उपसभामुखद्वारा राजिनामा, १२ माघमा सभामुख निर्वाचन
प्रतिनिधिसभा सभामुखको निर्वाचन १२ माघमा हुने भएको छ । सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन १२ माघमा गर्ने सहमति भएको हो ।
उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् ।
‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा गरेको अवस्थामा सहजीकरणका लागि मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न चाहन्छु ।’
प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभामा भावुक सम्बाेधन गर्दै नेताहरूलाई धरातल नबिर्सन आग्रह गरेकी छन् ।
‘अन्योलपूर्ण अवस्थामा उपसभामुख पद रिक्त गरेर यस गरिमामय सदनलाई नेतृत्वविहीन राख्नु उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्ने भनेर मैले सार्वजनिक रूपमा राखेको मान्यता सम्मानित सदनसमक्ष अभिलेखित गराउन चाहन्छु,’ तुम्बाहाम्फेले भनिन् ।
उनले सम्बाेधनका क्रममा संविधानको मर्म, अक्षर र वचनबाट नभई अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुन सक्छ भन्ने आफूलाई लागेको बताएकी छन् ।