बाबुको बूढ्यौलीसँग जवानी साट्ने छोरा (पौराणिक कथा)

168

  • सदानन्द अभागी

अगेनाको अगाडि घिउ राख्यो भने पग्लिन्छ भने जस्तै मानव जाति जतिनै विद्वान होस् ऊ भोग विलासबाट टाढा हुन सक्दैन । काम र वासनामा ग्रस्त मानिसहरू यतिसम्म लम्पट हुन्छन् कि तिनीहरूको कामनालाई पुरा गर्न न त धन, न त दौलत या न त स्त्रीले नै सक्दछन् । यी सबका प्रमाणहरू प्राचिन कालका धर्म ग्रन्थहरूमा पनि उल्लेखित छन् । हामीले हाम्रा ठूला ठूला धर्म ग्रन्थहरू अध्ययन गर्न सक्छौ । महाभारत र रामायणका ती अहम् लीला पढ्न सक्छौं । ती सबैका धेरै कारणहरू मध्येमा एउटा कारण स्त्री हो भन्न सकिन्छ । रामायणको सिर्जनामा सीताको कारण र महाभारतको सिर्जना द्रौपदीको कारणबाट भएको हो । रामायण, महाभारत, पुराण आदिको अध्ययनबाट जानकारी प्राप्त गर्न सकिन्छ कि हाम्रा इन्द्रिय यति बलवान छन् कि ठूला ठूला ऋषि–मुनि तथा विद्वानहरूलाई पनि विचलित पार्दछन् र सहजै आफ्ना बसमा ल्याउँछन् । त्यसो हुँदा जुनसुकै स्त्रीबाट टाढा रहनु पर्दछ । पुराणमा भनिएको छ कि एकै ठाउँमा छोरीसँग पनि बस्न हुँदैन किनकी बिलासी संसारबाट मानिसले मुक्ति पाउन साह्रै कठिन छ ।
एक जना बिलासी जीवन बिताएका पौराणिक कालका राजा ययातिको विलासी जीवनको रोचक घटनालाई यहाँ अध्ययन गर्न सकिन्छ । ती ययाति राजा नहुषका छोरा थिए । उनका दाजुको नाम यति थियो भने भाइहरूमा संयाति, आयति, वियति र कृति थिए । राजा नहुषले आफ्नो राज्य सञ्चालनको भार यतिलाई दिन चाहान्थे । यतिले राज्यसञ्चालनको भार स्वीकारेनन् किनकी राज्यसञ्चालनमा हुने विविध खाले परिणति, परिणाम र राजाहरूले गर्ने गरेका कुकर्महरू साथै भोगविलासी कर्महरूको उनले घृणा गर्दथे ।
उनले आफ्नै बाबु नहुषले इन्द्रकी पत्नी शचीसँग सहवास गर्ने प्रयत्न गर्दा ब्राह्मणहरूलाई पत्ता लाग्यो र ब्राह्मणहरूले श्राप दिँदा स्वर्गको राजाको इन्द्रपदबाट अजिङ्गगरको रूपमा झर्न परेको यथार्थता उन्लाई थाहा थियो । बाबुको यो परिणतिको साथै राज्य सञ्चालनकर्ताले हरेक किसिमका दाउपेच, राज्यसञ्चालनमा गरिने विविध व्यवस्थापनमा राजाले मानव जीवनको अमूल्यरत्न भनेको आत्मस्वरूप हो भन्ने यथार्थतालाई नै भूलेको हुन्छ भन्ने उनको ठहर थियो । यसरी दाजुले राज्य नस्वीकारेपछि ययाति राजा बने ।
ययाति राजा बनेपछि एकदिन शिकार खेल्न वनमा जाँदा उनलाई तिर्खा लाग्यो र एउटा इनारमा पानी खान गए । इनारमा उनले एक जना नाङ्गी सुन्दर युवतीलाई देखे र आफ्नो साथमा भएको ओढ्ने कपडा (उपर्ना) दिएर इनारबाट हातले समातेर बाहिर निकाली दिए । यी सुन्दर स्त्री दानवका गुरु शुक्रचार्यकी पुत्री थिइन् । यिनको नाम देवयानी थियो । देवयानीले राजालाई सारा घटना सुनाउँदै भनिन् –‘‘महाराज हजुरले समातिएको यो हात सदा हजुरको करकमलले नै समाइ रहोस् ।’’ राजाले ‘तिमी ब्राह्मणकी छोरी भएकाले विवाह हुन नसक्ने’ धारणा सुनाए ।
ब्राह्मणपुत्री भए पनि बृहस्पति गुरुका छोरा कचले उनलाई ब्राह्मण कुमारसँग विवाह नहोस् भन्ने श्राप दिएको हुँदा ययातिले विवाह गर्न मिल्ने कुरा देवयानीले राजालाई अवगत गराइन् । ययातिले उनको विवाहको प्रस्ताप स्वीकारे । यसपछि देवयानी घरमा गइन् र आफ्ना बाबु शुक्रचार्यलाई दिनमा घटेका घटनाको सारा विवरण यसरी सुनाइन् – उनी राजधानीको सुन्दर बगैंचामा दानवराज बृषपर्वाकी छोरी शर्मिष्ठा लगायत सखीहरूसँग गएकी थिइन् । यो सुन्दर बगैंचामा एउटा सुन्दर सरोवर थियो । त्यो सरोवरमा देवयानी र दानवराज बृषपर्वाकी छोरी शर्मिष्ठा लगायत सखीहरूले स्नान गर्ने उद्देश्यले गएका थिए । सबै जना नाङ्गै भएर स्नान गर्न थाले । उनीहरूले स्नान गर्दागर्दै महादेव पार्वतीको साथमा आउँदै गरेको देखे । नाङ्गै भएको अवस्थामा उनीहरूलाई कपडा लाउन हतार भयो । हतारको अवस्थामा देवयानीको कपडा शर्मिष्ठाले लगाइन् । शर्मिष्ठाले भुलबस देवयानीको कपडा लगाएको भन्दा भन्दै पनि देवयानीले नसुनेर गाली गर्न थालेपछि दुबैको बीचमा झगडा भयो । झगडाले उग्ररूप लियो र शर्मिष्ठाले उनलाई नाङ्गै भएको अवस्थामा नै इनारमा खसालिदिइन् । शर्मिष्ठाले झगडाको वेला देवयानी र उनका पितालाई सहनै नसकिने अपशब्दहरू बोलेकी थिइन् । देवयानीले शर्मिष्ठाले बोलेका र गरेका सबै कर्महरू आफ्नो बाबु शुक्रचार्यलाई बताइन् । छोरीका यी घटनाक्रम सुन्दा शुक्रचार्य पनि साह्रै विरक्त भए । छोरीलाई लिएर, त्यो ठाउँ छाडेर अन्यत्र जाने निर्णय लिए । यो घटनाक्रम राजा बृषपर्वालाई पनि थाहा लाग्यो र शुक्रचार्य अन्यत्र जाने कुरा थाहा पाएर राजा आएर शुक्रचार्यलाई यहाँबाट अन्यत्र नजानको लागि आग्रह गरे । ऋषिले पनि छोरी देवयानीले मागेको कुरा पूर्ण गरिदिएमा राज्य नछोड्ने धारण राखे । देवयानीले राजाको कुरा सुने पछि ‘मैले जो कोहीसँग विवाह गरे पनि शर्मिष्ठाले आफ्ना सहेली सहित मेरो सेवामा दाखिला होउन् भन्ने’ शर्त राखिन् । शर्मिष्ठाले पनि आफ्नो बाबुको राज्यहितलाई ध्यान राखी बाबुको आज्ञालाई शीरोधार्य गरिन् ।
देवयानीको विवाह ययातिसँग भयो । ऋषिले विवाह गर्दा राजालाई शर्मिष्ठासँग कहिल्यै सम्पर्क नबढाउनु समेत भनेर पठाए । शर्मिष्ठा पनि देवयानीको सेवामा सहेली सहित त्यहीं पुगिन् । यसै क्रममा शर्मिष्ठाले देवयानीको सेवारत रहँदा रहँदै एक दिन राजासँग पुत्रप्राप्तिको लागि रितुदान मागिन् । राजा ययातिले ऋषिको कुरा जान्दा जान्दै पनि शर्मिष्ठाको आग्रंह तत्कालिन समयमा धर्मसङ्गत भएकोले रितुदान दिन स्वीकारे र शर्मिष्ठालाई रितुदान दिए ।
यो कुरा देवयानीलाई थाहा लाग्यो र उनी आफ्ना बाबु भएको ठाउँमा जान लागिन् । राजा ययातिले धेरै सम्झाए तर उनले कुनै कुरा सुन्न चाहिनन् । सारा कुरा देवयानीले आफ्नो बाबुलाई भनिन् । ऋषि पनि साह्रै रिसाए र राजालाई‘ बूढो भै जा’ भनी श्राप दिए । राजाले अझै भोगविलासमा रम्ने धारणा राखे । यो श्रापले राजलाई मात्र नभएर देवयानीलाई पनि अपठ्यारो पर्ने भएकोले श्राप फिर्ता लिन आग्रह गरे । राजाको धेरै आग्रहपछि ऋषिले राजालाई ‘जाऊ, कसैले बैंस दिन्छ भने साटेर लेऊ र रमण गर’ भनेर पठाए । राजा ययाति आफ्नो दरबारमा फर्के र सर्बप्रथम जेठा छोरा यदुसँग जवानी साट्न चाहेको राय मागे । यदुले बैराग्य आउनको लागि पनि मानिसले विषय सुख प्राप्त गर्नु पर्छ । त्यसो हुँदा बैंश साट्न नसक्ने जवाफ दिए ।
यसरीनै राजाले तुर्बसु, द्रुह्यमु र अनुलाई पनि आफ्नो जिज्ञासा राखे । यी सबै छोराले राजाको बूढौलीसँग जवानी साट्न चाहेनन् । अन्तिममा राजाले सबै भन्दा सानो छोरा पुरुलाई आफ्नो यथार्थता प्रष्ट्याए । पुरु विद्वान थिए, उनलाई धर्मतत्त्वको बारेमा पूरा थाहा थियो । पुरुलाई यो शरीर भनेको नाशवान हो यदि पिताको दया रहेमा छोराले परमपद प्राप्त गर्न सक्छ भन्ने ज्ञान पनि थियो । पुरुले यो पनि जान्दथे कि पुत्रको शरीर पिताबाटै प्राप्त भएको हो । पुरुले सबै आदि आदि धार्मि विचारहरूलाई केलाए । पुरुले पिताको धारणालाई पालन गर्ने तथा नगर्ने, पुत्रको बारेमा श्रीमद्भागवतमा गरिएको बर्र्गीकरणलाई पनि स्मरण गर्दै लेखिएको यथार्थतालाई सुनाउँदै भने – ‘बुबा उत्तम पुत्र त त्यो हुन्छ जसले पिताले भन्नु अगावै बुझेर काम गर्दछ, ।पिताले भनेपछि गर्ने पुत्र मध्यम हुन्छ । पिताको आज्ञा पाए पछि अश्रद्धाले पालन गर्ने पुत्र अधम हो । पिताको कुरालाई कुनै प्रकारले पनि मान्दैन भने त्यस व्यक्तिलाई छोरो भन्नुनै भूल हो । त्यो त पिताको मलमूत्र हो । त्यसो हुँदा म मेरो जवानी हजुरको बूढ्यौली सँग साट्न सहस्र स्वीकार छु’ । पुरुले पुत्रले पिताप्रति गर्नु पर्ने दायित्वलाई पूरा गरे । ययातिले छोराको जवानीलाई प्रयोग गरेर विषयभोगमा रम्म थाले । ययातिले, सातै द्वीपहरूमा एकक्षत्र राज गर्दै, एकहजार बर्षसम्म विषयभोगमा रम्दा पनि उनमा तृप्ति हुन सकेन । अतः मानव जीवनमा विषयभोगको जरो अति गहिरोसँग गाडिएको छ तर पनि इन्द्रियलाई कावुमा राखे र सर्वोच्च सफलता प्राप्त गर्ने महापुरुषको उदाहरण पनि हाम्रा धार्मिक ग्रन्थले दर्शाएका छन् ।
अस्तु
(यो कथा श्रीमद्भागवत कथामा आधारित छ)

You might also like
Loading...