नवलपरासीको जिल्ला अस्पताल प्रमुख विहिन

23

पत्रपत्रिका 

नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल डेढ महिनादेखि प्रमुख विहीन रहेको समाचार आजको बुटवल टुडेमा प्रकाशित गरेको छ । बुटवल टुडेका अनुसार अस्पताल प्रमुख विहीन बन्दा अस्पताल नै विरामी हुने अवस्थामा पुगेको छ ।
प्रदेश सरकार मातहत रहेको पृथ्वीचन्द अस्पताल परासीका तत्कालिन प्रमुख मेडिकल सुपरिटेण्डेन्ट अनन्तकुमार शर्माले साउन ४ गते अनिवार्य अवकाश पाएपछि अहिले निमित्त मेसुको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ ।


निमित्त मेसुले आर्थिक कारोबार लगायतका विशेष निर्णयहरु लिन नसक्ने हुँदा अस्पतालमा समस्या थपिदै गएको कर्मचारीहरुले बताएका छन् ।
प्रदेश सरकारले पनि यसतर्फ ध्यान नदिएको र अस्पताल विकास समितिले पनि चासो लिएर काम नगर्दा अस्पताल अस्तव्यस्त बन्दै गएको कर्मचारीहरुले गुनासो गरेका छन् ।
अस्पतालको फार्मेसीमा औषधि सकिएको छ । त्यस्तै विद्युत लो भोल्टेजका कारण डिजिटल एक्सरे, भिडियो एक्सरे र सफ्टवेयर समेत सञ्चालनमा नआउँदा सेवाग्राहीहरु मारमा परेका छन् ।
अस्पताल आएका विरामीहरुले अस्पतालको फार्मेसीमा निशुल्क पाइने औषधि पनि बाहिर किन्न बाध्य हुनु परेको छ ।

You might also like
Loading...