प्रदेशसभा सदस्य शाहविरुद्ध बहुविवाह मुद्दा

11

जनकपुरधाम । प्रदेश २ का प्रदेशसभा सदस्य दिलिपकुमार साहमाथि जिल्ला अदालत धनुषामा बहुविवाहको मुद्दा परेको छ । श्रीमती संगीतादेवी यादवले सांसद साहमाथि बहुविवाहको मुद्दा दिएपछि प्रदेशसभा सदस्यको पद नै जोखिममा परेको छ ।

जिल्ला अदालत धनुषाले भदौ ४ गते प्रदेश नम्बर २ को संसद सचिवालयलाई फैसलाको जानकारी पत्र पठाएपछि सांसद साहको पद धरापमा पर्ने देखिएको हो । उनी सिराहा क्षेत्र नम्बर ४ (क) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

सांसद साहको मन्त्री मातृकाप्रसाद यादवको छोरी संगीतादेवी यादवसँग ०५७ सालमा अन्तरजातीय विवाह भएको थियो । उनलाई धनुषा जिल्ला अदालत र उच्च अदालत जनकपुरले बहुविवाह गरेको कसूर ठहर गर्दै १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना समेत ठहर गरिसकेको छ ।

घरमा पत्नी हुँदाहुँदै सम्बन्ध विच्छेद नगरि दोस्रो विवाह गरेको भन्दै उनलाई जिल्ला अदालत धनुषाका तत्कालीन जिल्ला न्यायाधीश कृष्ण प्रसाद पौडेलको इजलासले २०७२ जेठ १३ गते दोषी ठहर गर्दै फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलालाई चुनौती दिँदैै साह उच्च अदालत पुगे । तर यतिबेला उच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विनोद मोहन आचार्य र रमेश ढकालको संयुक्त इजलाशले २०७६ असार २५ गते जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो ।

‘पहिलो श्रीमती संगीतादेवी यादव र उनका २ सन्तान हुँदा हुँदै सम्बन्ध विच्छेद नगरि जानकी कुमारी साहसँग अर्को बिहे गरेका कारण साहले बहुविवाह कसूर गरेको जिल्ला अदालत र उच्च अदालतले ठहर गरेको हो ।

जिल्ला अदालतले फैसला गर्दा साहकी दोस्रो पत्नी जानकी कुमारी साहलाई भने सफाई दिएको छ । तर जानकीले आफू दिलिपको पत्नी नरहेको दावी गर्दै आइरहेकी छन् ।

न्याय प्रशासन ऐन २०७३ को दफा ९ (ख) बमोजिम उच्च अदालतमा १० वर्ष वा सो भन्दा बढी कैद सजाय हुने गरी फैसला भएको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने प्रावधान छ ।

३ वर्षभन्दा बढी कैद वा ५ लाख रुपैयाँ वा २५ लाख रुपैयाँ भन्दा बढी बिगोमा आंशिक ठहर गरे मात्र सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने प्रावधान रहेको छ ।

You might also like
Loading...