रोग निको पार्ने आश्वसान दिई बलात्कार गरेको आरोपमा चर्चका पाष्टर पक्राउ

232




प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक जना पाष्टरलाई पक्राउ गरेको छ ।

बलात्कार आरोपमा आशा विश्वासी मण्डली चर्चका पाष्टर बिश्वास जोशी भन्ने ध्रुवबाबु जोशीलाई पक्राउ परेका छन्। पीडित महिलाले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरको टोलीले सोमबार पक्राउ गरेको प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन्।

रोग निको हुने आश्वसान दिएपछि आशा विश्वासी मण्डली चर्चमा प्रार्थना गर्न जाँदा जोशीले जबरजस्ती करणी गरेको पीडित महिलाको आरोप छ। नराम्रो काम गरेका कारण तिमीलाई यस्तो रोग लागेको र पाप मेटाइदिने भन्दै जोशीले पटक पटक बलात्कार गर्दै आएको पीडित महिलाको किटानी जाहेरीमा उल्लेख छ।

उनले पाप मेटाउन आफूसँग शारीरिक सम्पर्क गर्न ललाइ फकाइ पहिलोपटक ललितपुरको चापागाउँ मोडको एक गेस्ट हाउसमा, दोस्रो पटक पीडित महिलाले संचालन गरेको पसलमा र तेस्रो पटक यही पुस महिनाको पहिलो हप्तातिर सोही पसलमा आएर दबाव दिइ जबरजस्ती करणी गरेको आरोप पीडित महिलाको छ।

जबरजस्ती गरेपछि जोशीले परमेश्वरले दिएको शक्ति नास भएर जाने र कसैलाई भनेपछि तिमीलाई जे पनि गर्छु भनि धम्की दिएका थिए। जोशीले घटनाबारे कसैलाई भने तिम्रो परिवार तथा साथी भाइ मात्र नभएर चर्चमा समेत हल्ला गरी दिने भनी डरत्रास देखाउँदै जबरजस्तीकरणी गर्दै आएको पीडित महिलाले दिएको लिखित जाहेरीमा उल्लेख छ।

You might also like
Loading...