लकडाउनका कारण ठूला बजारमा तरकारी लैजान नपाउँदा नवलपुरका किसानहरु मारमा


नवलपरासी, ४ असार । लकडाउन खुकुलो भए पनि पोखरा, नारायणगढ, बुटवल जस्ता ठूला बजारहरुमा तरकारी विक्रीका लागि लैजान नपाउँदा पूर्वी नवलपरासीका किसानहरु मारमा परेका छन् ।





पूर्वी नवलपरासीमा अहिले काँक्रो, बोडी, करेला, लौका, घिरम्ला, टमाटर, भेन्डी, फर्सी, चिचिण्डा लगायतका तरकारीहरु उत्पादन भएका छन् । किसानको बारीमा तयारी अवस्थामा रहेका तरकारीहरु बुटवल, काठमाडौं, पोखरा, नारायणगढ जस्ता ठूला बजारमा लैजान नपाउँदा तरकारी बारीमा कुहिएर खेर गएका छन् ।
यहाँका व्यवसायिक तरकारी किसानहरुले प्रति व्यक्ति १ विगाहादेखि १० विगाहासम्ममा तरकारी खेती गरेका छन् ।
कावासोती १३ का किसान सोमबहादुर विश्वकर्माले अहिले जग्गा भाडामा लिएर साढे २ विगाहा क्षेत्रफलमा घिरम्ला, बोडी, लौका, फर्सी, करेला, चिचिण्डा लगायतका तरकारी लगाएका छन् । उनले ५ लाख बढी खेती गर्नमै लगानी गरेको भए पनि विक्री नगर्न नपाउँदा बारीमै कुहिएर गएको बताए । उनले एक सिजनमै लगानी कटाएर दुई÷चार लाख आम्दानी हुने अपेक्षा गरेको भए पनि लकडाउनका कारण लगानी समेत डुबेको बताए ।


आफू ३÷४ दिन साइकलमै बोकेर गाउँघर तिर बेच्न हिडे पनि गाउँमा खासै विक्री नहुने र आफ्नो बारीमा लगाएका तरकार एक्लै बेचेर नसकिने देखिएपछि साइकलमा बेच्न हिड्न समेत छाडेको बताए ।
त्यसैगरी कावासोती १३ कै किसान पदमबहादुर श्रेष्ठले पनि १० कठ्ठा भन्दा बढी क्षेत्रमा करेला, लौका लगायतका तरकारी खेती गरेका छन् । उनले पनि लकडाउनका कारण आफ्नो डेढ दुई लाख रुपैयाँ नोक्सान भएको सुनाए । उनले यस पटकको तरकारी खेतीबाट अर्को पटकलाई विउ जोगाएर राख्ने काम बाहेक अन्य हुन नसकेको बताए ।
नवलपुरमा ग्रामिण क्षेत्रमा समेत गरी ३ सयको हाराहारीमा व्यवसायिक तरकारी किसानहरु छन् । उनीहरु सबैले लकडाउन कारण तरकारी विक्री गर्न नपाउँदा लाखौं नोक्सानी वेहोर्नु परेको बताएका छन् । नेपालमै उत्पादित तरकारीले बजार नपाउनु र भारतबाट आएका तरकारीहरु भने निर्वाध रुपमा नेपालका ठूला बजारहरुमा प्रवेश पाउनुले नेपाली किसानहरु मारमा परेका हुन् ।







सम्बन्धित
Loading...