जीउमा लगाउने डिजिटल डिभाइसमा शाओमी नम्बर वान, एप्पल दोस्रो स्थानमा





स्मार्टवाच तथा फिटनेस ब्याण्डको चलन तीव्र भइरहेको छ । यसको बढ्दो लोकप्रियताले शरीरमा लगाउने डिजिटल डिभाइस अर्थात् वेयरेबल्सको मागमा पनि बढोत्तरी भइरहेको छ ।

मार्केट रिचर्स फर्म क्यानालिसले विश्वको वेयरेबल्स बजारको पछिल्लो आँकडा सार्वजनिक गरेको छ ।

सन् २०१९ को तेस्रो त्रैमासिकमा विश्व बजारमा बिक्री भएका स्मार्टवाट तथा फिटनेस ब्याण्डको बिक्रीको आधारमा चिनियाँ कम्पनी शाओमी नम्बर वान बन्न सफल भएको छ ।

तथ्यांक अनुसार, सन् २०१९ को तेस्रो त्रैमासिकमा विश्वमा वेयरेबल्सको बिक्रीमा ६५ प्रतिशतले वृद्धि भई ४ करोड ५५ लाख गोटा पुगेको छ । जसमध्ये शाओमीका डिभाइसको संख्या १ करोड २२ लाख रहेको छ ।

एमआई फिटनेस ब्याण्डको अपार सफलतासँगै शाओमी ग्लोबल वेयरेबल्स बजारमा पहिलो स्थानमा आउन सफल भएको हो । यस अवधिमा शाओमीका वेयरेबल्स बिक्रीमा २७ प्रतिशतले बढोत्तरी भएको छ । वार्षिक वृद्धिदरको आधारमा शाओमीले ७४ प्रतिशत वृद्धिदर हासिल गर्न सफल भएको छ । प्रतिस्पर्धी मूल्यमा शानदार फिचरयुक्त प्रडक्ट उपलब्ध गराउने रणनीतिका कारण शाओमीलाई सफलता प्राप्त भएको बताइएको छ ।

उता १५ प्रतिशत बजार हिस्सासहित एप्पल कम्पनी दोस्रो स्थानमा छ । एप्पलले तेस्रो त्रैमासिकमा विश्व बजारमा बेच्न सफल वेयरेबल्समध्ये सेप्टेम्बर महिनामा लञ्च भएको एप्पल वाच सिरिज फाइभको हिस्सेदारी ६० प्रतिशत रहेको छ । यसका अलावा एप्पलले सेप्टेम्बर महिनामै एप्पल वाच सिरिज थ्रीको मूल्यमा भारी कटौती गरेसँगै त्यसले बिक्रीमा सकारात्मक प्रभाव पारेको छ ।

क्यानासिलको रिपोर्ट अनुसार, एप्पलले सन् २०१७ को दोस्रो त्रैमासिकपश्चात यसपटक सबैभन्दा उच्च वार्षिक वृद्धिदर हासिल गरेको हो । एप्पल वाच सिरिज थ्री बजारमा एप्पलको सबैभन्दा सस्तो स्मार्टवाच बनेको छ ।

तेस्रो त्रैमासिकको बिक्रीको हिसाबले हुवावे तेश्रो स्थानमा रहेको छ । हुवावेले यस अवधिमा १३ प्रतिशतको बिक्रीदर हासिल गरेको छ । वार्षिक बिक्रीको हिसाबले चाहिँ हुवावेले २ सय ४३ प्रतिशतको अति उच्च वृदिदर हासिल गर्न सफल भएको छ । यस अवधिमा हुवावेले ५९ लाख गोटा वेयरेबल्स बेच्न सफल भएको छ ।

त्यस्तै, फिटबिट चौथो नम्बरमा रहेको छ भने पाँचौं नम्बरमा सामसुङ रहेको छ । ग्यालेक्सी फिटले सामसुङलाई वेयरेबल्सको बजारमा टिक्न सहयोग गरेको तथ्यांकले देखाएको छ ।
एजेन्सीको सहयोगमा




सम्बन्धित
Loading...