कोरोना कोषको रकम खर्च गर्न थालियो

137




प्रधानमन्त्री दैवी प्रकोप कोषअन्तर्गत कोरोना नियन्त्रणका लागि जम्मा भएको कोरोना कोषको रकम वितरण सुरु गरिएको छ । महालेखा नियन्त्रककाे कार्यालयले २३ जिल्लाका अस्पताल तथा जिल्ला प्रशासन कार्यालयलाई ५ करोड १७ लाख ७९ हजार रुपैयाँ रकम वितरण गरेको छ ।

पहिलो चरणमा इलाम, झापा, मोरङ, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बैतडी, दार्जुला, तनहुँ, चितवन, मकवानपुर, डडेल्धुरा र काठमाडौं जिल्लामा रकम पठाइएको छ ।

वितरण गरिएको रकममा सबैभन्दा धेरै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् काठमाडौंलाई १ करोड ३९ लाख ७९ हजार रुपैयाँ रकम दिइएको छ । त्यस्तै, मोरङको कोसी अस्पताल विराटनगरलाई १ करोड, सप्तरीको गजेन्द्रनरायण सिंह अस्पताललाई ६८ करोड, डडेल्धुरा अस्पताललाई ६० लाख, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँलाई ३५ लाख र भरतपुर अस्पताललाई २० लाख  रुपैयाँ दिइएको छ ।

बाँकी अन्य अस्पताल तथा जिल्ला प्रशासन कार्यालयलाई ५ लाख रुपैयाँको दरले रकम पठाइएको महालेखा नियन्त्रककाे कार्यालयले जनाएको छ ।

पहिलो चरणमा अति आवश्यक क्षेत्रमा रकम पठाइएको र दोस्रो चरणमा कुनकुन क्षेत्र पर्छन् भन्ने अध्ययन भइरहेको महालेखा नियन्त्रककाे कार्यालयका प्रवक्ता भूपाल बरालले बताए ।

उनले भने, ‘हामीले पहिलो चरणमा कोरोनाको जोखिमयुक्त स्थानका लागि जिल्ला प्रशासन कार्यालय र अस्पतालहरूलाई कोरोना रकम पठायौँ । अब दोस्रो चरणका लागि काम हुँदै छ ।’

वाणिज्य बैंकमा रहेको कोरोना कोषको खातामा २ महिनाको अवधिमा २ अर्ब ३० करोड ५ लाख ६८ हजार २ सय ५४ रुपैँया ७३ पैसा रकम जम्मा भइसकेको छ भने जम्मा गर्ने क्रम पनि जारी नै छ ।

You might also like
Loading...