क्रिकेट रंगशाला निर्माण गर्न महायज्ञ लगाइदै

32

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ ।

पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ ।

महायज्ञबाट ५० करोड संकलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए ।

मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल रहनेछन् । रंगशाला निर्माणस्थलमा नै महायज्ञ लगाइदै छ । पछिल्लो समय रंगशाला निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । सहयोग जुट्ने क्रमसमेत निरन्तररुपमा अघि बढेको छ ।

धुर्मश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रंगशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए । मैदान निर्माण गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ ।

रंगशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उनले जानकारी दिए ।

रंगशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा खेल भएका हुन । रंगशाला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ ।

रंगशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्सांकन गरिएको छ । रंगशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ । रंगशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ ।

You might also like
Loading...