँगै यहाँ नवलपुर (पूर्वी नवलपरासी) को जिल्ला भित्र रहने सरकारी कार्यालयहरुलाई भवन निर्माणको लागि बाटो खुलेको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको मार्ग अघि बढेको बताए ।

शनिबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन र समृद्धितर्फ देश अघि बढेको दावी समेत गरे ।

उनले केही समय अगाडि शिलान्यास गरिएको पूर्वपश्चिम लोकमार्गको नारायणगढ–बुटवल फोर ल्यान सडक खण्डमा काम तिब्र गतिमा अघि बढेको बताए । प्रधानमन्त्री ओलीले दाउन्नेको पहाडमा यात्रा सहज गर्नका लागि दुम्किबास–बर्दघाट सुरुङ्गमार्ग निर्माण गरिने पनि बताए । उनले भने – अहिले तत्कालका लागि पहाडकै बाटो प्रयोग हुन्छ तर, छिट्टै बर्दघाटदेखि दुम्किबाससम्म सुरुङ्गमार्ग निर्माण गरिने छ ।

दाउन्ने सडक खण्ड सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र भित्र पर्दछ भने बर्षा याममा भत्किएका सडक र पहिरोका कारण दिनहुँ सडक अवरुद्ध हुने गर्दछ ।

प्रधानमन्त्री ओलीले भने – ‘त्रिवेणी कोरला सडक खण्डको काम पनि धमाधम भैरहेको छ, पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन वे को काम पनि सकिएको छ, अब विकास निर्माणकै कामले गति लिनेछ ।’

नवलपुर सम्भावनाको खानी भएको भन्दै देशकै सबैभन्दा ठूलो फलामखानी नवलपुरमै रहेकाले यसलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने प्रधानमन्त्रीले बताए । नवलपुरको धौवादीमा झण्डै १० किलोमिटर क्षेत्रफलमा फैलिएको फलाम खानी अहिले उत्खननको चरणमा रहेको छ।

उनले फलामखानी सञ्चालनमा ल्याएर यहाका बेरोजगारहरुलाई रोजगारमात्र दिने नभई समग्र देशको अर्थतन्त्रमा ठ्रलो योगदान पु¥याउनेमा आफु विश्वस्त रहेको बताए । उनले रेलको सर्वे पनि सकिएकाले पुर्वपश्चिम रेल गुडाउने र गण्डकी र कोशीमा पानी जहाज चलाएरै छाड्ने दावी समेत गरे ।

प्रधानमन्त्री ओलीले समग्र देशमा भैरहेका विकास निर्माणका कामले द्रुत गति लिएको बताउदै कुनै पनि नागरिकलाई शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चित हुन नदिने जिगिर गरे । उनले देशका दुर्गम क्षेत्रमा रहेका महिलाहरु सेत्केरी हुने बेलामा उपचार नपाएर अकालमै आमा र शिशुको ज्यान जाने अवस्था अब सधैका लागि अन्त्य गरिने बताए ।

उनले भने – ‘अब कोहि पनि महिलाले अकालमै ज्यान गुमाउनु पर्दैन प्रत्येक ठाउमा हेलिकप्टरबाट उद्वार गरेर अस्पताल पु¥याईन्छ ।

उनले विद्यार्थी भर्ना अभियान सफल बनाउन सबै सरोकारवाला निकायलाई निर्देशन समेत दिए ।

उनले आफ्नो सरकारले गरेको कामको खुलेर प्रसंशा गर्दै जेष्ठ नागरिकलाई निशुल्क एक लाख बिमा, यसै वर्ष ४ सय झोलुङ्गे पुल निर्माण, ८ सय किलोमिटर सडक कालोपत्रे लगायतका काम भैसकेको उल्लेख गरे । उनले देश समृद्ध गराउनका लागि सबैले एकतावद्व भएर अगाडि बढ्न आव्हान गर्दै मिलेर अघि बढे समृद्धि आफ्नै आँखा अगाडि देखिने बताए ।

उद्घाटन कार्याक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले देशमा सबैभन्दा ठूलो खतरा भ्रष्टचार भएको भन्दै सरकारले उपलब्ध गराएको जग्गा र सरकारी भवन निर्माणका क्रममा भ्रष्ट्रचार नगर्न आग्रह गरे ।

गण्डकी प्रदेशलाई समृद्ध गराउन सहयोग गर्न संघीय सरकारसँग मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले गण्डकी प्रदेश समृद्ध हुनका लागि प्रशस्त सम्भावना रहेको बताउँदै त्यसका लागि संघीय सरकारले प्रदेश सरकारको योजनालाई सहयोग गर्न माग गरे ।

मुख्यमन्त्री गुरुङले भने – ‘गण्डकी प्रदेशमा ३ हजारदेखि ६ हजार मेघावाटसम्म विद्युत उत्पादन गर्न सकिन्छ । यस्ता थुप्र्र सम्भावनाहरु गण्डकी प्रदेशमा छ । त्यसका लागि संघीय सरकारले सहयोग गरिदिनु पर्यो।’

समायोजनमा नजाने कर्मचारी चाहिदैनः मन्त्री पण्डित

शुक्रबारदेखि नै नवलपुर आएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनमा नजाने कर्मचारी सरकारलाई आवश्यक नरहेको बताए ।

उनले भने – सबैले सुगम रोज्ने, दुर्गम जाने परे आन्दोलन गर्ने, त्यसो भए दुर्गममा को जान्छ । सरकारले गरेको समायोजनलाई नमान्ने कर्मचारी हामीलाई चाहिँदैन ।

कार्यक्रममा भुमि व्यबस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल, प्रतिनिधिसभा सदस्य तिलक महत, गण्डकी प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता कृष्ण चन्द्र नेपालीले शुभकामना मन्तव्य राखेका थिए ।

You might also like
Loading...