एकपटक पुग्नैपर्ने देवचुली डाँडामा राष्ट्रिय झण्डा फहराईयो

82







बिजय चालिसे
बैशाख, १५, कावासोती । नवलपुरका युवाहरु जिल्लाको पर्यटकिय क्षेत्रको प्रबर्द्धन र बिकासका लागि एकजुट भएका छन् ।
देवचुली जेसिसको आयोजनामा नवलपुरका युवाहरूको टोलिले नवलपुरकै प्रसिद्ध पर्यटकीय स्थल देवचुली डाडाको अवलोकन गरे । सन २०२० मा २० लाख पर्यटक भित्राउने सरकारको घोषणामा सघाउ पुगोस भन्ने उद्देश्यले आफुहरु पदयात्रा कार्यक्रमको आयोजना गरिएको देवचुली जेसिसका अध्यक्ष वसन्त पोखरेलले जानकारी दिनुभयो ।
झन्डै २ हजार मिटरको उचाइमा रहेको देवचुली डाँडा देशकै प्रमुख पर्यटकिय गन्तव्य स्थल बनाउन र आफ्नो गाउँठाउको पर्यटन प्रबर्द्धन गर्न पदयात्रा कार्यक्रम महत्वपूर्ण भएको अध्यक्ष पोखरेलको भनाई छ ।
त्यहाँ पुगेर देवचुली डाँडाको क्षेत्र सरसफाई गरिनुका साथै नेपालको रास्ट्रीय झण्डा फहराईएको कार्यक्रमका संयोजक एवं देवचुली जेसिसका कानुनी सल्लाहकार हरि पोखरेलले बताउनुभयो । उहाका अनुसार गण्डकी प्रदेशले पनि पर्यटन बर्ष घोषणा गरेकोले त्यसलाई पनि थप सहयोग पुग्ने र नवलपुर जिल्लामा पर्यटकहरुलाई आव्हान गर्न यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बिश्वास गरिएको छ ।
त्यस्तै जेसिसका उपाध्यक्ष ढुण्डी राज क्षत्रीले अत्यन्तै मनमोहक दृश्य अवलोकन गर्न पाईने सो डाडामा आन्तरिक तथा बाह्य पर्यटकलाई जति धेरै भित्राउन सक्यो त्यस क्षेत्रको बिकासले पनि उत्तिकै फड्को मार्ने बताउनुभयो ।
पुर्बपश्चिम राजमार्गको दलदलेबाट बोझापोखरीसम्म सवारी साधनमै पुग्न सकिने र त्यहाँबाट झन्डै २ घण्टाको पैदल यात्रामा देवचुली डाडा पुग्न सकिन्छ । जिल्लाकै अग्लो डाँडाको रुपमा परिचित सो ठाउँमा एका बिहानै लाग्ने घामको दृश्यमा पर्यटकहरू रमाउने गर्दछन ।
त्यस क्षेत्रमा रहेका मगर समुदायको सस्कृती र भेषभुसाका कारण पनि पर्यटकहरुले थप मनोरञ्जन प्राप्त गर्दछन । मगर समुदायको कौरा नृत्यले पर्यटकहरुलाई थप आकर्षित गराएको छ । सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि होमस्टे पनि संचालित छन् ।

You might also like
Loading...