चितवनमा कोरोनाबाट पहिलो मृत्यु, नेपाली सेनाद्वारा अन्त्येष्टि

187




पत्रपत्रिका/चितवन पोष्टबाट –

भरतपुर । चितवनमा पनि कोरोना भाइरसको संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । भरतपुर ११ निवासी ती वृद्धको मंगलबार बिहान ७ बजे भरतपुर अस्पतालको कोरोना आइसियू बेडमा उपचारको क्रममा निधन भएको हो ।

संक्रमित वृद्धको निधन भएको ६ घन्टापछि नेपाल आर्मीको कालीबहादुर गण भरतपुर, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासनको संयुक्त टोलीले पीडित परिवारको समन्वयमा भरतपुर अस्पतालबाट शव उठाएको थियो । कालीबहादुर गणका सेनाले नै देवघाट जाने सडकछेउको जंगलमा अत्येष्टि गरेका थिए । परिवारको सल्लाहमा शवलाई खाल्डो खनेर गाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

संक्रमित वृद्ध गत शुक्रबार नारायणी सामुदायिक अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार सुगर र प्रेसरका रोगी वृद्ध गएकै दिन नारायणी सामुदायिकको आइसियूमा बसेका थिए । प्रमुख तिवारीले भने, ‘शुक्रबार आइसियूमा बसे, सोमबार दिउँसो कोरोना संक्रमित पुष्टि भयो ।’

प्रमुख तिवारीका अनुसार संक्रमण पुष्टि हुनासाथ नारायणी सामुदायिकले बिरामीलाई भरतपुर अस्पताल रिफर गरेको हो । ‘नारायणी सामुदायिकले संक्रमित पुष्टि भएको खबर पाउनसाथ सोमबार साँझ भरतपुर अस्पताल पठायो, मंगलबार बिहान मृत्यु भयो ।’

प्रमुख तिवारी नारायणी सामुदायिकले उपचार गरेर जस लिने बेला अपजस व्यहोरेको बताउँछन् । उनी भन्छन्, ‘त्यतिका दिन उपचार गरेको थियो, डाक्टरसमेत संक्रमित भए, संक्रमितको पनि निजीले उपचार गरेर देखायौँ भनेर जस लिने बेला अन्तिममा बिरामी अन्त पठाएर नारायणी सामुदायिकले अपसज बेहोर्न प¥यो ।’

उनका अनुसार नारायणी सामुदायिकले आफ्नै आइसियूमा संक्रमण नफैलने गरेर सुरक्षित तरिकाले वृद्धको उपचार गरेको भए ठूलो ‘क्रेज’ पाउने थियो, अन्तिममा अस्पताल जस लिन चुक्यो ।

निजी तथा सामुदायिक अस्पतालहरुको संस्था अफिन चितवनले कोरोना संक्रमितको निजी अस्पतालले उपचार गर्नै नपाउने दाबी गरेको छ । संस्थाका सचिव विक्रम अधिकारीले नेपाल सरकारको कोभिड निर्देशिकाअनुसार कोरोना संक्रमितको पुष्टि भएपछि नेपाल सरकारले तोकेको अस्पतालमा लैजाने कुरा उल्लेख भएको बताए ।

‘कोरोना संक्रमितको पुष्टि भएपछि चाहेर पनि निजी अस्पतालले उपचार गर्न पाउँदैनन्, सरकारको निर्देशनअनुसार कोरोना संक्रमितको उपचार सरकारले तोकेको अस्पतालमै गर्नुपर्छ ।

चितवनमा कोरोना संक्रमितको उपचार गर्ने अस्पताल भरतपुर अस्पताल नै हो, जहाँ कोरोनाका बिरामी राख्ने भनेर १० बेडको आइसियू बनाइएको छ’ अफिनका सचिव अधिकारीले भने, ‘संक्रमितको उपचार गर्ने भनेर नै त्यहीअनुसार सुविधा, साधनस्रोत दिएर भरतपुर अस्पतालमा तयार पारिएको छ, संक्रमितलाई त्यहाँ नलगेर कहाँ लैजाने ? समन्वय गरेर नै संक्रमितलाई भरतपुर अस्पताल लगिएको हो ।’ उनले भरतपुर अस्पतालको स्वीकृत लिएर संक्रमितलाई त्यहाँ पठाइएको बताए ।

उनले भने, ‘भरतपुर अस्पतालको मेसुसँग कुरा भएको हो, सम्भव भएसम्म त्यहीँ राख्नु नत्र ल्याउनु भन्नुभयो, सम्भव भएन लगियो, भोलि अन्य निजी अस्पतालमा पनि कोरोना संक्रमण भेटियो भने लाने भरतपुर अस्पताल नै हो, किनभने त्यहाँ सरकारले पिपिईदेखि सम्पूर्ण स्रोत, साधन र जनशक्ति दिएको छ, निजीमा कोरोनाको उपचारको लागि स्रोतसाधन पुग्दैन ।’

भरतपुर अस्पतालले कोरोना संक्रमितको बिरामी ल्याउने क्रममा कुनै समन्वय हुन नसकेको दाबी गरेको छ । ‘सिडिओ साब’ले नै नारायणी सामुदायिकलाई तत्काल बिरामी नलैजान भन्नुभएको थियो, त्यति भन्दाभन्दै संक्रमितलाई अस्पताल ल्याइएको छ, अस्पतालका मेसुसाव, अध्यक्षले पनि समन्वय नभई बिरामी ल्याइयो भन्नुभएको थियो’ भरतपुर अस्पतालका एक व्यक्तिले भने ।

You might also like
Loading...