नारायणीमा चल्ने मिनी पानीजहाज भयो तयार

174

भरतपुर । नेपाल–भारत सीमा हुँदै कलकत्ता पुग्ने पानीजहाजको टुंगो नभए पनि चितवनका युवाले नारायणी नदीमा ‘क्रुज सिप’ (मिनी पानीजहाज) चलाउन देखेको सपना भने चाँडै पूरा हुने भएको छ । भिजिट नेपाल २०२० देखि नारायणी नदीमा पानी जहाज चल्ने भएको हो ।

राइनो इन्टरटेन्मेन्टले चितवनको भरतपुर महानगरपालिका १६ स्थित काभ्रेघाटमा ‘पोर्ट’ राखेर पर्यटकीय प्रयोजनका लागि क्रुज सिप चलाउन लागेको हो । १५ करोडको लगानीमा निर्माणाधीन क्रुज सिपको काम सकिने क्रममा छ । लामो समय लाग्ने ‘पोर्ट’ बनिसकेको छ । अब क्रुज सिपमा मेसिन रंग लगाउने, सिट हाल्ने काममात्र बाँकी रहेको राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

जनवरी १ तारिखका दिन राष्ट्रपति र प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी छ । ‘जनवरी पहिलो तारिखका दिन औपचारिक सेवा आरम्भ गर्ने तयारी गरेका छौँ, एक हप्तापछि परीक्षण सञ्चालन गरिनेछ’, कम्पनीका प्रबन्ध निर्देशक कँडेलले भने । कम्पनीले गोलाघाटदेखि देवघाटसम्म ३८ किलोमिटर दुरीमा जहाज सञ्चालन गर्ने अनुमति पाएको छ ।

यसरी बन्यो योजना

गत चैतबाट निर्माण थालिएको क्रुज सिपको योजना भने कँडेलको दिमागमा दुई वर्षअघि नै छिरेको थियो । ‘६ तलाको क्रुज चढेर सन् २०१७ मा स्विडेनबाट फिनल्यान्ड जाँदै थिएँ’ कँडेलले भने, ‘यात्रामा सँगै रहनुभएका मामासँग नारायणीमा पनि क्रुज चलाउन सकिन्छ कि ? भनेर सोधेँ । उहाँले सम्भव छ भनेपछि धेरै दिनसम्म त्यही कुरा सोचेर बसेँ ।’ अध्ययनका लागि युरोप पुगेका कँडेल त्यसपछि नेपाल फर्किए ।

नेपाल फर्किएर उनको ध्यान क्रुजतिरै मोडियो । तीन महिना क्रुजकै विषयमा अध्ययन गरे । अन्ततः उनी क्रुज सञ्चालन स्वीकृतिका लागि पर्यटन विभाग पुगे । ‘त्यतिबेलासम्म नेपालमा पानीजहाजको कार्यालयसमेत खुलिसकेको थिएन । क्रुज सिप साहसिक पर्यटनमा पर्ने भएकाले विभागबाट स्वीकृती लिएर काम अघि बढायौँ’ उनले भने ।

पर्यटन विभागमा दर्ता भएपछि सिंगापुर र भारतबाट प्राविधिक ल्याएर कम्पनीले दासढुंगादेखि गोलाघाटसम्म नारायणीको गहिराइ र पानीको बेगको अध्ययन गरायो । ‘अध्ययनबाट नारायणीको गहिराइ डेढ मिटरदेखि १५ मिटरसम्म भेटियो । नारायणीको गहिराइ र बेगमा हाम्रो डिजाइनको क्रुज सिप चलाउन सकिने भएपछि बनाउन थाल्यौँ’ कँडेलले भने ।

क्रुज निर्माणको जिम्मा भारतको केरलाको कम्पनीलाई दिइएको छ । प्रविधि भने नर्वेजियन प्रयोग गरिएको छ । क्रुज सिपका लागिमात्र १५ करोड लगानी गरेको सो कम्पनीले परियोजनाको कुल लागत भने ३५ करोड हुने जनाएको छ ।

यस्तो छ डिजाइन

क्रुज सिप सय फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइको रहनेछ । यसको तौल ६० टनको हुनेछ भने यसले तीन सयदेखि चार सय टन बोक्न सक्नेछ । क्रुज सिप ४० किलोमिटर प्रतिघन्टाले (२० नट) पानीको दिशा र पानीको विपरीत दिशामा चल्न सक्छ ।
साढे तीन तलाको हुने क्रुजमा बीस जना कर्मचारीसहित २२० जना यात्रु सयर गर्न सक्ने छन् । क्रुजमा डबल इन्जिन हुने छन् । पहिलो तलामा इन्जिन रहन्छ । दोस्रो तलामा एसीसहितको हल हुनेछ । जसमा चालक दलका तीन सदस्यसहित करिब ९० जना यात्रु अट्ने छन् ।

यस्तै तेस्रो तलमा ११० जना यात्रु बस्न मिल्ने हल हुन्छ । माथिल्लो तलामा एउटा सानो खुला ठाउँ हुनेछ । जसमा १० देखि १५ जनाले वरपरको दृश्य हेर्न सक्छन् । त्यहाँ भ्यू प्वाइन्ट र मिनी बार पनि हुनेछ । क्रुज सिपमा वेटर, सेक्युरिटी गार्ड र रेस्क्यु पर्सनसमेत हुनेछन् ।

यस्ता छन् सुविधा

‘क्रुजमा तीन देखि चार घन्टा बिताउन मिल्ने प्याकेज ल्याउछौँ’ कँडेल भन्छन्, ‘थारु कल्चर शोदेखि डिनरको सुविधा क्रुजभित्रै हुन्छ ।’ यसबाट ज्ञानेश्वर सामुदायिक वनको हरियालीसँगै मौलाकालिका मन्दिर देख्न सकिन्छ ।

तीन सिफ्ट चल्ने, ब्रेक फास्टदेखि डिनरसम्म कम्पनीले तीनवटा सिफ्टमा जहाज सञ्चालनको योजना बनाएको छ । पहिले सिफ्टमा ब्रेक फास्टसहितको प्याकेज हुनेछ । दोश्रो सिफ्टमा लन्च र साँझ डिनरसहितको प्याकेज तयार भैरहेका छन् ।

हिउँद र वर्षामा छुट्टाछुट्टै हुनेछ । वर्षामा पानीको बहाव बढी हुने भएकाले नारायणीको पुलबाट क्रुज छिर्न सक्दैन । त्यसैले यो बेलामा क्रुज काभ्रेघाटदेखि गोलाघाटसम्म जानेछ । गोलाघाट नारायणी र राप्तीको संगमस्थल हो ।

कँडेलले यो परियोजनालाई आफ्नो ‘मुटुको परियोजना’को रुपमा लिएका छन् । उनी भन्छन्, ‘युवालाई प्रोत्साहन गर्न सबै कुरा छोडेर जल यातायातमा लागिपरेको छु । प्रोजेक्ट सफल भए जल यातायातको क्षेत्रमा कोशेढुंगा सावित हुन्छ ।’ परियोजना सफल भए रूटलाई विस्तार गरेर भारतको त्रिवेणीघाटसम्म पु¥याउने उनले सुनाए । जहाँबाट हजारौँ भारतीय पर्यटक नेपाल भित्र्याउन सक्ने उनको दाबी छ ।

  • रामशरण गैरे / चितवन पोष्ट

You might also like
Loading...