बलिउड सिधा उभिन नसक्ने काँतरहरूले भरिएको छ: कंगना


बलिउड अभिनेत्री कंगना रनौट बलिउडकी बोल्ड तथा स्पष्ट भनाइ राख्ने अभिनेत्रीका रूपमा परिचित छिन्। राजनैतिक-सामाजिक विषय हुन् या बलिउडमा हाबी भएको परिवारवादको मुद्दा कंगनाले जीब्रो चपाएकी छैनन्, आफूलाई लागेको स्पष्ट बोलेकी छिन्। कंगना हाल जयललिताको बायोपिक ‘थलाइवी’को सुटिङमा व्यस्त छन्। हैदरवादमा सुटिङमा व्यस्त रहेकी कंगनाले भारतमा हालै पारित भएको नागरिकतासम्बन्धी ऐनको संशोधनमा भइरहेको विरोध र विवादबारे धारणा राखेकी छन्।




*नागरिकतासम्बन्धी ऐनले सामाजिक सञ्जालमा बलिउडकर्मीको मौनतालाई लिएर विरोध भइरहेको छ। ‘सेमअनयूबलिउड ट्रेन्डिङको शीर्ष स्थानमै आयो। किन कलाकारहरू यसबारे बोल्न धकाइरहेका छन्?




-कलाकारहरू आफैसँग लज्जित हुनुपर्छ। बलिउड काँतरहरूले भरिएको छ भन्नेमा मलाई कुनै भ्रम छैन। उनीहरूले दिनमा २० पटक ऐना हेर्छन् र केही सोधियो भने उनीहरू भन्छन्- हामीसँग बिजुली छ, सबै कुरामा हाम्रो पहुँच छ, हामी विशेषाधिकारप्राप्त छौं, देशका बारे हामीले किन चिन्ता लिन पर्‍यो? अझ केहीले हामी त कलाकार हौं, हामीले यस्ता विषयबारे बोल्न हुँदैन भन्छन्। यस्तो भन्नेलाई यसमा तान्नुपर्छ र त्यही भएर त म उनीहरूलाई प्रश्न गर्न बाहिर आएकी छु। यहाँका केही मानिसहरू सहज क्षेत्रमा बसिरहेका छन् र उनीहरू आफूलाई देश र आममानिसभन्दा माथि रहेको सोचिरहेका छन्। तर अब मानिसहरूलाई उनीहरू देशप्रति कति उदासिन छन् भन्नेबारे थाहा हुन थालिसकेको छ। त्यसैले पनि मलाई यो ट्रेन्ड एकदमै ठीक लागेको छ।

* यसबारे त अर्को भनाइ पनि छ नि। बलिउड सबैका लागि सजिलो निशाना हो भनिन्छ। त्यसैले बलिउड प्रायः जसो यस्तैमा परिरहने बुझाइ पनि छ। बोल्यो भने तपाईं निशानामा पर्नुहुन्छ र बोलेन भने काँतरको रूपमा परिभाषित बन्नुहुन्छ। यसबारेमा तपाईंको भनाई के छ?

-अहँ, मलाई त त्यस्तो लाग्दैन। यो स्थान आफ्नो भनाइ राख्न र आममानिसको बोली बन्नका लागि दिइएको हो, इन्स्टाग्राममा पोस्ट गर्नका लागि मात्र होइन। मानिसहरूले उनीहरूलाई यस्तो हैसियतमा पुर्‍याएका छन र आवश्यक परेका बेला उनीहरू आममानिसको भलाइका लागि बोल्दैनन् भने उनीहरूलाई कस्तो मानिसका रूपमा बुझ्ने? उनीहरूलाई जनताको भन्दा पनि राजनीतिक पार्टी र ट्रोल हुन्छु कि भन्ने कुराको कत्रो डर छ। उनीहरू यस्तो गर्छन् भने भारतका मानिसहरूले यो ठाउँ त्यस्ता मानिसका लागि हुनुहुन्न भनेर बुझ्नुपर्छ। कलाकारहरू जवाफदेही हुनुपर्छ, उनीहरूले आफ्नो स्थान र शक्तिलाई प्रमाणित गर्नुपर्छ। यसका लागि मानिसहरूले उनीहरूलाई यस्तो शक्ति दिएका हुन्, त्यसैले उनीहरूलाई यस विषयमा तान्नैपर्छ। उनीहरू हामी लज्जित हुने नृशंस सिनेमा बनाउँछन् र इमान्दार सिनेमालाई मार्नेसम्मको दुस्साहस गर्छन्। त्यतिमात्र होइन उनीहरू औ‍सत कामलाई उचाल्नमा निक्कै माहिर छन्। हामीले उनीहरूलाई उनीहरू होइन बरु उनीहरूलेचाहिँ देशलाई कमजोर निशाना बनाएकोमा प्रश्न गर्नुपर्छ।

*तपाईंलाई सडकमा गएर अभियानमा जोडिने मौका मिल्यो भने तपाईंको भनाइ के हुनेछ, तपाईं के भन्न चाहनुहुन्छ?

-हामी सम्भावनाकोधेरै सीमाभित्र छौं र यो समय भनेको निर्णायक कदमहरू चाल्ने बेला हो। हामी बल्ल आएर भारत के हो? के होइन?, को भारतीय हो, को होइन? जबकी यो स्पष्टता आजसम्म थिएन। यसअघिका सरकारले हामीलाई हाम्रो सीमा र संख्याबारे बताएकै थिएनन्। यसले गर्दा नै हामीसँग जुध्नुपर्ने थुप्रै विषयहरू छन्। जनसंख्या बढिरहेको छ, कुपोषण त्यस्तै छ, हामीसँग यौन हिंसा, लैगिक विभेदलगायतका थुप्रै विषय छन् जसलाई हामीले राम्ररी सम्बोधन गर्नुपर्नेछ। सहयोग गर्नेका लागि समय छ तर त्यो घरबाट सुरू हुनुपर्छ।

*के सिनेमा उद्योग राजनीतिज्ञहरूको डरमा छ वा यस्ता सवालहरूमा बोल्दा आफ्नो व्यवसाय गुम्ला भनेर डराउने अवस्थामा छन्। कलाकारहरू संस्थापन रिसाउला कि भनेर डराउने गर्छन्? यसबारेमा तपाईंको धारणा के हो?

-होइन, उनीहरू सबैको कुराको डरमा बाँच्छन्। मैले देखेकाका मानिसहरूमा उनीहरू सबैभन्दा डरछेरूवा हुन्। उनीहरू काँतर हुन्। तिनीहरूमा कुनै दम छैन। त्यही भएर त तिनीहरू बाहिरबाट आएकालाई ध्वाँस दिन्छन्, एउटा केटीमान्छेलाई थर्काउछन् र तर्साउछन् किनकी उनीहरू काँतर छन्। हामीले त्यस्तालाई ‘आइकन’ मान्न छोड्नुपर्छ, हाम्रा पथप्रदर्शक हुन् भनेर सोच्न छोड्नुपर्छ, हामीले ती साँच्चै को हुन भनेर चिन्नुपर्छ। तिनीहरू मात्र सामाजिक सञ्जाल हुन्। तिनीहरू मेकअप-लुगा लगाएर दिनभर जिममा मसल फुलाएर बस्छन्। तिनीहरू यही हुन्। तिनीहरू को हुन्न भन्नेमा स्पष्ट भइयो भने हामी निराश हुनुपर्दैन। त्यसैले अब हामीले हाम्रा साँच्चिकैका रोलमोडल को हुन भनेर चिन्नुपर्छ। (टाइम्स अफ इन्डियाबाट)




सम्बन्धित
Loading...