रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल फाइनलमा


२३ जेठ, काठमाडौं । कप्तान क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक गोलमा पोर्चुगल नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३-१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । पोर्चुगललाई फाइनलमा पुर्‍याउन तीन गोल कप्तान क्रिष्टियानो रोनाल्डोले गरे ।

खेलको २५ औ मिनेटमा फ्रिकिकबाट रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । रोनाल्डोको गोलमा पोर्चुगलले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो । तर दोस्रो हाफमा थप दुई गोल गर्दा स्वीट्जरल्यान्डले एक गोल फर्काउन सफल भयो ।

रिचार्डो रोडि्रग्वेजले ५७ औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै स्वीट्जरल्यान्डलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । तर रोनाल्डोले अन्तिम समयमा दुई गोल गर्न सफल भए । खेलको ८८ औ मिनेटमा गोल गर्दै पोर्चुगललाई २-१ गोलको अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको ९०औं मिनेटमा अर्को गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे भने पोर्चुगललाई ३-१ गोलको जित दिलाउँदै फाइनलमा पुर्‍याए । पोर्चुगलले उपाधिका लागि अब इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ ।







सम्बन्धित
Loading...