चितवनमा दुई वडाध्यक्षका लागि उपनिर्वाचन हुने


चितवन । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा चितवनको खैरहनी नगरपालिकाको दुई वडाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ ।




वडा नं ४ र ५ को वडाध्यक्ष पद रिक्त रहेकोले त्यहाँ मात्रै निर्वाचन हुनेछ । २०७४ फागुन ६ गते साँझ रत्ननगर नगरपालिका–३ शान्तिचोकमा तरकारी बोक्ने पिकअप भ्यानले ठक्कर दिँदा नगरपालिकाको जीपमा सवार वडा नं ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र वडा नं ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको मृत्यु भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जिल्लामा कुल १४ पद रिक्त रहे पनि दुई वडाध्यक्षका लागि मात्रै निर्वाचन गर्न लागिएको जानकारी दिए । १४ पद मध्ये जिल्ला समन्वय समितिमा चयन भएका वडा सदस्य ९ जनाको पद रिक्त छ भने दलित ३ पदमा उम्मेदवारी नै परेको थिएन ।


निर्वाचन हुने दुई वडाहरुको मतदाता नामावली अद्यावधिक गरेर केन्द्रमा पठाइसकिएको कार्यालयका प्रमुख ढकालले बताए । वडा नं ४ मा २७९७ र वडा नं ५ मा २१७६ मतदाता रहेका छन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडा नं ४ मा २४१५ र वडा नं ५ मा १७८५ मतदाता रहेका थिए । दुवै वडामा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । वडा नं ४ मा कांग्रेसका नरेन्द्रनाथ अधिकारीले ७३५ मत ल्याएर जित्दा तत्कालिन एमालेका जगतबहादुर रानाले ६७१ र माओवादीका दलबहादुर बस्नेतले ३८६ मत ल्याएका थिए ।

वडा नं ५ मा कांग्रेसका विश्वविजय वस्नेतले ६२७ मत ल्याएर विजयी बन्दा एमालेका जोगिराम चौधरीले ३९८ र माओवादीका लक्ष्मण सुवेदीले २७३ मत ल्याएका थिए ।




सम्बन्धित
Loading...