नेपाली मिडियामा फस्टाएको अन्तरवार्ताको नयाँ शैली र यसको भविष्य





रेडियो टेलिभिजनमा टक शो कार्यक्रम सुन्ने र हेर्ने श्रोता तथा दर्शकहरु मध्ये केहीले ऋषि धमलाको अन्तरवार्ता शैलीलाई वाह् भन्ने गर्दछन् । पछिल्ला समयमा धमलाको हमला शैलीका अन्तरवार्ताहरुले सञ्चार माध्यमहरु भरिएका छन् । धमलालाई पछ्याउन खोज्ने यस्ता अन्तरवार्ताहरुमा नेताहरुलाई झाँको झारेको सुन्न र हेर्न पाउँदा नेपालको बर्तमान बेथितिका कारण मनमनै मुर्मुरिएका आम सर्बसाधारणहरु, आत्मसन्तुष्टिको श्वास अवश्य लिन्छन् । धमला शैलीको अन्तरवार्ताहरुले नेपाली मिडियालाई योगदान पु¥याएको छ वा घाटा ? यस बारेमा छुट्टै बहसको बिषय बन्न सक्ला तर सभ्यता र आदर्श सिकाउनुपर्ने नेपाली मिडियामा यस्ता चरित्र हावी हुनुले नेपाली समाजलाई सही मार्गमा पक्कै डो¥याउँदैन । पछिल्लो समयमा नेपाली मिडिया प्रति बढ्दै गएको अबिश्वास , पत्रकारलाई गरिने सम्मानमा आएको गिरावट , सामाजिक सञ्जालमा देखिएका मिडियाकर्मी प्रतिको आक्रोश आदिले नेपाली सञ्चार जगतलाई यस्ता अन्तरवार्ताहरुले केही न केही ठेस पु¥याएकै छ भन्न सकिन्छ । हुन त नेपाली मिडियामा टीकाराम यात्री , दिलभुषण पाठक , भुषण दाहाल , जीवराम भण्डारी , राजेन्द्र बानिया जस्ता केही बौद्धिक र शालीन अन्तरवार्ताकारहरु पनि नभएका होइनन् । तर पछिल्लो समयमा सामाजिक सञ्जालहरुमा भाइरल हुने , युट्युव ट्रेन्डिङमा पर्ने जस्ता पपुलारिटीको लोभमा अन्तरवार्ताका नाममा झगडा गर्ने , झाँको झार्ने खालको अन्तरवार्ताहरुले ब्यापकता पाउँदा उनीहरु समेत ओझेलमा परेको यथार्थ हो । केही दिन अघि मात्र एभिन्युज टेलिभिजनका पत्रकार सुशील पाण्डेले कार्यक्रम सकस राजनीतिमा बहालवाला उपप्रधान एवम स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवसँग लिएको अन्तरवार्ता धमला शैलीको पछिल्लो सँस्करण हो ।

जिम्मेवार बनाउने हो उत्तेजित होइन



पत्रकार र मिडियाले सम्बन्धित पक्ष वा ब्यक्तिलाई जिम्मेवार बनाउने हो न कि उत्तेजित । सुशील पाण्डे कार्यक्रममा जुन मुद्रामा प्रस्तुत हुन्छन् , उनका अतिथिले सौहार्दपुर्ण बाताबरणमा उत्तर दिने मौका सायदै पाउँछन् । ब्यक्तिगत रुपमा उनी निकै दक्ष , बौद्धिक र पठित पनि होलान । तर अतिथिको अन्तर हृदयको उत्तर उत्खनन गर्न अतिथिलाई च्याप्ने , हेप्ने , पेल्ने , झाँको झार्ने , हुर्मत लिने , बोल्नै नसक्ने अवस्थामा पु¥याउने शैलीले सम्भव हुँदैन । अतिथिलाई बोल्नै नसक्ने अवस्थामा पु¥याए पछि अन्तरवार्ता , अन्तरवार्ता रहला ? परिणाम के त ? परिणाम त्यही हुन्छ जे उनको कार्यक्रममा भयो । जनता द्वारा अनुमोदित , देशको बहालवाला उप प्रधान तथा मन्त्रीलाई कार्यक्रम छाडेर हिँड्नु प¥यो । झगडै गर्न यादव पनि सक्थे होलान तर एउटा उप प्रधानमन्त्री जस्तो ब्यक्तिलाई त्यो शोभनीय हुन्थेन । कार्यक्रमबाट हिँडेर ठिकै गरे ।

हो देशमा चरम असन्तुष्टि छ । सँगठित भ्रष्टाचारको जालो फैलिँदो छ । माफियाहरु सत्ताकै सँरक्षणमा खुलेआम गतिबिधि गरिरहेका छन् । हत्या र बलात्कारका घटना दिनहुँ बढिरहेका छन् । अपराधीहरुले राजनीतिक सँरक्षणका कारण उन्मुक्ति पाइरहेका छन् । बैदेशिक ऋण बढेर प्रतिब्यक्ति ऋण चालीस हजार रुपैयाँको सेरोफेरोमा पुगेको छ । देशमा भएका उद्योग धन्दा जर्जर , जीर्ण र ठप्प हुँदा आयातको ग्राफ प्रत्येक बर्ष माथि चढ्दैछ । हरेक दिन औषत पन्ध्र सय युवा देश छाडेर मरुभुमिमा श्रम गर्न खाडी उड्छन । तथ्याँकले प्रमाणित गर्दैछ देश श्रमिक उत्पादन गर्ने थलो बन्दैछ । ठुलो आशा र भरोषा लागेको दुइ तिहाईकोे सरकार त छ तर एकोहोरो समृद्धिको सपना मात्र बेचिरहन्छ । के भएमा समृद्धि प्राप्त हुन्छ पहिल्याउन चाहिँ सक्दैन वा चाहँदैन । बैदेशिक चलखेल र हस्तक्षेपले शनै शनै नेपाल असफल राष्ट्र तर्फ उन्मुख छ । सम्झि ल्याउँदा दर्दनाक र पीडाको अवस्था छ । तर यसो भन्दैमा आफुले सक्ने , मनले जित्ने केही नेतालाई झाँको झार्दैमा यी सबैको समाधान निस्कने हो र ? यी सबै बेथिति आउनुमा कोही अमुक नेताको पनि धेरैथोरै हिस्सा होला तर अपराधीलाई बयान लिए जसरी गर्न मिडिया र मिडिया पर्सनलाई सुहाउने कुरा होइन । माथि नै भनि सकियो मिडिया आम दर्शक , श्रोता तथा पाठकको आदर्श बन्न सक्नुपर्छ । उसले सभ्यताको पाठ सिकाउन सक्नुपर्छ । यो सत्ता र शक्तिको प्रतिपक्षी त हो तर रचनात्मक प्रतिपक्षीको भुमिका खेल्न पनि जान्नुपर्छ । गैर जिम्मेवारलाई जिम्मेवार बनाउने , बाटो बिराउनेलाई सही बाटोमा ल्याउने मिडियाकर्मीसँग ल्याकत हुनुपर्छ । प्रतिशोध साँध्ने , उत्तेजित बनाउने कुरा पक्कै पनि पत्रकारीताको सिद्धान्त भित्र पर्दैन ।

जनजाति र मधेषी नेता मिडियाको तारोमा

८ जेठ २०६९ का दिन काठमाडौँ रिपोर्टर्स क्लवमा नेपाल आदिवासी जनजाति महासँघका तत्कालीन महासचिव आङकाजी शेर्पालाई पत्रकार खिला कार्कीले आङकाजी आउट भन्दै उत्तेजित बनाए । पत्रकारको कुनै जात र धर्म हुँदैन भन्ने सर्बमान्य सिद्धान्तलाई भुल्दै उनले त्यस्तो हर्कत गरेपछि रिपोर्टर्स क्लवमा तनावको स्थिति समेत उत्पन्न भएको थियो । तत्कालीन समयमा अखण्ड सुदुर पश्चिम , अखण्ड चितवन लगायतका आन्दोलनहरुलाई महत्वका साथ सकारात्मक कोणमा समाचार कभर गर्ने तर पहिचान सहितको सँघीयताको माग गर्दै भैरहेको आदिवासी जनजाति आन्दोलनको समाचार नकारात्मक कोणबाट कभर गर्ने गरेकोले मिडिया प्रति आक्रोश पोखेका आङकाजी त्यस दिन देखि मिडियाको तारो बने । अभिब्यक्ति शैली ठिक नभए पनि यथार्थ बोल्ने आङकाजीको छबि हालसम्म जातिबादी रहँदै आएको छ , नेपाली मिडियाको नजरमा । २०७३ चैत्र १ का दिन माउन्टेन टेलिभिजनका सुनिल दाहालले पनि तत्कालीन बाणिज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता रोमी गौचन थकालीलाई आफ्नो कार्यक्रम माउन्टेन फोकसमा नियतबश खसाल्ने , छबि धमिल्याउने (थकालीको भनाइमा ) खालको प्रश्न गरेका थिए । जसले गर्दा कार्यक्रम अवधिभर तनाव कायम रह्यो । उनी पनि उठेर हिँड्न खोजे पटक पटक तर कार्यक्रमको अन्तिमसम्म उनले प्रश्नकर्ताको सामना गरिरहे , प्रतिप्रश्न गरि रहे । ऋषि धमलाकै कार्यक्रम जनता जान्न चाहन्छनमा दलित समुदायका काँग्रेस नेता मीन बहादुर बिश्वकर्मा लाई पनि प्रश्नकर्ताबाट नभए पनि तत्कालीन बिपक्षी दल नेकपा एमालेका नेता केशव वडालले अपमानित शब्द प्रयोग गरेका थिए । राजपा नेपालका नेता राजेन्द्र महतोलाई पनि केही नेपाली मिडिया र पत्रकारहरुले त्यति सकारात्मक रुपमा लिँदैनन् । मिडियाबाट लखेटिने क्रममा उपेन्द्र महतो पछिल्लो पात्र हुन् । उनलाई पनि अव उप्रान्त मिडियामा, उत्तर दिन नसक्ने , सार्वजनिक पद धारण गरेर गैरजिम्मेवार बन्ने आदि कारण देखाउँदै बहिष्करणमा पार्ने स्पष्ट छ । यी दृष्टान्तहरुले के प्रष्ट पार्दछन् भने नेपाली मिडिया आदिवासी जनजाति , दलित मधेषी प्रति सकारात्मक छैनन् । नेपाली मिडियाले आदिवासी जनजातिहरुको समाचारलाई जम्मा दुई प्रतिशत मात्र स्थान दिने गरेको तथ्याँक छ । २०५५ , चैतमा नेपाल आदिवासी जनजाति महासँघले कान्तिपुर दैनिक , जनसत्ता साप्ताहिक र घटना र बिचार साप्ताहिकलाई बहिष्कार गर्ने निर्णय त्यसै गरेको थिएन । त्यसैगरी दलित तथा मधेषी समुदायको मुद्दा वा समाचार कभरेज गर्ने सन्दर्भमा पनि नेपाली सञ्चार माध्यमहरुको अवस्था उही नै छ । आवाज बिहीनहरुको आवाज बन्नुपर्नेमा मिडिया सत्ता वा सत्ताधारी समुदायको तावेदारी गर्ने तर पहुँच बिहीनहरुको आवाज उजागर नगर्ने र गरि हालेमा हुर्मत लिने शैलीले एक खालको दुरी बढाएकै हो । यादवकै केसलाई हेर्दा पनि पत्रकार सुशील पाण्डेले अतिथि यादवलाई देशको उपप्रधानमन्त्री कम र मधेषी बढी देखे भन्नेहरु धेरै छन् ।

मिडिया पर्सनका कारण मिडियामाथि नै खतरा

सञ्चार माध्यमहरु सत्ता , सत्ताधारी जाति र सम्भ्रान्त बर्गको चाप्लुसीमा लागेका , बिज्ञापनमुखी बनेका र ठुला कर्पोरेट हाउसका चँगुलमा फँसेका कारण मिडिया नै लोकतन्त्रको खतरा बनिरहेको भनेर भारत लगायत बिश्वका बिभिन्न मुलुकमा मिडिया बौद्धिकहरुले बहस चलाइरहेका छन । सञ्चार माध्यम नै सत्ताको पुजारी बन्दा सत्ताले स्वतन्त्र मिडियाको दायरा खुम्च्याउँदै लगेको र फलस्वरुप प्रजातन्त्र र लोकतन्त्र माथि नै सँकट आउन लागेको उनीहरुको तर्क छ । नेपालमा पनि त्यही दृश्य देखिँदै छ । यहाँका मिडिया सत्ता र सत्ताधारी जातिको पक्षपोषक देखिन्छन् । किनभने ८० प्रतिशत मिडिया हाउसमा लगानी र पकड दुवै सत्ताधारी जातिकै देखिन्छ । त्यसो भएपछि नेपालका सञ्चार माध्यमहरु सत्ताधारी बर्ग समुदायको स्वार्थको पक्षमा देखिनु स्वभाविक नै हो । आदिवासी जनजाति , दलित , मधेषी समुदायको मुद्दालाई सकेसम्म नेपाली मिडियाले बहसको बिषय बनाउन चाहँदैन । बनाइ हालेमा बिकृत रुपमा प्रस्तुतिकरण गर्दछ भन्ने आरोप आरोप मात्र होइन , त्यसमा एक हदसम्म सत्यता पनि छ । त्यस्तै माथि उल्लेखित समुदायका राजनेता तथा बौद्धिकहरुलाई सकेसम्म नेपाली मिडियाले स्पेश दिन चाहँदैन , दिइ हालेमा कम आँकेर प्रश्न सोध्ने , गल्ती कमजोरी मात्र उजागर गर्न खोज्ने , नकारात्मक कोणका प्रश्न मात्र सोध्ने गरेको भन्ने आरोप पनि गलत होइन । सत्ताका प्रतिनीधि भए पनि उपेन्द्र यादव मधेषी समुदायको भएकाले नै उनी नेपाली मिडियाको त्यही अघोषित नीतिबाट शिकार भएका पछिल्ला एक पात्र हुन् भन्दा कम्तीमा गलत भइदैन होला ।

बर्तमान सरकार ले मिडिया माथि अँकुश लगाउने खालको बिधेयक ल्याएको छ । गत बैखाख २७ गते सँसदमा पेश भएको मिडिया काउन्सील बिधेयकमा बिभिन्न बहानामा प्रेस स्वतन्त्रतालाई साँघुरो बनाउँदै लैजाने प्रावधानहरु छन् । त्यसमा उल्लेखित आचारसँहिता उल्लँघन भएमा पत्रकारलाई १० लाख रुपैयाँ सम्म जरिवाना तिराउन सकिने ,सार्बभौमसत्तामा आँच आउन सक्ने समाचार लेखेमा एक करोड रुपैयाँ जरिवाना र १५ बर्ष जेल सजाय हुन सक्ने उल्लेख गरिएको छ । आम जनताले मिडिया प्रति बिश्वास गर्न छोड्नु , पत्रकार तथा सञ्चारकर्मी प्रतिको सम्मानमा आँच आउनु मिडियाका लागि दुर्भाग्य त थियो नै । बिधेयक नै ल्याएर पछिल्लो समयमा मिडियामाथि सरकारबाट नै अँकुश लगाउने कार्य भै रहँदा केही पत्रकारहरुका हर्कतका कारण चुनौती थपिनु झन ठुलो दुर्भाग्य हो । केही पत्रकारहरुको अशिष्ट र अभद्र शैलीले अन्ततः मिडिया लाई नै घाटा लाग्छ भन्ने कुरामा पुर्ब प्रधानमन्त्री डा.बाबुराम भट्टराइ पनि सहमत छन् । उनले पाण्डेको शैलीलाई ब्यँग्य गर्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् , “केही मिडियाकर्मीको यस्तो अहँकारी , उद्दण्ड , अशिष्ट र असनको साँढेको जस्तो ब्यबहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने बिधेयेकको बिरोध गर्नेहरु सबैलाई अप्ठेरोमा पार्छ है । यो अति निन्दनीय र गम्भीर छ । एक बिराउने शाखा पिराउने भन्ने लोकोक्ति छ । मिडिया नेतृत्वको ध्यान पुगोस । ” त्यस्तै राज्यको चौथो अँग भनिएको नेपाली सञ्चार माध्यम उच्च जातीय अहँकारबाट ग्रसित छ भन्ने एउटा सँगीन आरोप छ । निश्चित रुपमा मिडियालाई उच्च जातिवाद अहँकार ग्रस्त बनाउने पत्रकार नै हुन् । मिडियालाई लागेको आरोप मेटाउनकै लागि भएपनि तिनमा काम गर्ने सञ्चारकर्मी बेलैमा सच्चिनु जरुरी छ । त्यसका लागि उनीहरु कम्तीमा जनजाति , दलित , मधेषी मैत्री पनि बनिदिनु पर्ने आजको टड्कारो खाँचो हो ।

भट्टराइकै कुरा मान्ने हो भने पनि एक दुई पत्रकार र मिडियाहरुको शैलीले आम सञ्चार जगत नै बदनाम हुने अवस्था बेला बेलामा आएका छन् । मिडियाकर्मीहरुको यस्तै तरिका रहिरहने हो भने , सरकार मिडिया काउन्सील बिधेयकबाट पछि हट्ने त परै जाओस , अझ यो भन्दा कडा कानुन निर्माणमा समेत अघि नबढ्ला भन्न सकिन्न । जसले गर्दा गल्ती गर्ने एक र सजाय भोग्ने हजार हुन सक्छन् । अन्ततः एक बिराउने शाखा पिराउने भन्ने लोकोक्ति चरितार्थ हुन जान्छ ।




सम्बन्धित
Loading...