ग्यासको सट्टा विद्युतको प्रयोग बढाउने कुलमानको योजना


विद्युतको उत्पादन बढ्दै गएको समयमा विद्युत खपत कम भएपछि नेपाल विद्युत प्राधिकरणले नयाँ योजना अघिसारेको छ।




प्राधिकरणले ग्यासलाई बिजुलीले रिप्लेस गर्ने योजना अघि बढाएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। प्राधिकरणले उपभोक्ताले चाहिए जति विद्युत् प्रयोग गर्न पाउनेगरी हरेक वितरण ट्रान्सफर्ममा विद्युतको लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गर्ने योजना अगाडि सारेको हो। वितरण लाइन प्रणालीको संरचनागत सुधार पनि समानान्तर रूपमा अगाडि बढाएको जनाएको छ।

सम्पूर्ण ट्रान्सफर्मरहरूमा विद्युतको लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी ट्रान्सफर्मर थप्न र स्तरोन्नति गरिएको घिसिङले निर्देशन दिइसकेको जनाएका छन्।  ‘विद्युत खपत बढाउन घरघरमा विद्युतीय चुलो (इन्डक्सन) को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टसेनहरू खोल्नेगरी अगाडि बढिरहेका छौं, इन्डक्सन चुलो र चार्जिङ स्टेसनको लोडलाई धान्ने गरी संरचना बनाउनुपर्छ, त्यसका लागि आफ्नो क्षेत्रमा रहेका ट्रान्सफर्मरको लोड ५० प्रतिशतभन्दा तल रहने गरी ट्रान्सफर्मरको सुदृढीकरण गरिनेछ’, घिसिङले भने। प्राधिकरणले उपभोक्ताकोमा विद्युत् पुर्‍याउन ५०, १००, २००, ३०० र ५०० केभीएका वितरण ट्रान्सफर्मर प्रयोग गर्दै आएको  र तीन वर्षमा नयां निर्माण तथा स्तरोन्नति गरी ७६५ एमभीए क्षमताका वितरण सव्स्टेसनहरू प्रणालीमा थप गरेको जनाएको छ।




सरकारले विद्युतको पहुँच र  खपत बढाउन तीन वर्षभित्रमा मुलकभर शतप्रतिशत विद्युतीकरण गर्ने घोषणा गरेको छ। प्राधिकरणले यसलाई कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण भएको जिल्लाको रूपमा घोषणा गर्ने गरी काम गरिरहेको छ।

उत्पादित विद्युत खेर जान नदिन खपत बढाउनु नै अहिलेको मुख्य चुनौती र समस्या रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यसको समाधानका लागि माग बढाउन बढीभन्दा बढी मिटर वितरण गर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन र उद्योगलाई विद्यत् आपूर्ति दिन सहजीकरण गर्नुपर्ने बताए।




सम्बन्धित
Loading...