विकासमा रुपान्तरित हुन नसकेको नेपाली द्वन्द



वास्तवमा द्वन्द समाजमा सर्वव्यापी छ। प्रकट, अप्रकट, लुप्त, अलुप्त, असन्तुष्टि, झगडा, मुठभेड, शासक, हिंसा, आन्तरिक, वाह्य, वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय, भाषा, धर्म आदि जस्ता विभिन्न स्वरुप र अवस्थामा द्वन्द विद्यमान रहेको हुन्छ। एक निश्चित अवस्था पछि द्वन्दले करिब हिंसात्मक रुप लिन पुग्छ। संसारका प्रायः मुलुकहरु यो अवस्थाबाट गुज्रिएका विगत हुन्। द्वन्द र हिंसाले शिथिल बनेका ति मुलुकहरु फेरि तंग्रिदै आर्थिक, सामाजिक हिसाबले शक्तिशाली बनेका विगत हुन् । संसारका शक्तिशाली मुलुकहरु विगतमा कुनै न कुनै रुपमा आन्तरिक द्वन्द वा हिंसामा थिए। त्यो ‘संघर्ष’, ‘आन्दोलन’, ‘हिंसा’ वा द्वन्द पश्चिात ति मुलुकहरु सम्पन्नता र शक्तिशाली देशको रुपमा रुपान्तरित हुन पुगे। अमेरिका, जापान लगायतका शक्तिशाली मुलुकहरु द्वन्दमा फसें र विकासको चरणमा प्रवेश गरे। नजिकै भारत र चिन पनि हाम्रै राणाशासनको हाराहारीमा नराम्ररी द्वन्दमा शिथिल हुँदै तंग्रिएका देश हुन् । आज ति दुवै देश उदयीमान शक्तिको रुपमा एकध्रुवीय विश्वलाई चुनौती दिईरहेछन् ।
द्वन्दवादीहरुको मान्यतामा द्वन्दले विनास मात्र होइन, विकास पनि निम्त्याउँछ। अझै माक्र्सवादीहरुको आँखामा द्वन्द परिवर्तनको कारक पनि हो। संसारका दासयुगीन शासन वर्गीय संघर्षले खत्तम भए भने सामान्तवादी शासन र व्यवस्था पनि संघर्षले नै ढले। आजका तानाशाह पनि संघर्षले नै ढल्छन्। आखिर जे होस् निश्चित इतिहासका हरेक देशका कालखण्ड द्वन्द वा संघर्षबाट नै मोड लिएका छन् । द्वन्द संघर्ष वा हिंसा आफैमा अप्रिय भएपनि यो चरणलाई गुजारेर मात्र देशहरु अघि बढे। कुनै विकसित बने कुनै थप धरासायी बन्दै गए। मुल कुरा के उब्जन्छ भने किन द्वन्दपछि कतिपय राष्ट्रहरु तीव्र आर्थिक वृद्धि, आत्मनिर्भर अर्थतन्त्र, स्थिर शासनको बाटो पहिल्याउन सफल छन् भने किन कतिपय राष्ट्रहरु भीषण युद्ध र द्वन्द पश्चात पनि भयावह आर्थिक, राजनीतिक र सामाजिक संकटबाट पार पाउन सकिरहेका छैनन ? यो गम्भीर प्रश्न हो ।
कुनै पनि देश सम्पन्नतामा प्रवेश गर्न सबैभन्दा पहिला स्थिर र न्यायपूर्ण शासन हुनु अनिवार्य हुन्छ। सामाजिक, आर्थिक र राजनीतिक अधिकारको आँखामा न्यायपूर्ण शासन होला वा नहोला करिब सम्पन्न देशहरुमा स्थिर शासन छ। स्थिर शासनले मात्र स्वावलम्वी अर्थतन्त्र निर्माण गर्न सक्छ। यदि शासनले सही आर्थिक नीति, उद्योग व्यवसाय, पर्यटनको आत्मनिर्भर नीति बनाएमा मात्र त्यो देशको आर्थिक उन्नति वा औद्योगिकरण हुन सक्छ। जसले पूजी निर्माण वा अन्य विकासका पक्षहरु वा पूर्वाधारको विकास गर्दै लैजान्छ। तसर्थ आर्थिक र सामाजिक विकास सही राजनीतिक व्यवस्था वा पद्दतिको विकास विना कल्पना त हुन सक्छ व्यवहारमा लागु हुन सक्दैन। किन कि लगानी, व्यापार, वाणिज्य र अर्थनीति राजीतिक पद्दति र अवस्थामा भर पर्दछन् । संसामा आज तीव्र आर्थिक वृद्धिमा अघि बढिरहेको चीन र भारतले विगतमा द्वन्दको महंगो मूल्य चुकाएर पनि पहिले शासन र व्यवस्थाको विधि तय गर्यो। त्यसपछि उत्पादनमुखी आद्योगिक राजनीतिमा विश्वव्यापरको खुलापनाबाट बन्चित राख्दै अघि बढ्यो। सवल अर्थतन्त्रको निर्माण पश्चात मात्र जब विश्वप्रतिप्रर्धामा आफूलाई सवल पार्न सफल भयो तब मात्र खुला अर्थतन्त्रमा (विश्व बजारको) नाप्दै जोख्दै आफूलाई समाहित गर्दै लग्यो। तसर्थ यि राष्ट्र आज आर्थिक, सामाजिक, औद्योगिक पूँजी प्रविधि हरेक हिसाबमा तीब्रतम रुपमा रुपान्तरित हुन पुगे।
नेपाली जनताले राणाशासनको अन्त्यको देशकमै चिन र भारत दुवै राष्ट्र स्वाधिन भएका हुन्। तत्कालिन अवस्थामा ति राष्ट्रहरुको अवस्था हाम्रो भन्दा धेरै दयनीय थियो। वाह्यमुलकको पराधिन भित्र नभएको हाम्रो मुलक फेरि पनि विश्वकै गरिब श्रेणीमा आज पनि किन ? बौद्धिक विश्लेषक र तर्कवितर्कको कुनै ठूलो बहस विना हाम्रो अघि प्रश्नहरु आउने गर्दछन् – हामीले उत्पादनमुख अर्थतन्त्रको सिर्जना गर्न सकेनौ तसर्थ हामी गरिब रह्यौं। फेरि प्रश्न उठ्छ किन सकेनौं ? उत्तर हुन्छ त्यो नीति कायम वा लागू गर्नृ सत्ता वा शासक हामीसँग भएन। फेरि प्रश्न जन्मन्छ किन ? जवाफ दिन सक्छौं । राणाशासनको परिवर्तन पश्चात यहाँसम्म आइपुग्दा पनि हामीले विकासको लागि प्रतिवद्ध र वाह्य खुला प्रतिस्पर्धाबाट, खुला अर्थतन्त्रबाट जोगाउँदै आत्मनिर्भर अर्थतन्त्र पूजी र प्रवृधि विकास निर्माण गर्ने दह्रो राष्ट्रवादी शासकको अभाव रह्यो। आफ्नो द्वन्द आत्मबलमा चल्ने शासनको साथ कमजोर शासनले देशको अर्थविकास भन्दा बाह्य पूजीलाई खेल्न दिने परिस्थिति सिर्जना भयो। नेपाल विश्व उत्पादकहरुको बजार बन्न पुग्यो। यो देशको शासनले देशको अर्थनीति निर्माण गर्ने भन्दा नेपालको बजार क्षेत्रको सम्भावनाले छिमेकी मुलुकहरुले नाफाघाटाको व्यापारमा नेपालकै राजनीतिलाई अस्थिर बनाइदिए। ता कि भोलि पनि संगठित रुपमा राज्य आत्मनिर्भर अर्थतन्त्रमा उभियोस र आफ्नो बजार र आम्दानी सधैका लागि सुरक्षित होस्। त्यही विश्वबजारको तानातानमा हाम्रो राजनीति समेत कुहिरोको काग बनिरहेको छ। इतिहासमा ठूलाठूला बलिदानी पूर्ण आन्दोलनले समेत देशको राजनीतिक व्यवस्थामा नाम र रंगहरु फेरिए पनि आर्थिक सामाजिक हिसाबले नेपाल विपन्न राष्ट्रहरुकै श्रेणीमा छ।
द्वन्दवादी आँखाबाट हेर्यौं भने यो समग्र रुल्मलाइको हाम्रो अवस्था किन ? सात सालदेखि हालसम्म आइपुग्दा ठूलाठूला राजनीतिक उथलपुथल भएपनि ति द्वन्द भित्र लुकेका अवसरहरुलाई हामी पहिचान गर्न सकेनौं। वा द्वन्दले निम्त्याएका अवसरहरुलाई हामीले सिर्जनात्मक रुपमा प्रयोग गर्न जानेनौं। तसर्थ जनताको बलिदानीपूर्ण सात सालको उपलब्धीलाई दरबारिया शक्तिको शिकार बनायौं। र तीस बर्ष पञ्चायती शासक व्यवस्थाको बन्दी बन्यौं। जनताले अभुतपूर्व बलिदानीबाट प्राप्त गरेको उपलब्धीलाई फेरि हामीले ०४६ सालको सम्झौतामा सन्तुष्ट रह्यौं। व्यक्तिले होइन विधिले भोलि आफैलाई बन्धक बनाउन सक्छ भन्ने हेक्का विर्सेर ०४६ को संविधान घोषणा गर्यौं। त्यही संविधानको धाराको हुलिया स्पष्ट राजनीतिक पद्दतिको खाका दिंदै आफैले निर्माण गरेको संविधानमार्फत् दरबारले दललाई कोपर्न पुग्यो। बल्ला हेक्का खाएको दालले रिसको झोकमा राजा, राजसंस्था विरुद्ध आवाज निकाले। राजसंस्था विरुद्ध लडिरहेको माओवादी र दलको राजसंस्था प्रतिको धारणा मिलेपछि मात्र राजसंस्थाको अन्त्य हुन पुग्यो।
००७ साल, ०३६ साल, ०४७ साल र जनयुद्ध र ०६२।०६३ को यत्रो जनआन्दोलन पश्चात पनि हामी किन परिवर्तित अवस्थामा छैनौं। एउटै मात्र उत्तर हुन्छ – हामीले पुरानो भत्कायौं, नयाँ सिर्जना गरेका छैनौं। नयाँ सिर्जनाको खाका संविधानलाई माने पनि यो खाकाले बहुमत र अल्पमतको गणितमा रमाएर मात्र समाजको भावत्व समेटिन सक्दैन। र निर्मित संविधानको शासन विधिले पनि स्थिरता कायम हुन संकेत देखिदैन। यत्रा राजनीतिक त्याग, क्षति र बलिदानीका बाबजुत पनि आज हामी अधिकतम् सर्वमान्य र सर्वस्वीकार्य संविधान, शासन पद्दति विधि, स्थायी सरकार हुन नसक्नु नै हाम्रो समग्र आर्थिक र सामाजिक विकास हुन नसक्नु हो। आजको हाम्रो अर्थतन्त्र उत्पादन औद्योगिक नीति र आत्मनिर्भर अर्थतन्त्र हाम्रो शासन व्यवस्थाले सरकार र सत्ताले तय र निर्माण गर्ने परिस्थिति आजको अवस्थामा पनि देख्न पाइदैन। बरु अन्तराष्ट्रिय पूँजीको÷उत्पादनको खपत बजार रहेको हाम्रो देशको शासन पद्दति र राज्यव्यवस्था नै बाहिरियाको स्वार्थ मुताविक बतासिइरहनु र राष्ट्रिय अर्थनीतिको निर्माणमा प्रतिबद्ध नहुनु नै हाम्रो अविकासको मुल कारण हो। यही कमजोर र राजनीतिक अस्थिर परिस्थितिले आज हाम्रा उद्योगधन्दा, कलकारखाना र पूजीहरु अरु संकटपूर्ण अवस्थामा छन्। हाम्रा मौलिक उत्पादनका आधार धरासायी बन्दैछन्। बैदेशिक पूजी र प्रविधिमा हामी जवरजस्त आश्रित छौं। उपभोक्ता भन्दा बढी केही होइन जबसम्म हामी उत्पादक बन्न सक्दैनौं हाम्रो अवस्था यही नै रहन्छ। शिक्षा, स्वास्थ्य लगायतका हरेक सन्दर्भमा पनि आज हाम्रो अर्थतन्त्र र माटो सुहाउँदो होइन कसैको बनिबनाउ फ्रेम भित्र कैद छ।
द्वन्द वा ठूलो क्षति पश्चात पनि हामीले सम्भावनाहरु प्रति गम्भीर, प्रतिबद्ध हुनुभन्दा त्यसका उपलब्धीप्रति वेखबर, ध्यान नदिनु र बफादार नहुनु नै आजको अल्पविकासको नेपालको अवस्था हो । तसर्थ विकसित देशको स्वाभिमान खातिर आज नेपाललाई दौरा सुरवाल र टोपीमा ठाटिएको शासक होइन द्वन्द पश्चात पनि आजको अस्थित र देखावटी स्वरुपबाट मुक्त पार्दै स्थिर र न्यायिक शासन विधिको तय गर्दै स्वावलम्बन, आत्मनिर्भर अर्थतन्त्र र उद्योग प्रविधिको विकास गर्दै द्वन्दपछि विकासमा रुपान्तरण गर्ने मजबुद शासक चाहिएको छ।
लेखक दाउन्ने साप्ताहिकका संस्थापक सम्पादक एवम् समाजशास्त्री हुन्।







सम्बन्धित
Loading...