कावासोतीको साना किसान कृषि सहकारीको छानविन प्रतिवेदन सार्वजनिकः समितिका सदस्यदेखि कर्मचारीको करोडौंको अनियमितता सार्वजनिक (प्रतिवेदनको पूर्ण पाठ सहित)


  • रामकुमार श्रेष्ठ –




नवलपरासी, १३ जेठ । लामो समयको विवाद पछि पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको अग्यौली त्रिभुवनटारमा रहेको साना किसान कृषि सहकारीको छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।
प्रतिवेदनमा समितिका सदस्यदेखि कर्मचारीहरुले गरेको करोडौंको अनियमितता सार्वजनिक भएको छ ।
प्रतिवेदनमा सहकारीका कर्मचारीहरुले ऋण तथा ब्याज असुलीमा सफ्टवयरमा छेडछाड गरेर रकम हिनामिना गरेकोदेखि कर्जा प्रवाह गर्दा शेयर धनी तथा ऋणीको नामको कर्जा आफैले चलाउने, नियमभन्दा बाहिर रहेर कर्जा प्रवाह गर्ने, समितिका सदस्यले कर्मचारीलाई दबाबमा पारेर नियम विपरित रकम चलाउने गरेको पाइएको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार कर्मचारीले सफ्टवयरमा छेडछाड गरेर ५५ रुपैयाँदेखि २४ लाख ६० हजार १ सय ७५ रुपैयाँसम्म घोटाला गरेको देखिएको छ ।
प्रतिवेदनमा सहकारीका व्यवस्थापक बद्रीप्रसाद रिजालबाट ७ लाख ५ हजार ७ सय ३१ रुपैयाँ, सेवानिर्बित कर्मचारी जानुका ढुंगानाबाट ६ लाख ८२ हजार १ सय ६७ रुपैयाँ, लेखा सहायक राजेशकुमार श्रेष्ठबाट २४ लाख ६० हजार एक सय ७५ रुपैयाँ संस्थालाई हानी पुर्याएको उल्लेख गरिएको छ ।
त्यसैगरी हेमन्त ढुंगानाबाट ७१ हजार ३ सय २१ रुपैयाँ, अनन्तकुमार चौवेबाट १४ हजार २ सय ९० रुपैयाँ र तेजेन्द्र महतोबाट १४ हजार ४ सय ८४ रुपैयाँ सहकारीलाई हानी भएको उल्लेख गरिएको छ ।
छानविन समितिका अनुसार यो रकम कर्मचारीले ब्याज असुली गर्दा धेरै रकम लिएर सहकारीको खातामा सफ्टवयर मार्फत कम ब्याज चढाएका कारण यस्तो भएको हो ।
त्यसैगरी सहकारीका सदस्य हेमराज दाहालले लालुपाते सेवा केन्द्र गिरुवारीका इनचार्ज अनुन्तकुमार चौवेलाई दबाब र प्रभावमा पारी ३ वटा चेकमार्फत सहकारीको २२ लाख ९९ हजार रुपैयाँ १६ दिन अपचलन गरेको देखिएको उल्लेख गरिएको छ । उक्त कार्यमा चौवैले आर्थिक निति विपरित कार्य गरेको प्रतिवेदनमा ठहर गरिएको छ ।
त्यसैगरी संस्थाको नियम विपरित शेयर सदस्य तथा ऋणीलाई बढी कर्जा दिएको देखाएर संस्थाका कर्मचारी प्रमुख बद्री रिजाल र लेखा सहायक राजेशकुमार श्रेष्ठले २२ जना ऋणीबाट १ करोड ८ लाख रुपैयाँ दुरुपयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाको शेयर सदस्यलाई कर्जा प्रवाह गर्दा फर्म दर्ता भएकालाई १० लाखसम्म र फर्म दर्ता नभएकालाई ७ लाखसम्म ऋण दिन सकिने प्रावधान विपरित ऋणीलाई नियमानुसार रकम दिने र नियमभन्दा बढी रकम ऋणीको नाममा आफूले चलाएर दुरुपयोग गरेको पाइएको छानविन समितिका सदस्य बसन्त गौतमले बताए ।
त्यसैगरी डण्डा सेवा केन्द्रका इन्चार्ज हेमन्त ढुंगानाले विभिन्न व्यक्तिको नाममा कर्जा देखाई र आफ्नो नाममा स्वयम् झिकेको समेत गरी संस्थाको २४ लाख ६६ हजार रुपैयाँ दुरुपयोग गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्यक्षबाटै ऋणको दुरुपयोग


साना किसान कृषि सहकारीका अध्यक्ष हरिबहादुर बस्नेतले समेत ऋणको दुरुपयोग गरेको छानविन समितिले ठहर गरेको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार अध्यक्षले साना किसान विकास लघुवित्त वित्तिय सस्था लि. इकाइ कार्यालय बुटवलले अध्यक्षको ऋण माग गर्दा ऋण लगेको समयमा ५ प्रतिशत न्यूनतम बचत र खरिद गर्नु पर्ने शेयर नभएको भनि उल्लेख गरिए पनि अध्यक्ष हरिबहादुर बस्नेतले ऋण लिएर गएको उल्लेख गरिएको छ ।
सहकारीको नाम अनुसार जुन उद्देश्यले कर्जा प्रवाह गरिएको हो सोही उद्देश्य अनुसारको फर्म दर्ता हुनु पर्नेमा ब्याज सस्तो तिर्न पाउने लोभमा अध्यक्ष बस्नेतले समूहबाट भैसीपालनको नाममा कर्जा स्वीकृत गराई कृषिको काजजात नराखी राजधानी अफसेट प्रेसको कागजात राखेर कर्जाको दुरुपयोग गरेको पाइएको छ ।
अर्थात अध्यक्षले व्यापारको कागजपत्र राखेर कृषिमा ऋण लिएको देखिएको छ । व्यापारमा ऋण लिंदा १५ प्रतिशत र कृषिमा लिंदा ९ प्रतिशत ब्याज लाग्ने सहकारीमा नियम रहेको छ ।

नियम विपरित एकाघरकै दुई जनामा कर्जा प्रवाह

साना किसान कृषि सहकारीका एकै घरको दुई वा सो भन्दा बढी शेयर सदस्य बन्न पाउने प्रावधान रहे पनि कर्जा प्रवाह गर्दा एक घरका एक जनालाई मात्र कर्जा प्रवाह गर्न पाउने प्रावधान रहेको छ ।
सो विपरित हेमराज दाहालालाई आमा छोराको नाममा गरी २० लाख कर्जा प्रवाह गरेर संस्थाको नियम विपरित कार्य भएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

पशु विमाको रकम पनि दुरुपयोग

किसानहरुले पशु विमाको लागि जम्मा गरेको रकम पनि दुरुपयोग भएको पाइएको छ ।
प्रतिवेदनमा विमाको प्रिमियम रकम ४९ जनाको ७८ वटा पशुको विमाको रकम ७६ हजार ७ सय ७३ रुपैया डेरी सहायक नेत्रप्रसाद तिवारीले २ सय दिनसम्म आफैसँग नगदै राखी छानविनको क्रममा पत्ता लागेपछि जेठ ५ गते भुक्तान गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी पशुविमाको प्रिमियम रकम जम्मा नगरी पशु मृत्यु भई विमा रकम भुक्तान गरेको समेत देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी नेत्र प्रसाद तिवारीले दुध विक्रीको रकम ४ लाख १५ हजार ८ सय ७० रुपैयाँ डेढ महिनासम्म आफैले नगदै राखी अपचलन गरेको पाइएको छ ।

छानविन समितिको प्रतिवेदनको पूर्ण पाठ

 




सम्बन्धित
Loading...