काका–भतिजीबीचको अवैध गर्भ फाल्न आउँदा पक्राउ


काका (३७ वर्षीय) र भतिजी (१६ वर्षीय)बीचको यौन सम्बन्धका कारण गर्भ रहन गयो । काका–भतिजीबीचको अवैध सम्बन्धबाट ३० हप्ताजतिको गर्भ फाल्नका लागि भन्दै आफन्तहरु धादिङ, गोरखा र चितवन तीन जिल्ला चहारे ।




धादिङ घर भएका उनीहरु त्यहाँस्थित मेडिकल हलमा पुगे । आफन्तजनकै रहेको ती मेडिकल सञ्चालकले ३० हप्ताको गर्भ फाल्न जोखिम लिएनन् । मेडिकल सञ्चालककै सल्लाहमा आफन्तजन गोरखा पनि गए । त्यहाँ पनि नभएपछि भरतपुर आए ।

सहजै गर्भ फाल्न अस्पतालहरुले नमान्ने भएपछि उनीहरुले तानाबाना बुनिसकेका थिए । यतिसम्म कि बालिकाले जन्माएको बच्चा जिम्मा लिने व्यक्तिसमेत खडा गरिसकिएको थियो । एक महिना पहिला आरोपितले पीडित बालिकालाई लिएर गोरखा गएका थिए । लकडाउन र अन्य कारण देखाई त्यहाँका अस्पतालले गर्भ फाल्न मानेनन् ।




गत हप्ता अवैध गर्भ नै फाल्न भन्दै उनीहरु भरतपुरमा रहेको एक निजी अस्पतालमा आए । अस्पतालले भर्ना ग¥यो । त्यसबीचमा बालिका पक्षसँग अस्पतालका कर्मचारीले कुरा गरे ।

गाउँमा बलात्कार भई गर्भ रहन गएको र कसको भन्ने यकिन नभएपछि गर्भ फाल्न आएको भने । अस्पतालका डाक्टरले युएसजी गरेर हेर्दा झन्डै ३० हप्ताको बच्चा पेटमा देखियो । अस्पतालले गर्भपतन गराउन अस्वीकार ग¥यो र तत्कालै बिरामीलाई डिस्चार्ज गरिदियो ।

एक रात अस्पतालमा भर्ना भई काम हुनेमा ढुक्क रहेका आफन्तजन अस्पतालले डिस्चार्ज गरेपछि अत्तालिए, किनकि दिन घर्कंदै गएको थियो । डिस्चार्जपछि उनीहरु कालिका नगरपालिकास्थित आफन्तको घरमा बस्न गए । धादिङबाट अवैध सम्बन्ध भई गर्भपतन गराउन भरतपुरस्थित एक निजी अस्पतालमा आएको भन्ने सुइँको चितवन प्रहरी प्रमुख नान्तीराज गुरूङले पाए । तत्कालै उनले प्रहरी खटाए ।

सूचना पाएको केही घन्टामै पीडक र पीडित दुवै सँगै आफन्तको घरमा रहेको अवस्थामा पदमपुर–४ बाट पक्राउ भए । पीडित बालिकालाई स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको छ ।

‘घटना भएको जिल्ला धादिङ भएकाले हामीले थप कानुनी कारबाहीका लागि त्यतै पठाएका छौँ’, चितवन प्रहरी प्रमुख एसपी गुरूङले भने, ‘लकडाउनको मौका छोपी आपराधिक घटना गर्न/गराउन खोज्नेहरु हाम्रो निगरानीमा छन् ।’

जस्तोसुकै सङ्कटमा पनि समाजमा शान्ति सुरक्षा कायम गर्नुपर्ने आफूहरुको दायित्व भएअनुसार हरेक घटनाको सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको उनले बताए । नेपालमा कानुनले हाडनाताबीचको यौन सम्बन्धलाई कसुर मानेको छ ।

धादिङमा मुद्दा दर्ता

एक १६ वर्षीया बालिकालाई आफ्नै काका नाता पर्ने ३७ वर्षीय व्यक्तिले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङमा जेठ १२ गते जाहेरी दर्ता गरिएको छ । सहयात्री समाजको तर्फबाट पीडितलाई मनोसामाजिक सहयोगसँगै जाहेरी दर्ता गराइएको हो ।

०७६ कात्तिक पहिलो हप्ता घरमै बालिकालाई बलात्कार गरेको र पटकपटक बलात्कार गर्दै ज्यान मार्ने धम्की दिएका कारण बालिकाले घटना बाहिर ल्याउन नसकेको उजुरीमा उल्लेख छ ।

पीडित बालिकाको धादिङ अस्पताल धादिङमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपित जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।




सम्बन्धित
Loading...