चलचित्र क्षेत्रमा उकुसमुकुस : फिल्मी गतिविधि अनिश्चित, हल सञ्चालकलाई घाटैघाटा


कोरोना भाइरस (कोभिड –१९)को त्रास संसारभर दिन प्रतिदिन बढ्दो छ । विश्वमै महामारीको रुपमा फैलिएको यो भाइरसले नेपालका पनि ७६ जिल्लामा असर गरिसकेको छ ।




कोरोनाभाइरस नेपालमा गत चैत्रबाट देखिएको थियो । नेपालका कोरोना देखिनुपूर्व नै संक्रमण रोकथामका लागि सरकारले गत फागुनबाटै विभिन्न मेला, महोत्सव, पार्टी, चलचित्र घरलगायत भीडभाड हुने कार्यक्रम नगर्न, नगराउन निर्देशन समेत जारी गरेको थियो ।

सरकारको यो निर्देशनले फिल्म प्रदर्शनमा पूर्ण असर गरे पनि छायाँकन, सम्पादन लगायतका केही गतिबिधि भने सुस्त गतिमा चल्दै थियो ।




सरकारले गत चैत ११ देखि देशभर पूर्ण रुपमा लकडाउन गरेसँगै फिल्म क्षेत्रका छायाँकनदेखि रिलिजसम्म सबै गतिविधि ठप्प भए । जसका कारण फिल्म क्षेत्रले ठूलो घाटा व्यहोर्नु परेको छ ।

कोरोनाको कहरबाट सिर्जित अवस्थाको शिकार निर्माता, चलचित्र घर संचालकलाई मात्र नभएर यसक्षेत्रका सबैमा पर्यो । यहाँसम्मकि फिल्म क्षेत्रमा आवद्ध धेरै जना बेरोजगारसमेत बने ।

सरकारले १ असारदेखि लकडाउन केही खुकुलो बनाउदै  कतिपय ब्यवसाय संचालनका लागि अनुमति दिएको छ । सरकारले पहिलो चरणमा संचालनमा ल्याएको ब्यवसायमा फिल्म क्षेत्र भने पर्न सकेन ।

सरकारको पहिलो प्रथामिकतामा नपरेको कारण अहिले नै फिल्म क्षेत्रका सबै गतिविधि सञ्चालन हुने अवस्था छैन । तर, पनि फिल्मकर्मी भने जुर्मुराउन थालेका छन् । सरकारले सञ्चालनमा ल्याएका अन्य ब्यवसाय जस्तै यो पनि सुचारु हुनुपर्ने माग गर्दै उनीहरु बिस्तारै काममा फर्किन थालेका छन् ।

धमाधम म्युजिक भिडियो
लकडाउन केही खुकुलो भएसँगै अहिले धमाधम म्युजिक भिडियो, छोटा फिल्म र विज्ञापन चलचित्रको छायाँकन सुरु हुन थालेको छ । यस्ता काममा कलाकारदेखि प्राविधिकसम्म क्रियाशील देख्न सकिन्छ ।

हालै सार्वजनिक ‘ए है माया’बोलको गीतको म्युजिक भिडियो केही दिन अगाडि मात्र सुटिङ भएको हो । पल शाह, सागर लम्साल(बले) र रियाशा दाहाल लगायतको अभिनय रहेको म्युजिक भिडियोका निर्देशक सरोज वली हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शब्द रहेको गीत ‘स्वदेश मै रोजगारी’को म्यूजिक भिडियो पनि केही दिन अघि छायाँकन भयो । नेपाल चलचित्र कलाकार संघले निर्माण गरेको म्युजिक भिडियोको निर्देशक मोहन निरौला हुन् ।

राजधानीमै छायाँकन भएको भिडियोमा मोहन निरौला, रविन्द्र खड्का, पवित्रा आचार्य, रामेश्वर बुर्लाकोटी, प्रकृति केसी, रमेश पौडेल, उद्धब भट्टराई, गोपाल ढकाल, जीवन थापा, सुनिल कटुवाललगायत दर्जन बढी कलाकारको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोका लागि थोरै मानिस भए पनि पुग्ने भएकाले छायाँकन सम्भव भएको निर्देशन मोहन निरौलाले बताए । ‘कसैलाई अप्ठ्यारो नहोस् भनेर बस्ती कम भएको आफ्नै गाउँमा यसको छायाँकन गरेको हो,’ निर्देशक निरौलाले भने, ‘कमर्सियल फिल्मको काम गर्न भने अहिले सम्भव छैन ।’

त्यस्तै, कलाकार निर्देशक निर्मल शर्मा पनि अहिले छोटा फिल्म, विज्ञापन चलचित्र छायाँकन गरिरहेका छन् । सुरक्षित तरवरबाट आफुले काम गरिरहेको उनले बताए । ‘अहिले खुलेका अफिस, बैंकहरु जहाँ जति पनि छन् । ती सबैमा भिडभाड देख्न सकिन्छ । उनीहरुले मास्क, स्यानिटाइजर लगायत सुरक्षाका सामान प्रयोग गरेर काम गरिरहेका छन्,’ शर्माले भने, ‘सीमित मानिससँग सुरक्षा अपनाएर काम गरिरहेका छौँ ।’
कलाकार, प्राविधिकलगायत सबैको दैनिक जीवन चलाउन पनि काम गर्नुपर्ने अवस्था आइलागेको शर्माको भनाइ छ ।

शर्माले झै अहिले थुप्रै निर्माता, निर्देशक, कलाकार सामाजिक दुरी कायम राख्दै म्युजिक भिडियो तथा छोटा फिल्मका काम गरिरहेका छन् ।

फिल्म सुटिङ अनिश्चित 
लकडाउन केही खुकुलो भएसँगै म्युजिक भिडियो, छोटा फिल्म र विज्ञापन चलचित्रको काम सुरु भए पनि ठुलापर्दाको चलचित्रका काम भने सुचारु हुन सकेको छैन । नयाँ त परै जाओस्, लकडाउनले रोकिएका ‘ए मेरो हजुर ३’, ‘परदेशी २,’ ‘२ नम्बरी’लगायत फिल्मको समेत सुटिङ सुरु हुन सकेको छैन ।

‘लकडाउन खुलिहाले पनि चलचित्रको छायाँकन सुरु गरिहाल्ने अवस्था नभएको चलचित्र ‘२ नम्बरी’का निर्देशक दीपेन्द्र लामाले बताए ।

‘अहिले म्युजिक भिडियो, छोटा चलचित्रको सुटिङ हुन थालेका छन् । त्यो सम्भव पनि छ । त्यसका लागि ८÷१० जनाको युनिटले पुग्छ,’ निर्देशक लामाले भने, ‘चलचित्रको सुटिङ भने अहिले सम्भव छैन । किनभने यसका लागि कम्तीमा पनि ५०/६० जनाले काम गर्नुपर्छ ।’

फिल्म विभिन्न लोकेशनमा र अर्काको घरमा गएर गर्नुपर्ने भएकोले अहिले सुटिङ सम्भव नभएको लामाको भनाइ छ ।
‘अहिले पनि कोरोनाको त्रास कायमै छ । एक अर्कालाई देखेर डराउने अवस्थामा काम कसरी गर्न सकिन्छ र ?,’ लामाले थपे, ‘लकडाउन पुरै खोले पनि एक÷दुई महिना अझै कुर्नैपर्ने हुन्छ ।’

निर्देशक लामाको जस्तै विचार निर्देशक मोहन निरौलाको  पनि छ । म्युजिक भिडियो छायाँकन गरिरहेका निरौला फिल्म छायाँकन गर्ने माहोल भने अहिले नभएको बताउँछन् ।
निर्देशक मिलन चाम्स अहिले फिल्म छायाँकनका लागि लोकेसन हेर्न उपत्यका बाहिर छन् । केही समयपछि नयाँ फिल्मको काम सुरु गर्ने उद्देश्यले उनी लोकेसन हन्टिङमा काठमाडौँबाट बाहिर निस्किएका हुन् । उनी पनि तत्कालै फिल्म सुटिङमा निस्कने वातावरण नभएको बताउँछन् ।

‘नेपाली चलचित्र क्षेत्रको आत्मबल बढाउने उद्देश्यले सुरक्षा सावधानी अपनाएर छिट्टै काममा फर्किने सोच मैले बनाएको छु,’ चाम्सले भने, ‘अहिलेको अवस्थामा कोही न कोहीले कामको सुरुवात नगरे फिल्मको काम सुरु हुनै सक्दैन ।’ अहिले तयारी गरिरहेको फिल्मको एक महिनापछि छायाँकन सुरु गर्ने उनले सुनाए ।

रिलिज हुनै सक्दैन  
सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु २’, अर्जुन कुमारको ‘चपली हाइट ३’, पत्रकार फुलमान वलको ‘नीरफूल’, सन्तोष सेनको ‘प्रेम गीत –३’, सन्तोष पन्तको ‘हिजोआजका कुरा’लगायत थुप्रै फिल्म लकडाउन अगाडि रिलिजको तयारीमा थिए ।

फाइल तस्बिर

जसका लागि कतिपय फिल्मले प्रचारप्रसारमा मोटै रकम खर्च गरिसकेका थिए । त्यो सबै कोरोनाको कारण खेर गएको छ ।

लकडाउन खुकुलो भए पनि चलचित्र घर सञ्चालनमा नआएका कारण फिल्म रिलिज अझै हुन सकेको छैन ।

‘अहिले चलचित्र घर खुलेको छैन । खुले पनि दर्शक तुरुन्तै आउने अवस्था छैन,’ फिल्म ‘प्रेम गीत ३’का निर्माता समेत रहेका निर्देशक सन्तोष सेनले भने, ‘यो अवस्थामा फिल्मको रिलिजका लागि केही समय कुर्नुपर्ने देखिन्छ ।’
अहिले चलचित्र घर खुले पनि दर्शक नआउने डरले कुनै पनि निर्माताले फिल्म रिलिजका लागि आँट गर्न नसक्ने सेनको भनाइ छ ।

कोरोनाको कारण सेनको फिल्म ‘प्रेमगीत ३’को रिलिज पनि स्थगित भएको थियो । गत चैत्रमा रिलिज मिति तोकिएको फिल्म आगामी चैत्र रिलिज हुने भएको छ ।

कोरोनाको कारण यसको सम्पादन समेत पुरा हुन सकेको थिएन । केही दिनमा सम्पादनको काम सुरु हुने सेनले जानकारी दिए ।

चलचित्रको रिलिज अझै अन्योल 
चलचित्र क्षेत्रको सबै पाटो केलाउने हो भने अहिले सबैभन्दा मारमा चलचित्र घरहरु परेका छन् । सरकारले मानिसहरुको भिडभाड रहने क्षेत्र भन्दै लकडाउन हुनु केही साता अगाडिनै बन्द गरेको चलचित्र घर छिट्टै खुल्ने अवस्था देखिएको छैन ।

देशभर करिव २ सयभन्दा बढी चलचित्र घर छन् । अहिले ती सबै बन्द अवस्थामा छन् । यीमध्ये कतिपय चलचित्र घर बैंकको ऋणबाट सञ्चालनमा आएका छन् भने कतिपय सञ्चालकले ब्यक्तिगत सापटी तथा आफ्नो अन्य सम्पति बेचेर पनि चलाएका छन् ।

उक्त ऋण र व्याजको चपेटाले चलचित्र घरका सञ्चालकलाई एकातिर पिरोलेको त छ नै, अर्कातिर कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्थामा समेत उनीहरु पुगेका छन् ।

यस्तो अवस्थामा पनि सरकारले बजेट मार्फत आफूहरुलाई सम्बोधन नगरेको भन्दै उनीहरु आन्दोलित भएका छन् ।

 

सरकारले चलचित्र घरलाई प्रथामिकतामा राखेर केही राहत प्याकेजको व्यवस्था गर्नुपर्ने, चलचित्र घर सञ्चालन गर्न दिनुपर्ने उनीहरुको माग छ ।

‘अमेरिका, फ्रान्स, रसिया, युरोपका केही राष्ट्रमा अहिले चलचित्र घरहरु खुल्न थालेका छन्,’ निर्माता तथा हल ब्यवसायी अशोक शर्माले भने, ‘हाम्रो देशमा पनि एउटा मोडालिटी बनाएर गरेर चलचित्र घर खोल्नुपर्छ ।’

केही दिन अगाडि चलचित्र क्षेत्र खोल्ने मोडालिटीको विषयमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल समेत भएको बताएका शर्माले सल्लाह बमोजिम तयार पारिएको मोडालिटी चलचित्र विकास बोर्डमार्फत कार्यान्वयनका लागि बुझाएको जानकारी दिए ।

‘सुरक्षित तरिकाले अब चलचित्र घर सञ्चालनमा ल्याउनु पर्छ भन्ने हाम्रो माग हो,’ चलचित्र प्रदर्शकहरुको संस्था नेपाल चलचित्र संघका महासचिव समेत रहेका शर्माले अगाडि भने, ‘चलचित्र घरको स्थिति अहिले एकदमै गाह्रो भएको छ । कर्मचारीलाई तलब दिन नसक्ने, बैंकको ऋण, ब्याज तिर्न नसक्ने अवस्थामा छन् ।’

चलचित्र भवन अहिले खुलाए पनि तुरुन्तै दर्शक नआउने र त्यसका लागि समय लाग्ने बताएका शर्माले सामाजिक दूरी कायम राखेर हल सञ्चालन गर्न दिनुपर्ने माग राखे ।

‘कोरोना भनेको धेरै समयसम्म रहन सक्छ । सधैँ यसरी हुँदैन,’ उनले भने, ‘अहिलेको अवस्था लामो समय रहिरहने हो भने आर्थिक अभावका कारण विभिन्न समस्या निम्तिन सक्छ ।’

चलचित्र घर खोल्नुपर्नेमा क्युक्वेष्टका सिइओ रोशन एडिजा पनि जोड दिन्छन् । ‘हामी सामाजिक दुरी कायम राख्दै सुरक्षा अपनाएर चलचित्र घर सञ्चालन गर्न तयार छौँ,’ रोशनले भने, ‘अन्य ब्यवसाय झै सुरक्षित तवरले चलचित्रको ब्यवसाय पनि गर्न पाउनु पर्छ ।’




सम्बन्धित
Loading...