एमसीसी र सीमा बारे नेकपाको आधिकारिक धारणा (भिडियो सहित)


 




नवलपरासी, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले एमसीसी जस्ताको तस्तै स्वीकार गर्न नसकिने बताएका छन् ।
आइतबार कावासोतीमा पुष्पलाल स्मृति प्रतिष्ठान नवलपुरले आयोजना गरेको राष्ट्रियता, एमसीसी र पार्टीका समसामयिक स्थितिको विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
ज्ञवालीले भने – एमसीसीमा रहेको सबै कुरा जस्ताको तस्तै स्वीकार गर्न सकिदैन । संशोधन गरेर मात्र पास गर्नु पर्दछ । ज्ञवालीका अनुसार एमसीसीको बिषयमा पार्टीको सचिवालयले टुंग्याउने गरी जिम्मा लगाइएको छ तथापि पार्टीले यस विषयमा निर्णय लिईसकेको छैन ।
उनले पार्टीका कार्यकर्ताहरुलाई एमसीसीको बारेमा पार्टीको धारणा भन्दै जे मन लाग्यो त्यो नबोल्न निर्देशन समेत दिए ।
त्यसैगरी नेकपाका स्थायी कमिटि सदस्य ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको बताउँदै भारतले नेपालको भूमि अतिक्रमण गरेर बसेको बताए । उनले नक्शा सच्याएर कालापानीबाट भारतीय सेनालाई हटाउनु पर्नेमा पार्टीको धारणा रहेको बताए ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तिलक महत, किसान गैरे, रविन्द्र अधिकारी लगायतले बोलेका थिए ।
कार्यक्रम पुष्पलाल स्मृति प्रतिष्ठान धनन्जय शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पूर्व सांसद कृष्ण पौडेल, चन्द्र मणि खराल, संविधान सभा सदस्य जीवन श्रेष्ठ, नेकपा नवलपुरका जिल्ला सचिव मित्रशरण शर्मा विहानी लगायतको सहभागिता रहेको थियो ।




कार्यक्रम सालिकराम भट्टराईको सञ्चालनमा भएको थियो।




सम्बन्धित
Loading...