राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा भारतका राजपुत नआउने

134




नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका लालचन्द राजपुत नआउने भएका छन्।

नेपाल आउने चर्चा भएका राजपुत हाल जिम्बावेको प्रशिक्षक छन्। जिम्बावेसँग सन् २०२१ सम्मका लागि गरिएको सम्झौतामा अडिग रहेको राजपुतले बताएपछि उनी नेपाल आउने सम्भावना हाललाई टरेको हो।

‘जिम्बावे क्रिकेटसँग सेप्टेम्बर २०२१ सम्मको सम्झौतामा अडिग रहेको लालचन्द राजपुतले बताएका छन्’ जिम्बावे क्रिकेटले लेखेको छ,’यसअघि उनी अन्त कतै जाने भनेर मिडियाले अनुमान लगाएका थिए।’

राजपुत हाल भारतमा छन्। उनको उपस्थिति बिना जिम्बावेका खेलाडीले अभ्यास गरिरहेका छन्।

यसअघि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सहमतीमा काम भए ५८ वर्षीय राजपुत निकट भविष्यमा नेपाली क्रिकेट टिमका प्रशिक्षक नियुक्त हुने दाबी गरेका थिए।

लकडाउनअघि भारत गएर राजपुतसँग कुराकानी गरेको र कुराकानीका क्रममा राजपुत सकारात्मक देखिएको चन्दको दाबी थियो।

उनी अगस्ट २०१८ मा जिम्बावेको प्रशिक्षक नियुक्त भएका थिए।

भारतका पूर्वअन्तर्राष्ट्रिय खेलाडी राजपुतले सन् १९८५ देखि १९८७ सम्ममा दुई टेस्ट र चार एकदिवसीय खेल खेलेका थिए।

सन् २०१६ मा उनले अफगानिस्तानको प्रशिक्षण सम्हाले। उनले त्यतिबेला पाकिस्तानका इन्जमाम उलहकलाई बिस्थापित गरेका थिए।

२०१८ मे मा उनी जिम्बावेको अन्तरिम प्रशिक्षक बनेका थिए। तीन महिनापछि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको थियो।

तत्काललाई नयाँ प्रशिक्षक नआउने भएपछि नेपाली टिमको प्रशिक्षण राष्ट्रिय खेलुकद परिषद्का प्रमुख प्रशिक्षक जगत टमटाले सम्हाल्नेछन्।

टमटाअघि नेपाली टिमको प्रशिक्षक भारतकै उमेश पटवाल थिए। पटवालले गत माघमा राजीनामा दिएका थिए।

मासिक ७ हजार डलर तलब पाउने पटवालसँग २०१९ जुन देखि २०२० को जुन १० सम्म नेपाली टिम हेर्ने सम्झौता थियो। यो तलबमा कर लाग्ने भएपछि पटवाल असन्तुष्ट थिए। त्यसैले पटवालले सम्झौता सकिनुअघि नै राजीनामा दिएका थिए।

पटवालअघि नेपाली टिमको प्रशिक्षक टमटाले हेरेका थिए। टमटाकै नेतृत्वमा नेपालले एकदिवसीय मान्यता पाएको थियो। श्रीलंकन मूलका क्यानेडियन प्रशिक्षक पुबुदु दसानायकेले छाडेपछि टमटाले तीन वर्ष नेपाली टिमको नेतृत्व गर्ने अवसर पाएका थिए।

You might also like
Loading...