गैडाकाेटमा सहमति राष्ट्रिय पुरस्कारबाट धुर्मुस सुन्तली सम्मानित

496




गैँडाकोट, ४ पुस । यस वर्षको सहमति राष्ट्रिय पुरस्कारबाट कलाकार धर्मुस र सुन्तली सम्मानित भएका छन् । गैँडाकोटमा रहेको सहमति संस्थाले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र उपाध्यक्ष कुन्जना घिमिरे सुन्तलीलाई सहमति राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको हो । धुर्मुस सुन्तलीले दैविक विपत्ति पश्चात नमुना बस्ती निर्माण एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जस्तो अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्ने महाअभियान थालनी गरी समाजलाई एकीकृत गर्ने अभियानमा लागेको भन्दै संस्थाले सम्मान गरेको संस्थाका संस्थापक अध्यक्ष भीमप्रसाद शर्माले बताउनुभयो । पुरस्कृत व्यक्तित्व सिताराम कट्टेलले देशको विकास, आपसी सहमतिबाट मात्र सम्भव रहेको भन्दै सबैलाई एक जुट हुन आग्रह गर्नुभएको थियो ।

समुदाय र मानवता विकासका लागि प्रतिवद्ध संस्था सहमतिको अठारौँ वार्षिकोत्सव, एककाइसौँ साधारणसभा एवं सातौँ अधिवेशनको अवसरमा आयोजित संस्थागत सामाजिक परिक्षण एवं सम्मान कार्यक्रममा धर्मुस सुन्तली फाउण्डेसनका उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीको अनुपस्थिति रहेपनि सिताराम कट्टेललाई नै उहाँको कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले समाजमा पारदर्शीता र इमान्दारिता भए स्रोत र साधनको अभाव नहुने बताउनुभयो ।

संस्थाका अध्यक्ष होमनाथ सुवेदीले सहमतिका कार्यक्रमले १३ लाख भन्दा बढी जनसंख्या लाभान्वित रहेको बताउँदै आगामी दिनमा अझ बढी प्रभावकारी कार्यक्रमहरु अघि सारिने बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट नगर उपप्रमुख विष्णुकुमारी कंडेल, नेपाल कम्युनिष्ट पार्टी गैँडाकोटका अध्यक्ष षडानन्द लामिछाने, नेपाली काँग्रेस गैँडाकोटका सभापति तारापति खरेल, साझेदार संस्था लुथरन वल्ड रिलिजका कार्यक्रम निर्देशक नारायण ज्ञवाली, सिजी इन्डष्ट्रियल पार्कका महाप्रवन्धक खड्क पौडेल, जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष केशवप्रसाद सापकोटा, समुदायका प्रतिनिधिहरु सुन्दरप्रसाद देवकोटा, सुशिला परियार र सम्झना सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा संस्थापक सदस्यहरुलाई सम्मान प्रदान गरिएको थियो । यसैगरी सहमति वर्ष व्यक्तित्व २०७६ बाट संस्थाका सदस्य दयासागर सुवेदी, उत्कृष्ट कर्मचारीको रुपमा कार्यक्रम अधिकृत सावित्रि भण्डारी, सहमति भान्छाघर सहयोगी निरु बोटेलाई सम्मान गरिएको थियो । यसैगरी मरणोपरान्त सम्मानबाट स्व. नविनसागर सुवेदी र रुद्रप्रसाद सापकोटालाई सम्मान अर्पण गरिएको थियो ।

कार्यक्रममा प्रगति प्रतिवेदन संस्थाका महासचिव नगेन्द्र रिजालले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष वेलप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सचिव ताराशर्माले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाकी उपाध्यक्ष लक्ष्मी भट्राईले गर्नुभएको थियो । संस्थाका अध्यक्ष होमनाथ सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

You might also like
Loading...