सारेगमप फाइनल आज: दुई नेपाल बालक आयुष र प्रीतमले मार्ला त बाजी


सारेगमपको फाइनल राउण्ड आइतबार साँझ हुँदैछ । भारतीय टेलिभिजन जी टीभीको सङ्गीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ प्रतियोगिताको फाइनलमा पुगेका दुई नेपाली बालक आयुष र प्रीतमले फाइनलमा बाजी मार्ला कि नाई सबैको प्रतिक्षाको विषय बनेको छ। यि दुई बालकसँगै ६ जना बालबालिका फाइनलमा पुगेका छन् ।




उक्त प्रतियोगिताको फाइनलमा पुगेका ६ जना बालबालिकाको प्रस्तुति टेलिभिजनबाट प्रसारण गरिएको थियो भने आइतबार अन्तिम परिणाम सार्वजनिक हुँदैछ।

भारतीय टेलिभिजन जी टीभीको सङ्गीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ प्रतियोगिताको फाइनलमा पुगेका दुई नेपाली बालक आयुष र प्रीतम सानैदेखि सङ्गीतमा तीक्ष्ण भएकाले यो स्थानसम्म आइपुग्न सफल भएका उनीहरूका अभिभावकहरूले बताएका छन्।




आयुष केसी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ ठोकर्पा स्थायी घर भइ भक्तपुरको ठिमीमा अस्थायी रुपमा बस्छन् भने प्रीतम आचार्य सुनसरीको इटहरी उपमहानगरपालिका ५ का बासिन्दा हुन्।

प्रतिस्पर्धीहरूको साङ्गीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा एक साता अघि केसी र आचार्यसहित छ जना फाइनलका लागि चयन भएका हुन्। सेमिफाइनलमा नौ जना सहभागी थिए।

गत फेब्रुअरी ९ बाट शुरु भएको साङ्गीतिक प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी गराइएको छ।

उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै अहिले फाइनल राउन्डमा पुगेका हुन्।

सेमिफाइनल राउन्डमा निर्णायक शानले फाइनल राउन्डका लागि सबभन्दा पहिला प्रीतमको नाम लिएका थिए भने निर्णायक अमाल मल्लिकले आयुषको नाम अन्तिममा लिएका थिए।

फाइनलमा पुगेका प्रतियोगीहरूले शनिवार राति भारतीय समय अनुसार ९ बजे साङ्गीतिक प्रस्तुति दिएका थिए।

उनीहरूले पहिलाका राउन्डमा गाएका गीत गाएका थिए।

आयुष र प्रीतमका साथमा भारतीय बालिकाहरू अनुष्का पात्रा, सुगन्धा दाते, आस्था दास तथा भारतीय बालक महम्मद फैज प्रतिस्पर्धामा छन्।

आयुष

आयुष २०६३ साल साउन ८ गते जन्मेका हुन्।

उनले तीन बर्षको उमेरदेखि सङ्गीत सिक्दै गरेको उनका बाबु रामकृष्ण केसीले बताएका छन्।

२०७३ सालमा उनी नेपालमै आयोजना गरिएको सुरशाला जुनियर आइडलमा विजेता बनेका थिए।

आयुषका दिदीहरु पनि सङ्गीतमा दख्खल राख्ने भएकाले उनलाई सङ्गीतमा लाग्न प्रेरणा मिलेको रामकृष्णले बताए।

उनले भने, “आयुषलाई दिदीहरुले पनि सङ्गीतमा लाग्न सहयोग गरे।”

बुबा रामकृष्णका अनुसार खाना अरुले खुवाइदिनुपर्ने उमेरमा पनि आयुषलाई गीत नसुनाइ खाना खुवाउन सकिँदैन थियो।

जब उनी गीत सुन्न थाल्थे अनि खाना खान्थे।

पछि उनले साई बाबाको भजन गाउन थाले।

अहिले उनी विद्यालयमा पनि सङ्गीत सिक्छन् भने छुट्टै सङ्गीतको शिक्षकको पनि व्यवस्था गरिएको बताइएको छ।

सङ्गीतकर्मीहरू राज सिग्देल, क्षितिज कुलुङ, अमृत क्षेत्री, हेमन्त शर्मा, जुना प्रसाईं लगायतको पनि उनले सामित्यता पाए।

अहिले उनी मोर्डन बोर्डिङ स्कूल भक्तपुरमा कक्षा ७ मा पढ्दैछन्।

उनी मुम्बइबाट नेपाल फर्केपछि के गर्ने भन्ने योजना उनका सङ्गीतका गुरुहरुसँग सल्लाह गरेर तय गर्ने बुबा रामकृष्णले बताए।

उनले भने, “आयुषले अझै धेरै सिक्नु छ। त्यसैले हामी सल्लाह गर्छौं अनि उनको शिक्षा तथा सङ्गीत क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराको निर्णय लिन्छौं।”

आयुषलाई जहाँ गएर सिक्दा तथा पढ्दा राम्रो हुन्छ सोही अनुसारको निर्णय गरिने उनले बताए।

फाइनल राउन्डमा आयुषको प्रस्तुति राम्रो हुनेमा उनको विश्वास छ।

प्रीतम

प्रीतम २०६५ साल जेठ १० गते जन्मेका हुन्।

प्रीतमले आफू चार बर्षको हुँदादेखि नै गीत गाउन थालेको उनकी आमा राधिका आचार्यले बताइन्।

उनले भनिन्, “शुरुमै बाबु साई बोर्डिङमा पढ्थ्यो। त्यहीँ उसले साई भजन गाउन थाल्यो। उसको सङ्गीतको जग त्यहीँबाट बसेको हो।”

एक पटक विराटनगरमा भएको कार्यक्रममा प्रीतमले साई भजन गाउँदा गोजीभरि पैसा लिएर आएको उनले सुनाइन्।

प्रीतमको रुची नै सङ्गीतमा भएकाले सङ्गीतको अतिरिक्त कक्षाहरुको व्यवस्था गरिदिएको राधिकाले बताइन्।

२०७३ सालमा नेपालमै भएको सुरशाला जुनियर आइडलमा प्रीतम दोस्रो भएका थिए।

उनी अहिले इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ मा पढ्छन्।

उनको पढाइ तथा सङ्गीतको थप अध्ययन गर्न जहाँ भए पनि जाने अवस्थामा परिवार पुगेको प्रीतमकी आमा राधिकाको भनाइ छ।

उनले भनिन्, “सबभन्दा ठूलो कुरा नै उनको पढाइ हो अहिले। भारत नै जानुपर्छ भने पनि हामी जाने मनस्थिति बनाएका छौं।”

प्रीतमको फाइनल राउन्डको प्रस्तुति अब्बल हुनेमा उनका अभिभावक विश्वस्त छन्।

राधिकाले भनिन्, “प्रीतमको प्रस्तुति राम्रै होला तर परिणाम के हुन्छ भनेर मन पोलिरहेको छ।”

  • बीबीसीको सहयोगमा

 




सम्बन्धित
Loading...