तरकारीको विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट दर्ता


काठमाडौं । भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण अनिवार्यरुपमा गर्न आदेशको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रीट दर्ता भएको छ ।




स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले दर्ता गराएको रीटमा भारतबाट आउने र नेपालमै उत्पादन हुने तरकारी र फलफूल अनिवार्यरुपमा परीक्षण गराएर मात्रै उपभोक्तामाझ विक्री वितरण गर्नुपर्ने व्यवस्थाका लागि आदेशको माग गरिएको छ ।

विषादीयुक्त तरकारी र फलफूलले गर्भमा रहेको शिशुलाई समेत असर गर्ने भन्दै स्वास्थ्य खान पाउनु नागरिकको मौलिक हकसमेत भएकाले जाँच्ने मेसिनको अभावको बाहनामा विषादीयुक्त तरकारी बेच्न नपाइने रीट निवेदनकहरुको जिकिर छ । त्यसैले विषादीयुक्त भारतीय तरकारी नेपालमा बेच्न छुट दिने मन्त्रिपरिषदको असार १९ को निर्णय खारेज हुनुपर्ने रिट निवेदकहरुले माग गरेका छन् ।

रिटमा स्वदेशी सरकारी र फलफूलको समेत अनिवार्य परीक्षण हुनुपर्ने आदेशको माग गरिएको रिट निवेदन स्वागत नेपालले बताए । अधिवक्ता नेपालले भने, ‘मौलिक हकसँग जोडिएको विषयमा राजपत्रमा प्रकाशित भइसकेको सूचनालाई सच्याउन मिल्दैन भन्ने पनि हाम्रो माग रहेको छ ।’

अधिवक्ता नेपाल आइतबार नै सर्वोच्च अदालतमा रिट लिएर गएका थिए । तर, सर्वोच्चका सहरजिष्टारले क्याबिनेटको निर्णयकपी चाहिन्छ भन्दै पत्रिकामा छापिएको समाचारका आधारमा रिट दर्ता गर्न नमिल्ने भन्दै फिर्ता गरिदिएका थिए ।

रीटमाथिको पहिलो छलफल बुधबारका लागि तोकिएको छ ।




सम्बन्धित
Loading...