नायिकाको कारण साइनोको रिलिज सर्‍यो


काठमाडौं । आगामी १० जेठमा रिलिज हुने भनिएको चलचित्र ‘साइनो’लाई नायिका मिरुना मगरले समय दिन नसक्दा यो फिल्म अब त्यो मितिमा प्रदर्शन नहुने भएको छ । निर्माण पक्षका अनुसार चलचित्रमा अभिनेत्री मिरुनाको स्वरांकन बाँकी छ । फिल्म रिलिज हुन दुई साता बाँकी हुँदा पनि अभिनेत्री मिरुना आफ्नो स्वरांकनका लागि नेपाल आएकी छैनन् । उनी केही समयदेखि बेलायतमा बस्दै आएकी छन् ।




फिल्मलाई नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेकी हुन् । अब फिल्मको रिलिज मिति उनले सारेकी छिन् । चलचित्र साइनोको प्रदर्शन मिति अब २४ साउनमा पुगेको छ । अरू कलाकारलाई मिरुनाको स्वरांकन गराउनुभन्दा उनलाई नै कुर्ने निर्णय भएपछि फिल्म रिलिजको समय सार्नुपरेको पनि निर्माण पक्षको गुनासो छ ।

यो चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राईलगायतका अन्य कलाकारको अभिनय छ ।







सम्बन्धित
Loading...