अख्तियारद्वारा घुसको रकमसहित दुई पक्राउ


अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले शुक्रबार वीरगन्जबाट नगदसहित २ व्यक्तिलाई नियन्त्रणमा लिएको छ।




दुई दिनको अन्तरालमा नै अवैध आर्थिक गतिविधि गर्ने दुई व्यक्तिलाई ३१ हजार नगदसहित रंगेहात नियन्त्रणमा लिएको हो। अख्तियारको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा रहेको सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने यातायात व्यवस्था कार्यालयको अगाडिबाट दुई विचौलियालाई रंगेहात नियन्त्रणमा लिएको हो।

सेवाग्राहीलाई लाइसेन्स पक्का भनी रकम लिएका दुवै व्यक्ति विचौलिया रहेको अख्तियारको टोलीले जनाएको छ। पक्राउ पर्ने विचौलियाहरू भने वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रानीघाटका वर्ष ३४ को रोशन कुमार रौनियार र बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ उमजनका २८ वर्षीय सुनिल यादव रहेको टोलीका एक सदस्यले बताए। उनीहरूलाई यातायात व्यवस्था कार्यालय अगाडिको शिखर इन्स्योरेन्सको तेस्रो पक्ष बीमा कलेक्सन काउन्टरबाट पक्राउ गरिएको टोलीमा सहभागी सदस्यको भनाइ छ। पक्राउ परेका विचौलियासँग रहेको सेवाग्राहीका केही कागजात र नगद ३१ हजार पनि बरामद गरिएको अख्तियार दूरुपयोग अनुसन्धान कार्यालय हेटौँडाका सूचना अधिकारी तथा उप-सहिचव देव कुमार राईले बताए।







सम्बन्धित
Loading...