‘केही दिन वा घन्टाभित्र डरलाग्दो विस्फोटनको खतरा’

349

 

फिलिपिन्समा सक्रिय टाल ज्वालामुखी पर्वतबाट लाभा निस्किन थालेपछि केही घन्टा वा दिनभित्र डरलाग्दो विस्फोटको खतरा रहेको अधिकारीहरूले चेतावनी दिएका छन् ।

टाल ज्वालामुखी राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको छ । ज्वालामुखीबाट पहिले खरानीको एउटा विशाल थुप्रो निस्किएपछि सो क्षेत्रबाट करिब ८ हजार मानिसलाई अन्यत्र सारिएको थियो।

टाल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो । एउटा विशाल तालको बीचमा रहेको द्वीपमा रहेको सो ज्वालामुखी पर्वत विश्वकै साना ज्वालामुखीमध्ये एक हो। विगत ४ सय ५० वर्षमा कम्तिमा ३४ पटक यो ज्वालामुखी विस्फोटन भएको बताइन्छ ।

ज्वालामुखी तथा भूकम्प हेर्ने फिलिपिन्सको निकाय फिभोल्क्सले स्थानीय समयानुसार टाल ज्वालामुखी बिहान २ः४९ देखि ४ः२८ सम्ममा विस्फोटन हुने स्थितिमा पुग्यो । लाभाको फोहरा निस्कँदा चट्याङ पर्नुका साथै बिजुली चम्किएको जनाइएको छ।

फिभोल्क्सले विस्फोटनको चेतावनीको तह बढाएर तीनबाट चारमा पुर्‍याएको छ। चेतावनीको अधिकतम तह पाँच हुन्छ। अधिकारीहरूले ज्वालामुखीका कारण सुनामी आउन सक्ने चेतावनीसमेत दिएका छन्।

टाल क्षेत्रमा कम्तीमा ७५ वटा भूकम्प गएका छन् । टाल ज्वालामुखीको १४ किलोमिटर वरपरको क्षेत्रमा साढे ४ लाख मानिसको बसोबास छ । टाढासम्म खरानी फैलिएपछि मानिसहरूलाई मास्क लगाउन सुझाव दिइएको छ। ज्वालामुखीबाट उडेको खरानीका कारण मनिलास्थित अन्तर्राष्ट्रिय विमानहरू प्रभावित भएका थिए ।

फिभोल्क्सले ज्वालामुखीबाट उडेका टुक्राटाक्री र खरानीले विमानलाई क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको थियो । राष्ट्रपतिले मनिलामा सबै सरकारी कामकारबाही बन्द गर्न निर्देशन दिएका छन् । सबै विद्यालयहरू समेत बन्द गरिएको छ ।

यसअघि सो ज्वालामुखी १९७७ मा विस्फोटन भएको थियो । सन् १९७४ मा विस्फोटन हुँदा धेरै महिना रोकिएको थिएन । सन् १९११ मा विस्फोटन हुँदा १ हजार ५ सय मानिसको मृत्यु भएको थियो ।

You might also like
Loading...