ट्वीटर छाड्दै सेलिब्रेटी


मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यपछि उनलाई आत्महत्या गर्न बाध्य बनाएको बन्दै बलिउडका थुप्रै कलाकारले यतिबेला सामाजिक सञ्जाल ट्वीटरमा गाली खेप्नुपरेको छ । पुस्तौनी सिनेमासँग आबद्ध रहेको कलाकारहरूले फिल्ममा स्थापित हुँदै गरेका अन्य परिवारका कलाकारलाई गर्ने व्यवहारको विरोधस्वरूप उनीहरूले ट्वीटरमा गाली खानुपरेको छ ।




पछिल्लो समय ट्वीटरमा गालीको सिकार बलिउड अभिनेता सलमान खान, अभिनेत्री आलिया भट्ट, सोनम कपुर, सोनाक्षी सिन्हा, निर्देशक करण जौहरलगायत थुप्रै कलाकार रहेका छन् । दर्शकहरूले यी कलाकारलाई एकातर्फ ट्वीटरको एकाउन्टमा गाली गरिरहेका छन् भने अर्कोतर्फ अनफलो पनि गरिरहेका छन् । यी कलाकारले सुशान्तसिंह राजपूतसँग फिल्म खेल्न नमानेको भन्दै दर्शकले ट्वीटरलगायत अन्य सामाजिक सञ्जालमा आफ्नो रिस पोखेका छन् ।




दर्शकको निरन्तर नकारात्मक टिप्पणी आएपछि अभिनेत्री सोनाक्षी सिन्हाले त आफ्नो ट्वीटर एकाउन्ट नै हाललाई बन्द गरेकी छन् । सोनाक्षीले ट्वीटर एकाउन्ट बन्द गर्नुअघि यस्तो ट्वीट गरेकी थिइन्, ‘नकारात्मक कुराबाट आफूलाई टाढा राख्नका लागि सबैभन्दा पहिलो फैसला नै ट्वीटरबाट टाढा रहने निर्णय गरेकी छु । म आफ्नो ट्वीटर एकाउन्ट हाललाई निस्क्रिय बनाउँदै छु, बाइ गाइज ।’

यी अभिनेत्रीले फेरि यस्तो लेखेर उनले ट्वीटर एकाउन्ट निस्क्रिय गरिन्, ‘आगो लागोस् बस्तीमा, म त आफ्नै मस्तीमा । बाइ ट्वीटर ।’ अभिनेत्री सोनाक्षीले आफ्ना प्रिय प्रशंसकले चाहेको खन्डमा आफूलाई जसरी जुनसुकै सामाजिक सञ्जालबाट भेट्न सक्ने र त्यसका लागि ट्वीटर नै नचाहिने पनि बताएकी छन् । ट्वीटरमा आफूमाथि लगाइएको अनावश्यक आरोप र गाली सहने पक्षमा आफू नरहेको पनि उनको कथन छ । आफूलाई माया गर्ने दर्शकलाई उनको इन्स्टाग्राममा फलो गर्न सक्ने बताएकी छन् ।

दिवंगत बलिउड अभिनेता सुशान्तसिंहलाई नयाँ फिल्म ‘पानी’बाट हटाएर सबैभन्दा बढी हतोत्साहितसँगै आत्महत्या गर्न बाध्य तुल्याएको भन्दै ट्वीटरमा सबैभन्दा बढी गाली करन जौहरले खानुप¥यो । यही गालीका कारण निर्देशक करण जौहरले आफ्नो ट्वीटर खाताबाट आठ जना व्यक्तिबाहेक बाँकी सबैलाई अनफलो गरेका छन् । आफूलाई निरन्तर गाली आएपछि उनले आजित भएर नियमित प्रयोग गर्दै आएको फोन नम्बरसमेत परिवर्तन गरेका छन् ।

बलिउड अभिनेत्री कंगना रनौतदेखि आमदर्शकसम्मको टिप्पणी र गाली निर्देशक जौहरले सुन्नुपरेको छ । सोही कारण उनले सबैलाई ट्वीटरबाट अनफलो गर्दै आठ जनालाई मात्र फलो गरेका छन् । उनले अक्षयकुमार, शाहरुख खान, अमिताभ बच्चन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित जम्मा आठ जनालाई मात्र फलो गरेका हुन् । तथापि, उनीमाथि अन्य ट्वीटर एकाउन्टबाट गाली गर्ने क्रम रोकिएको छैन ।

यस्तै, अभिनेत्री सोनम कपुरले सुशान्तसिंह राजपूतको आत्महत्यापछि लेखेको एउटा ट्वीटका कारण दर्शकबाट गाली खानुपरेको छ । उनलाई धेरैले अनफलो गरेका छन् । निरन्तर आफूले गाली खानुपरेपछि उनी तीन दिनयता ट्वीटमा निस्क्रिय देखिएकी छन् । निरन्तर गालीसँगै आफूलाई ट्रोल बनाएपछि यी अभिनेत्रीले ट्वीटरलाई अहिले बेवास्ता गरेकी छन् । अरूले जेजस्तो गाली गरे पनि बुबाको प्रेरणाले आफू फिल्ममा आएको भन्ने कुरा गर्वका साथ भन्न नछाड्ने पनि यी अभिनेत्रीले बताएकी छन् ।

बलिउडमा हाबी भएको परिवारवादविरुद्ध आक्रोशित दर्शकले अर्की अभिनेत्री आलिया भट्टलाई पनि निरन्तर गाली गरेका छन् । आलिया पनि करण जौहरको गुटकी अभिनेत्री एवं निर्देशक महेश भट्टकी छोरी हुन् । आलियाहरूको कारणले सुशान्तले अपहेलना सहुन परेको आरोप यी नायिकाले खेप्नुपरेको छ । ५ करोड ८९ लाख फलोअर्सको नजिक पुगेकी आलियालाई केही दिनयता ट्वीटरमा अनफलो गर्नेक्रम ह्वात्तै घटेको छ । उनलाई आजसम्म १५ लाखभन्दा बढीलाई ट्वीटरबाट अनफलो गर्दै आफ्नो एकाउन्टबाट हटाएका छन् । निर्देशक करण जौहरले जस्तै यी अभिनेत्रीले पनि केही दिनबाट ट्वीटरमा निरन्तर गाली खानुपरेको छ । यस्तो गालीबाट दिक्क भएर उनले ट्वीटरसमेत हेर्न छाडेकी छन् ।

यस्तै, अभिनेता सलमान खानलाई पनि परिवारवादको आरोप लगाउँदै उनको ट्वीटरबाट हट्ने दर्शकको संख्या बढेको छ । केही समयअघि मिडियाको प्रश्नमा को सुशान्तसिंह भनेर सलमानले उल्टै प्रश्न उठाएर हाँसो गरेका थिए । त्यही बेलाबाट सुशान्तका फ्यानहरू सलमानसँग आक्रोशित थिए । आफ्ना भाइ, भजिता, ज्वाइँ, भान्जा आदिलाई फिल्म खेलाएको सुशान्तसिंह राजपूतजस्ता होनहार कलाकारलाई चिन्दिनँ भनेर हेला गरेको आरोप अहिले यी अभिनेताले सहनुपरेको छ । यस विषयमा सलमानले कुनै प्रतिक्रिया दिएका छैनन् ।

अभिनय गर्ने कुनै कला नभएको सलमान खानले जबरजस्ती फिल्ममा खेलाएको भन्दै ट्वीटरमा सलमानका ज्वाइँ आयुश शर्मालाई दर्शकले गाली गरिरहे । यस्तो गाली र टिप्पणीबाट दिक्क भएर आयुशले पनि आफ्नो ट्वीटर एकाउन्टलाई अहिले निस्क्रिय तुल्याएका छन् ।

करण जौहर गुटका निर्देशक शशांक खेतानले पनि दर्शकको निरन्तर टिप्पणी र गाली सहन नसकेर आफ्नो ट्वीटर एकाउन्ट हाललाई रद्द गरेका छन् । ट्वीटर नकारात्मक विचार राख्ने र आरोप लगाएर रिस पोख्ने ठाउँ भएको प्रतिक्रिया दिँदै उनले आफ्नो ट्वीटर एकाउन्ट निस्क्रिय तुल्याएका हुन् । आफ्नो परिवारको प्रेरणाले फिल्ममा आएका अरू पनि थुप्रै बलिउड सिनेकर्मीहरू छन् । जसलाई परिवारवादको आरोपमा दर्शकले अहिले गाली गरेपछि उनीहरू पनि ट्वीटरमा निस्क्रियजस्तै देखिन थालेका छन् ।




सम्बन्धित
Loading...