गणतन्त्र दिवसले दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्नेछः मुख्यमन्त्री पोख्रेल

कोभिड—१९ महामारी विरुद्धको संघर्षमा सबै मिलेर अघि बढ्दा नै छिट्टै विजय प्राप्त गर्नेछौं


प्रदेश ५ का मुख्य मन्त्री शकर पोख्रेलले गणतन्त्र दिवसले दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्ने कामना गरेका छन् ।
विहीबार गणतन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा मुख्यमन्त्री पोख्रेलले यस्तो कामना गरेका हुन् ।
उनले गणतन्त्र दिवसको अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा प्रदेश ५ का सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा अपिल समेत गरेका छन् ।
प्रदेशमा समृद्ध प्रदेश खुसी जनताको लक्ष्य बोकेर योजनाबद्ध विकासमा अघि बढेका बताउँदै मुख्य मन्त्री पोख्रेलले बितेका दुई वर्षमा प्रदेश सरकार अघि बढ्नका लागि बलियो आधार खडा भएको दावी समेत गरेका छन् ।
त्यसैगरी मुख्य मन्त्री पोख्रेलले लकडाउनलाई नागरिकले पालना गरेकैले संक्रमणलाई अझैसम्म नियन्त्रणमा राख्न सकिएको बताउँदै कोरोना विरुद्धको संघर्ष नागरिकको चासो र सजगताबाट जित्न सकिने विश्वास व्यक्त गरेका छन् । शुभकामना सन्देशमा राज्यले कोरोना विरुद्ध चालेका कदममा नागरिकले गरेको सहयोग प्रशंसनीय रहेको समेत उल्लेख गर्दै कोभिड—१९ महामारी विरुद्धको संघर्षमा सबै मिलेर अघि बढ्दा नै छिट्टै विजय प्राप्त हुने र, मुलुक लयमा फर्किने बताएका छन् ।







सम्बन्धित
Loading...