श्रीलंकामा चर्च र होटल लक्षित शृंखलाबद्ध बम बिस्फोटमा २०७ जनाको मृत्यु

102







कोलम्बो । श्रीलंकामा भएका शृङ्खलाबद्ध बम हमलामा परी २ सय ७ जना भन्दा बढीको मृत्यु भएको छ भने अन्य ५ सय भन्दा बढी घाइते भएका छन् ।

आइतबार बिहान चर्च र केही होटलमा गरी ६ वटा विस्फोट भएका थिए । त्यसपछि थप दुई वटा बम बिस्फोट गराइएको छ ।

श्रीलंकामा रहेका तीनवटा चर्चहरु नेगोम्बो, बाट्टिकालोआ र कोलम्बोको कोच्चादाई जिल्लामा रहेको सेन्ट एन्थोनी चर्चमा शक्तिशाली विस्फोट गराइएको छ भने पाँचतारे होटलहरु सांग्रिला, किंग्सबरी र सिन्नामन ग्रान्ड होटलमा समेत विस्फोट गराइएको छ । कोलम्बोको अर्को चौथो होटललाई समेत लक्षित गरेर बम विस्फोट गराइएको जानकारी प्राप्त भएको छ ।

शृङ्खलाबद्ध हमला गरी ठूलो जनधनको क्षति गराउनुका साथै आम जनतामा त्रासको सिर्जना गरिएपछि श्रीलंकाभर कफ्र्यु आदेश जारी गरिएको छ । यी विस्फोटको घटनामा संलग्न भएको आशंकामा ७ जनालाई पक्राउ गरिएको श्रीलंका प्रहरीले जानकारी दिएको छ ।

यस्तै श्रीलंका सरकारले त्यहाँ चल्ने मुख्य सामाजिक सञ्जाल समेत बन्द गराएको छ । यो समाचार तयार पार्दासम्म यो हिंसात्मक विस्फोटको कसैले जिम्मेवारी लिएका छैनन् ।

श्रीलंकाका रक्षामन्त्री विजयावर्धनले यो आतंकवादी हमला भएको र ७ जनालाई गिरफ्तार गरिएको जानकारी दिएका छन् । उनले भने, ‘गुप्तचर एजेन्सीले हमलाको बारेमा पहिले पनि सूचना दिएका थिए, तर यसअघि रोकिएका थिए । हमलाको षढयन्त्र विदेशमा रचिएको हो ।’

डेमाटागोडामा भएको आठौं बम विस्फोटमा परी तीन जना प्रहरीसमेत मारिएका छन् । प्रहरीले एउटा घरमा खानतलासी लिइरहेका बेला बम बिस्फोट हुँदा प्रहरी मारिएका हुन् । बम निस्कृय पार्ने कोशिस भइरहेका बेला विस्फोट भएको थियो ।

कोलम्बोस्थित नेशनल अस्पताललले मृतकको संख्या पुष्टि गरेको छ । श्रीलंकाको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा ९ जना विदेशी नागरिक रहेको प्रारम्भिक विवरण आएको जानकारी दिइएको छ ।

आक्रमणका क्रममा कोलम्बोमा करिब ५० जनाको मृत्यु भएको कोलम्बो जनरल अस्पतालले पुष्टि गरेको छ । यस्तै बट्टिकोलामा २५ भन्दा बढी र नेनोम्बोमा ५० भन्दा बढीको मृत्यु भएको हुनसक्ने बताइएको छ ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, प्रधानमन्त्री रनिल विक्रमासिंघेसहित राजनीतिक दलका नेताहरुले सबैलाई शान्त रहन अपिल गरेका छन् । राष्ट्रपति सिरिसेनाले घटनाको जाँच भइरहेको भन्दै झुठा समाचारबाट भ्रमित नहुन आम जनतालाई अपिल गरेका छन् ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले सुरक्षाको विषयलाई लिएर आपतकालीन बैठक बोलाएका छन् । इस्टर सन्डेको प्रार्थनाका लागि इसाई धर्मावलम्बीहरु चर्चमा भेला भएका बेला हमला भएकाले ठूलो मानवीय क्षति भएको छ ।

सेन्ट एन्थोनी र अन्य चर्चमा हजारौं इसाई धर्मावलम्बीहरु इस्टरको प्रार्थनाका लागि भेला भएका थिए । एक प्रत्यक्षदर्शीले विस्फोटपछि धेरै शबहरु एकपछि अर्को गर्दै संकलन भएको बताएका छन् । एजेन्सी

You might also like
Loading...