लिम्पियाधुरा सीमा अतिक्रमणः कहिले र कसरी ?

168




– रतन भण्डारी
भारत सरकारले २०१९ नोभेम्बर २ मा नेपालको लिम्पियाधुरादेखि कालापानी–लिपुलेकसम्मको भू-भाग समेटेर गलत नक्शा प्रकाशित गरेको छ । नक्शामा भारतले कालीपूर्वका नेपाली कुटी, नाभी, गुन्जी, कालापानी र लिपुलेकलाई आफूतिर पारेको छ । सन् १८१६ को सुगौली सन्धिद्वारा निर्धारित महाकालीको शिरानी लिम्पियाधुरा क्षेत्र आफूतिर पार्ने भारतीय दुस्प्रयास नेपालको सार्वभौमिकता विरोधी छ ।

सन् १८१६ को सुगौली सन्धिको धारा ५ मा “नेपालका राजा मौसूफ स्वयंका लागि, मौसूफका उत्तराधिकारीहरू वा वारिसहरूका लागि काली नदीको पश्चिममा पर्ने देशहरूसितका सम्बन्ध र सम्पूर्ण दाबीहरू परित्याग गरिबक्सन्छ” भन्ने कुरा उल्लेख छ । सन् १९६१ को नेपाल–चीन सीमा सन्धिको दफा १.१ मा “नेपाल र चीनबीचको पश्चिमी सीमा महाकाली र तिंकर नदीको पानी ढलोबाट शुरु हुने”भनिएको छ । जहाँ चीनले पनि लिम्पियाधुराबाट आउने काली नदीलाई नै नेपालसँगको पश्चिमी सीमा मानेको छ ।

यसरी हेर्दा सुगौली सन्धि र नेपाल–चीन सीमा सन्धिका आधारमा निर्धा्रित नेपालको पश्चिमी सीमा महाकाली हो, जुन नदी लिम्पियाधुरा उद्गमित छ । सुगौली सन्धि पछि तत्कालीन इष्ट–इन्डिया कम्पनी सरकारले जारी गरेका सबै नक्शाहरूमा महाकालीको मुहान लिम्पियाधुरा नै छ । सन् १८५६ पछि ब्रिटिश–इण्डियाले नेपालको पश्चिमी सीमामाथि नक्शामार्फत अतिक्रमण थालेको हो । सन् १९४७ मा स्वतन्त्र भएपछि भारतले त ब्रिटिश–इण्डिलाले गलत रुपमा काली भन्दै आएको लिपुखोलालाई समेत काली नभनी कालापानी (तिल्सी)मा रहेको सानो पानीको मुहानलाई आहालमा परिणत गरी सोही आहाललाई कालीको मुहान भन्दै दुनियाँ हँसाइरहेको छ । सन् १९५४ भारतले कालापानी क्षेत्रमा अनधिकृतरुपमा सैन्य उपस्थिति नै कायम गरेको छ ।

यतिबेला लिम्पियाधुरा क्षेत्रको ३९४ वर्ग कि.मी. नेपाली भूमि भारतीय अतिक्रमणमा छ । ऐतिहासिक तथ्य–प्रमाण, नाप–नक्शा, जलविज्ञानका आधारमा लिम्पियाधुरा पूर्वको सबै भूमि नेपालको हो ।

यतिबेला लिम्पियाधुरा क्षेत्रको ३९४ वर्ग कि.मी. नेपाली भूमि भारतीय अतिक्रमणमा छ । ऐतिहासिक तथ्य–प्रमाण, नाप–नक्शा, जलविज्ञानका आधारमा लिम्पियाधुरा पूर्वको सबै भूमि नेपालको हो । जुन कुरा निम्न तथ्य प्रमाणहरुले समेत पुष्टि हुन्छ ।
नक्शामा कालीको मुहान :
इष्ट इण्डिया कम्पनीद्वारा सन् १८५६ सम्म प्रकाशित सबै नक्शाहरूमा कालीको मुहान लिम्पियाधुरा उल्लेख छ । ऐतिहासिक नक्शाहरूले महाकालीको मुहान काली भएको पुष्टि गरेका छन् । ब्रिटिश सम्राटका हाइड्रोग्राफरद्वारा तयार पारी सन् १८१६ जनवरी २ मा प्रकाशित नक्शामा “काली”को मुहान लिम्पियाधुरा उल्लेख छ । त्यसैगरी लिम्पियाधुरा उद्गमित नदीलाई काली (महाकाली) प्रकाशित नक्शाहरुमा सन् १८१९, सन् १८२६ को याप्टेन जेडी हर्वटको नक्शा, सन् १८२७ फेबु्रअरीमा ब्रिटिश संसद्द्वारा पारित ऐनअनुसार प्रकाशित नक्शा, सन् १८३० को ‘वेष्टर्न प्रोभिन्सेज अफ हिन्दूस्तान’ शीर्षकको नक्शा, सन् १८३५ को नक्शा इष्ट–इण्डिया कम्पनीको नक्शा, सन् १८३७ को जे.बी. टासिनको फारसी भाषामा रहेको नक्शा, सन् १८४१ को ‘म्याप अफ इण्डिया’ शीर्षकको नक्शा, सन् १८४६ फेब्रुअरी १६ मा प्रकाशित नक्शा र सन् १९५५ मा तयार गरी सन् १८५६ अप्रिल २४ मा ब्रिटिश–इण्डिया सरकारको “सर्भेयर जनरल्स अफिस”बाट प्रकाशित नक्शाहरु रहेका छन् । यी नक्शाहरुमा सबैभन्दा आधिकारिक सन् १८५६ को नक्शालाई मानिएको छ । यस नक्शामा इष्ट इण्डिया कम्पनीका डेपुटी सर्भेयर जनरलको हस्ताक्षर छ । यसमा देवनागरी लिपिको जङ्गबहादुर राणाको हाते नक्शाको विवरण राखिएको छ । यो नक्शा नेपाल र इष्ट–इण्डिया कम्पनी सरकार दुबैको सहमति जुटाइएको छ ।

नक्शा अतिक्रमणः
इष्ट इण्डियाद्वारा सन् १८१६ सम्म प्रकाशित सबै नक्शाहरूमा महाकालीको मुहान लिम्पियाधुरा उल्लेख छ । तर पछि ब्रिटिश–इण्डियाले सन् १८६५ मा लिम्पियाधुराबाट आउने काली (महाकाली)नदीलाई “कुटीयांक्ति” र लिपुलेकबाट आउने “खाँयांक्ति” (लिपुखोला)लाई काली भनेर नक्शा प्रकाशित गरी नक्शामार्फत नेपाली भूमिमाथि अतिक्रमण थालेको हो । ब्रिटिश–इण्डियाले सन् १८५६ पछि लिम्पियाधुरा उद्गमित महाकालीलाई “कुटी यांक्ति” र ‘‘लिपुखोला’’ लाई कथित “काली” भनेर प्रकाशित गरेका भ्रमात्मक नक्शाहरूमा सन् १८६५ को को सर्भे अफ् इण्डियाको ‘डिष्ट्रिक अल्मोडा’ शीर्षक नक्शा, सन् १८७१ को सर्भे अफ् इण्डियाकै अल्मोडा सीट नं. २ र ४ को नक्शा, सन् १८७९ को ‘नेपाल–अल्मोडा, यूनाइटेड प्रोभिन्स’ शीर्षकको सर्भे अफ् इण्डियाको अर्को नक्शा, सन् १८८१ को ‘नेपाल–तिब्बत एण्ड यूनाइटेड’ प्रोभिन्स शीर्षकको सर्भेयर जनरल अफ् इण्डियाको नक्शा आदि छन् ।

ऐतिहासिक पत्राचारमा लिम्पियाधुरा क्षेत्र:
सन् १८१७ फेब्रुअरी ४ मा ईष्ट–इण्डिया कम्पनीका कार्यवाहक मुख्य सचिव जे. आदमले काठमाडौँस्थित आवासीय प्रतिनिधि एडवर्ड गार्डनरलाई गभर्नर जनरलका तर्फबाट पत्र लेखेका छन् । पत्रमा आदमले गार्डनरलाई “काली नदीको पूर्वमा पर्ने ब्यास प्रगन्ना चौतरिया बम शाहको दाबीअनुसार नेपालको ठहरिन्छ, तसर्थ त्यो ठाउँ नेपाल सरकारका अधिकारीलाई बुझाउनु” भनी निर्देशन दिएका छन् । पत्रले लिम्पियाधुरा पूर्वका कुटी, नावी, गुञ्जी, तिङ्कर र छाँगरुलाई नेपाली भूमि भनेर स्वीकारेको छ ।

त्यसैगरी ईष्ट–इण्डिया कम्पनीका कार्यवाहक मुख्य सचिव जे. आदमले गभर्नर जनरलको तर्फबाट कुमाउँका कार्यवाहक कमिश्नर जी.डब्ल्यू. ट्रेललाई सन् १८१७ मार्च २२ मा अर्को आदमले ट्रेललाई लेखेका छन्,–“कालीपूर्वको ब्यास प्रगन्नासहितको भू-भाग सुगौली सन्धिअनुसार नेपालको भएकाले ती गाउँहरू नेपाललाई सुम्पनु ।” पत्रमा ब्यास प्रगन्नाका भोटिया (सौका) जमीनदारहरूले ब्रिटिश शासनअन्तर्गत रहन पाउँ भनी निवेदन दिए पनि सुगौली सन्धिअनुसार ब्यास प्रगन्ना, त्यहाँका गाउँ र जमीन नेपालको भएकाले ब्रिटिश सरकार त्यहाँका बासिन्दालाई आफूतिर पार्न जतिसुकै इच्छुक भए पनि नसक्ने बेहोरा उल्लेख छ ।

तिरो–तिरान, जनगणना र लालमोहर–सनद :
गुञ्जी, नाभी र कुटीका बासिन्दाले विसं. १९९७ सम्म पनि बैतडी मालमा तिरो तिर्दै आएको प्रमाण सुरक्षित छ । विसं १९९७ मंसिर २७ गते खड्ग निशाना भएको तिरो–तिरानसम्बन्धी मोठ बैतडी मालमा छ । राणाकालमा ब्यास गर्खाका बासिन्दाका नाममा जारी लालमोहर–इस्तिहार–सनदहरू गुञ्जी, नावी, तिङ्कर र छाँगरुवासीहरूसँग अझै सुरक्षित छन् । त्यसैगरी नेपाल सरकारले विसं. २००९ मा पूर्वाञ्चल र २०११ मा पश्चिमाञ्चलमा जनगणना गरेको थियो । २०११ को जनगणनाले ब्यास गर्खाका ६ ओटा गाउँको घरधुरी संख्या ४ शय ३४ तथा कूल जनसंख्या १,८१६ देखाएको छ । २०१८ सालमा गुञ्जी, नावी, कुटीको जनगणना वरिष्ठ पत्रकार भैरव रिसालको मातहत भएको थियो ।
नदी विज्ञानका आधारमा कालीको मुहानः
नदी विज्ञानमा कुन नदी मूल र कुन सहायक भन्ने कुरा नदीको लम्बाई, नदीको जलाधार क्षेत्र, नदीमा रहेको पानीको मात्राका आधारमा टुंगो लगाइन्छ । ठूलो जलाधार क्षेत्र भएको, सहायक नदीभन्दा लामो दूरीबाट बगेर आउने, पानीको मात्रा बढी भएको नदीलाई नदी विज्ञानले मूल नदी मान्दछ । नदी विज्ञानका आधारमा लिम्पियाधुराबाट आउने नदी नै काली नदी रहेको पुष्टि हुन्छ । जहाँ लिम्पियाधुराबाट आउने काली र लिपुलेकबाट आउने लिपुखोलाको मिलन विन्दूसम्मको लम्बाइ हेर्दा लिपुखोलाको लम्बाइ २२ किमीमात्रै छ भने कुटीयांक्ति भनिने वास्तविक काली नदीका लम्बाइ ५२ किमी छ । त्यसैगरी लिम्पियाधुरा उदगमित कालीमा २२ घनमिटर प्रतिसेकण्ड पानी प्रवाह हुन्छ भने लिपुखोलामा मात्र ७ घनमीटर प्रतिसेकेण्ड पानी बग्दछ । त्यसैगरी लिम्पियाधुरा उद्गमित काली नदीले ५५५ वर्ग कीमी जलाधार क्षेत्र ओगटेकोमा लिपुखोलाले केवल १८५ वर्ग किमी मात्रै जलाधार क्षेत्र ओगटेको छ ।
अन्तमाः
सुगौली सन्धिअनुसार लिम्पियाधुरापूर्वका कुटी, नाभी, गुन्जी, कालापानी, लिपुलेकलगायत भू–भाग नेपालको भएको निर्विवाद तथ्य हो । तर भारतले नेपालको सार्वभौमिकतालाई चुनौती दिँदै लिम्पियाधुरापूर्वको भूमिमा सुरक्षा फौज राखेको छ । सो भूमि आफूतिर पार्दै नक्शा जारी गर्दै आएको छ । भारतले नेपाली भूमिमा सुरक्षा फौज राखेर नक्शा गर्ने कार्यले नेपालको सार्वभौमिकतामाथि गम्भीर प्रश्न उठाएको छ । तसर्थ नेपाल सरकारले लिम्पियाधुरा क्षेत्रमा रहेको भारतीय सुरक्षा फौज फिर्तीका लागि कदम चाल्नुको विकल्प छैन । साथै नेपाल सरकारले लिम्पियाधुरा, कुटी, नाभी, गुन्जी, कालापानी र लिपुलेक समट्ने गरी तत्काल नक्शा जारी गर्नुपर्दछ । लिम्पियाधुराबाट भारतीय फौज नहटाइ नेपालले कुनैपनि हालतमा भारतले हस्ताक्षरका लागि दबाब दिदै आएको “स्ट्रीप म्याप”मा सहमति जनाउनु हुन्न । साथै नेपाल, भारत र चीनबीच सहमति जुटाई लिम्पियाधुरालाई “त्रिदेशीय विन्दू” मान्ने गरी त्यहाँ तत्काल “शून्य” नम्बरको सीमास्तम्भ स्थापना गरिनुपर्छ ।

You might also like
Loading...