डडेल्धुरामा विचौलियाको कारण पनि तरकारी तथा फलफूलको मुल्य आकाशियो, कृषक र उपभोक्ता मारमा


दिपकराज भट्ट
डडेल्धुरा । डडेल्धुरा जिल्लामा तरकारी तथा फलफूलको मुल्यमा एकरुपता कायम गर्न नसक्दा महङ्गी मौलाएको छ । विचौलियाको कारण पनि तरकारी तथा फलफूलको मुल्य आकाशिएको अमरगढी नगरपालिका–७ पोखराका स्थानीय पुष्पराज भट्टले गुनासो गरेका छन् । कृषि उपजहरु सस्तो मुल्यमा खरिद गर्ने र बजारमा दुइतिन गुणा बढी मुल्यमा विक्री गर्ने गरेको उनको गुनासो छ ।
डडेल्धुरा सदरमुकामका तरकारी तथा फलफूल व्यापारीहरुले उद्योग वाणिज्य संघले कायम गरेको खरिद मुल्य भन्दा पनि कम मुल्यमा कृषकबाट उपजहरु खरिद गरि शतप्रतिशत मुल्य बढाएर उपभोक्तालाइ विक्री गर्ने गरेको पाइएको हो । तर डडेल्धुरा उद्योग वाणिज्य संघले विक्रीमुल्य भने कायम गर्न सकेको छैन ।
तरकारी तथा फलफूलहरु भारतबाट आयात हुने भएकाले मुल्य निर्धाण गर्न कठिन भएको डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ । जिल्लाको भागेश्वर गाउँपालिका–४ एैडुङ्गराका कृषक जित बहादुर ओडका अनुसार ‘विचौलियाको कारण कृषि पेशामा आत्म निर्भर बन्न नसकिएको हो ।’ मेहनत धेरै लाग्ने तर प्रतिफल अर्कैले पाउने उनको गुनासो छ । सम्बन्धित पक्षको मौनताले कृषक तथा उपभोक्ताहरुले समस्या झेल्नु परेको भागेश्वर गाउँपालिका–३.का वडा सदस्य मदनराज भट्टले बताए । स्थानीय सरकारहरुले तरकारीको लागि बजारीकरण तथा मुल्य निर्धाण गर्नुपर्ने उनको भनाइ छ । किसानहरुले प्रत्यक्ष रुपमा उपभोक्ताहरु समक्ष वस्तुहरु विक्री गर्नुपर्ने उनको तर्क थियो ।




उपभोक्ताहरु गुणस्तरहिन खाद्यसामाग्रीहरु प्रयोग गर्दै

डडेल्धुराका उपभोक्ताहरु गुणस्तरहिन खाद्यसामाग्रीहरु प्रयोग गर्न बाध्य भएका छन्। जिल्ला प्रशासन र खाद्य तथा गुण नियन्त्रण कार्यालय डडेल्धुराले बजार अनुगमनमा चासो नदेखाउँदा बजारमा सडेगलेका तरकारी तथा फलफूलहरु खुलेयाम विक्री भइरहेका छन । विगत लामो समयदेखि प्रशासनले बजार अनुगमन गरेको छैन भने बझाङ्ग र डडेल्धुराका खाद्य पदार्थहरुमा गुणस्तरियता कायम गर्नको लागि डडेल्धुरामा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ५ महिना यता बजार अनुगमन गरेको छैन । खाद्य तथा गुण नियन्त्रण कार्यालयले महिनामा ३ चोटी अनुगमन गर्नुपर्ने प्रावधान छ । तर त्यस्तो हुन सकेको छैन । जसले डडेल्धुरा सदरमुकाममा सडेगलेका तथा विषादीयुक्त खाद्यपदार्थको विक्री वितरण भइरहेको पाइएको छ ।




तरकारी खेतीमा विषादी प्रयोग बढ्यो

छिटो तथा ठूलोमात्रामा कृषी उपजहरु उत्पादन गर्ने लोभले डडेल्धुराका कृषकहरुले तरकारी तथा फलफूल खेतिमा विषादी प्रयोग गर्ने प्रचलन बढेको छ । कृषकहरुले मनपरी ढङ्गले विषादीको प्रयोग गर्ने गरेका कारण उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न थालेको स्वास्थ्यकर्मीहरुको बुझाइ छ । आलु, प्याज, टमाटर, गोलभेंडा, काउली, भ्यान्टा, सिमी, काँक्रा, लौका लगायतका दैनिक उपभोग्य तरकारीबालीमा किसानले कडा खालको विषादी प्रयोग गर्दै आएका छन । स्वास्थ्यकर्मीहरुका अनुसार कृषक स्वय्म तथा उपभोक्ताहरुले दैनिक विष सेवन गरिरहेका छन । विषादीयुक्त तरकारी खाँदा मुटु, स्वासप्रश्वास, मृगौला, छालासम्बन्धी समस्या देखिने गरेको छ ।कतिपय किसानहरुले असर थाहा नपाउँदा विषादीको बढी प्रयोग गरेका छन् भने कतिपयले जानीबुझीकन पनि लोभका कारण लापरबाही गरेका कृषिज्ञान केन्द्र डडेल्धुराका प्रमुख दिल बहादुर ऐरले बताएका छन ।




सम्बन्धित
Loading...