केराबारी गाउँपालिका भवनमा बम विस्फोट

98

मोरङको केराबारी गाउँपालिका कार्यालयको भवनमा बम विस्फोट भएको छ । शुक्रबार राति १० बजेतिर अज्ञात समूहले गाउँपालिकाको भवनमा शक्तिशाली बम विस्फोट गराएको स्थानीयले बताएका छन् । यस्तै गाउँपालिका भवनभन्दा केही दुरीपर पनि बम विस्फोट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताए ।

गाउँपालिका भवनमा बम विस्फोटपछि क्षति पुगेको छ । विस्फोटका कारण गाउँपालिकाको जेनेरेटर पूर्ण रुपमा क्षति भएको र भवनका भित्ताहरू चर्किएको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए ।

विस्फोटका कारण आसपासका घरका सिसाहरुसमेत फुटेको उनले बताए । गाउँपालिका भवनमा विस्फोट भएको केही घन्टा बित्न नपाउँदै आज बिहान पुन ४० मिटर पर सुतली बम विस्फोट भएको छ । श्रृङ्खलाबद्ध बम विस्फोट भएसँगै स्थानीयमा त्रास बढेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले अहिले सो क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ । स्थानीयका अनुसार प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ । बम विस्फोट कसले गराएको हो भन्ने अझै खुल्न सकेको छैन । यद्यपी विप्लव समूहले विस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ ।

मोरङका विभिन्न स्थानीय निकायमा श्रृंखलाबद्ध बम बिस्फोटका घटना हुन थालेपछि त्रास फैलिएको छ । यसअघि मोरङकै मिक्लाजुङ गाउँपालिकामा बम बिस्फोट भएको थियो ।

You might also like
Loading...