नेपाल सिधै टी२० विश्वकपको ग्लोबल छनोटमा

220

नेपालले भारतमा हुने टी२० विश्वकप २०२१ को ग्लोबल छनोट खेल्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले विज्ञप्ति जारी गर्दै टी२० विश्वकप छनोटको ढाँचा परिवर्तन गरेसँगै नेपालले सिधै ग्लोबल छनोट खेल्ने अवसर पाएको हो ।

१८ अक्टोबर २०२० बाट अस्ट्रेलियामा सातौं टी२० विश्वकप सुरु हुँदैछ । आईसीसीको पुरानो क्यालेन्डरअनुसार २०२४ मा मात्र आठौं टी२० विश्वकप गरिने योजना थियो । तर, २०२१ मा हुने आईसीसी च्याम्पियन्स ट्रफीलाई विस्थापित गर्दै आईसीसीले टी२० विश्वकप आयोजना गर्ने निर्णय गरेको हो ।

आईसीसीको टी२० वरियतामा माथिल्लो स्थानमा रहेकाले नेपाले आठौं टी२० विश्वकपको सिधै ग्लोबल छनोट खेल्ने अवसर पाएको हो । नेपालसँगै वरियतामा माथि रहेका तथा अस्ट्रेलियामा हुने सातौं टी२० विश्वकपमा छनोट नभएका जिम्बाब्वे, हङकङ र यूएईले पनि सिधै ग्लोबल छनोट खेल्ने अवसर पाएका छन् ।

आईसीसीको ताजा टी२० वरियतामा नेपाल १२औं स्थानमा छ । यस्तै, जिम्बाब्वे ११औं स्थानमा छ भने यूएई १५औं तथा हङकङ २०औं स्थानमा रहेका छन् । नेपाल अस्ट्रेलियामा हुने टी२० विश्वकप २०२० को क्षेत्रीय छनोटमै अड्किएका थियो भने हङकङ, जिम्बाब्वे र यूएई ग्लोबल छनोटबाट बाहिरिएका थिए ।

कसरी हुन्छ ग्लोबल छनोटको समूह विभाजन ?

आईसीसीको नयाँ ढाँचा अनुसार टी२० विश्वकपको ग्लोबल छनोटमा १६ टिम सहभागी हुनेछन् । जसमा नेपाल, जिम्बाब्वे, हङकङ, युएईसहित अस्ट्रेलिया टी२० विश्वकपमा पुछारमा रहने ४ टिम र क्षेत्रीय छनोटबाट आउने ८ टिम रहने छन् । ग्लोबल छनोटमा रहेका १६ टिमलाई २ समूहमा विभाजन गरिने छ ।

एउटा समूहमा अस्ट्रेलिया विश्वकपको पुछारमा रहने ४ टिम तथा अर्को समूहमा नेपाल, जिम्बाब्वे, युएई र हङकङ हुने छन् । यसैगरी क्षेत्रीय छनोटबाट आएका ८ टिमलाई ती दुई समूहमा विभाजन गरि हरेक समूहमा ८–८ टिम रहनेछन् ।

दुई समूहमा हुने ग्लोबल छनोटबाट हरेक समूहका २–२ वटा टिमले भारतमा हुने आठौं टी२० विश्वकप २०२१ मा आफ्नो स्थान पक्का गर्नेछन् ।

You might also like
Loading...