किशोरीहरुलाई जीवन उपयोगी तालिम





नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु–३ मा रहेको फुलबारी सामुदायिक पुस्तकालयले किशोरीहरुलाई सूचना प्रविधिमा सक्षम बनाउन परियोजना सुरू गरेको छ ।
रिड नेपाल र आइरेक्सको सहयोगमा किशोरीहरुलाई सूचना प्रविधिमार्फत नेतृत्व विकास र जिवनउपयोगी शिप प्रदान गर्ने उद्देश्यले परियोजना सुरू गरिएको हो ।
पुस्तकालय नजिकका ३ वटा माध्यमिक विद्यालयबाट छनोट भएका ५० जना १४ वर्षदेखि २२ वर्षसम्मका किशोरीहरुलाई तालिम प्रदान गरिनेछ ।
पहिलो चार महिनामा किशोरीहरुलाई कम्प्युटर तालिमसंगै बोल्न सक्ने कलाको विकास ,भविष्य निर्माणका लागि लक्ष्य निर्माण, नेतृत्व विकास र जीवन उपयोगी सीप सम्बन्धि तालिम प्रदान गरिने रीड नेपालका क्षेत्रीय कार्यक्रम संयोजक राजु चापागाईंले जानकारी दिए ।
पहिलो चरण अन्तरगत किशोरीहरुलाई १२ देखि १७ हप्तासम्म प्रबिधिका बिषयमा २ घण्टा अभिमुखीकरण र २ घण्टा प्रयोगात्मक कक्षा मार्फत नेतृत्व तथा व्यक्तिगत विकाससंगै जीवनउपयोगी शिप प्रदान गरिनेछ ।
यसैगरी दोस्रो चरणमा ५० जना मध्येबाट उत्कृष्ट २४ जनालाई छनौट गरि १२ देखि १७ हप्तासम्म फेरी तालिममा सहभागि गराई उनीहरुलाई समाजमा सामुहिक कार्यमा समेत संलग्न गराईने छ र तेश्रो चरणमा २४ जनामध्येबाट पनि फेरी दुई वा तीनजना उत्कृष्ट किशोरीहरुलाई छनौट गरि काठमाण्डौमा एक हप्ताको विशेष प्रशिक्षण प्रदान गरिने चापागाईले बताए ।
मध्यबिन्दु नगरपालिकाका उप प्रमुख ओमकुमारी महतोले कार्यक्रमको उद्घाटन गर्दै किशोरी अवस्थामा धेरै जिज्ञासा हुने र बिग्रने समय पनि भएकोले यस परियोजनाले सही सूचना सहित सिपमुलक क्षमता बढाउने हुँदा किशोरीको लागी उपलब्धीमुलक हुने बताए ।
कार्यक्रममा मध्यबिन्दु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमरबहादुर महतो, अग्यौली सामुदायिक पुस्तकालयका सचिव बद्री नेपाल लगायतले बोल्दै यस्तो कार्यक्रम किशोरीहरुको लागि उपलब्धिमुलक हुने विश्वाससहित सफलताको शुभकामना दिए ।
कार्यक्रम फुलबारी सामुदायिक श्रोत पुस्तकालयका अध्यक्ष जुगतराम थनेतको अध्यक्षता भएको कार्यक्रममास्वागत मन्तव्य मानबहादुर महत्तो र संचालन काशिराम पाठकले गरेका थिए ।




सम्बन्धित
Loading...