५३ जनामा कोरोनाको औषधी परिक्षणमा देखियो सकारात्मक परिणाम





कोरोना भाइरस सङ्क्रमणपछि हुने कोभिड-१९ का बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले ‘उत्साहजनक’ नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ। अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड-१९ का बिरामीमा गरिएको औषधीको परीक्षणले सकारात्मक परिणाम दिएको हो।

उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको रेम्डेसिभिर नामक औषधी दिइएको थियो। उनीहरूमध्ये दुई तिहाइलाई रेम्डेसिभिरले फाइदा गरेको बताइएको छ।




परीक्षणमा सहभागी ३० जना बिरामी मध्ये १७ जनालाई त्यो औषधी दिइएपछि उनीहरूको अवस्थामा सुधार भएको थियो र उनीहरूलाई सास फेर्न सहज बनाउने भेन्टिलेटरबाट निकालिएको थियो।

त्यो अध्ययनमा सहभागी वैज्ञानिकहरूले परीक्षणको परिणामलाई सुखद र आशायुक्त भनेका छन्। तर उनीहरूले थप अध्ययन र तथ्याङ्क उपलब्ध भएपछि मात्र सही निष्कर्षमा पुग्न सकिने बताएका छन्। रेम्डेसिभिर औषधीको बृहत्तर परीक्षणको परिणाम आउने केही सातामा आउन लागेको छ।

यसअघि रेम्डेसिभिर औषधीको अर्को परीक्षण यूकेको इङ्गल्यान्ड र स्कटल्यान्डमा सुरु गर्न लागिएका विवरण सार्वजनिक भएका थिए। सरकारले अनुमति दिएपछि त्यहाँका १५ वटा स्वास्थ्य संस्थामा त्यसको परीक्षण थाल्न लागिएको घोषणा दुई साता अघि भएको थियो।

गिलियडले यूकेमा कोभिड-१९ का सामान्य लक्षण भएका बिरामीमा त्यसको परीक्षण गर्न लागेको हो। त्यसको नेतृत्व सङ्क्रामक रोगका परामर्शदाता डाक्टर एन्ड्रु युस्टियानोस्कीले गर्न लागेका छन्। त्यो औषधीको चीनमा पनि परीक्षण जारी रहेको बताइएको छ।




सम्बन्धित
Loading...