नवलपुरमा युरिया मलको चरम अभाव

18

कमला राना
कावासोती ।
युरिया मलको अभाव हुदा नवलपुरका धान खेती गर्ने कृषकहरुले मंहगो मूल्यमा डिएपी मल खरिद गरी प्रयोग गर्न बाध्य भएका छन् ।
युरिया मलमा पाइने नाइट्रोजन र फोस्फोरसको मात्रा डिएपी मलमा पनि पाइने भएकोले युरिया मलको विकल्पको रुपमा केही महगो मूल्य तिरेर भएपनि कृषकहरुले डिएपी मल प्रयोग गरेका छन्।
डिएपी मलको बजार मूल्यप्रति केजी ४३ रुपैया ९० पैसा रहेको छ भने युरिया मलको मुल्य थोकमा रु १४ रुपैया ९० पैसा र खुद्रा मुल्य प्रति किलो १८ रुपैया रहेको छ ।
मध्यविन्दु नगरपालिका वडा नम्बर ११ का कृषक बाबुलाल चौधरीले धान खेतीमा छर्ने युरिया मल नपाउदा मंहगोमा डिएपी मल प्रयोग गर्नु परेको बताए। समयमा मल छर्न नपाउदा धानको बोटमा राम्रो फल नबस्ने भएकोले महंगो डिएपी मल छर्नुपर्ने बाध्यता भएको चौधरीले बताए।

त्यस्तै अर्का कृषक नाथुराम चौधरीले जसो तसो गरी धान रोपियो गोडियो अहिले मलको पनि अभाव आर्थिकको अभाव भएकाले आफूले महगो मूल्यमा डिएपी मल किनेर छर्न नसकेको दुखेसो पोखे।
धानमा राम्रो फल नलागे वर्ष भरीको परीश्रम खेर जाने बताउदै कृषक नाथुराम चौधरीले “हाम्रो दुख्ख कस्ले सुन्ने” आफनो धान खेत तिर नजर लगाउदै गुनासो गरे ।
हरेक दिन सहकारी र अन्य मल पाइने स्थानहरुमा मल सोध्ने गरेको बताउदै भदौ महीना वित्न लाग्दा समेत आफुहरुले युरीया मल नपाएकोे चौधरीले बताए ।
नाथुराम चौधरी जस्तै नवलपुरका धेरै कृषकहरु श्रावण महिनाको दोस्रो साता देखि युरिया मलको पर्खाइमा रहेका छन् । धान गोडेपछि छर्नुपर्ने युरिया मल धान फुल खेल्ने बेला सम्म नपाउदा कृषकहरु चिन्तित बनेका छन् । नवलपुरका अधिकांश कृषकहरु धान खेतिमा निर्भर रहेका छन् भने यहा हिउदे र वर्षे गरी दुइ खेति धान लगाइने गरिन्छ ।
यता युरिया मल नवलपुरमा मात्र नभइ देशैभर अभाव रहेको कृषी सामग्री कम्पनी नवलपुरका शाखा प्रवन्धक रेवती लम्सालले बताए ।
कृषकहरुको समस्यालाइ मध्यनजर गर्दै आफुहरुले सम्बन्धित निकायमा पटक पटक ताकेता गर्ने गरेको बताउदै प्रमुख लम्सालले यही भाद्र अन्तिम साता सम्ममा कृषकहरुले मल पाउने जानकारी गराए । कावासोती तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष लेखनाथ बस्यालले मल अभावका कारण किसानहरुलाई मल विक्री गर्न नपाएको बताए। बस्यालले नेपालभर अभाव रहेको जानकारी दिए।

You might also like
Loading...