टुटिल्काे ( लघुकथा)……………………


                                                                      डा. श्याम न्याैपाने




” जुन घरमा महिलाले मानसम्मान एवं इज्जत पाउँछिन् त्यस घरकाे वातावरण नै भिन्न हुन्छ । त्यस्तो घरमा लक्ष्मीकाे वास हुन्छ । वृद्धवृद्धाले सम्मान, सन्ततिले प्रेम र परिवारका सबै सदस्यले सद्भाव प्राप्त गरेका हुन्छन् । घरपरिवारमा शुभ लक्षणहरू देखिन्छन् । यसैले हाम्रा शास्त्रले पनि यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता ( जहाँ नारीकाे पूजा हुन्छ, त्यहाँ देवताकाे वास हुन्छ ) भनेकाे छ । यतिमात्र हाेइन, हाम्राे धर्मसंस्कृतिपरम्परा पनि नारी सम्मानकाे पक्षपाती छ । हामी महिलाकाे सम्मान गर्ने पूर्वीय वैदिक सनातन धर्मावलम्बी हाैं । हामी सीताराम भन्छाैं, राधेश्याम भन्छाैं , उमामहेश्वर भन्छाैं । महिलाकाे सम्मान गर्नु, उनीहरूलाई अगाडि सार्नु हाम्रो परम्परा हाे, रीतिरिवाज हाे । अाधा अाकाश ढाकेका महिलालाई हार्दिकतापूर्वक सम्मान गरेर इज्यत दिऊँ” भाषणकाे अन्त्य गर्दै भन्याे ।
मञ्च अगाडिको चाैर महिलाहरूले भरिभराउ थियाे । उसकाे भाषणकाे अन्त्यसँगै श्राेताहरूले परर्र ताली बजाए ।

हाम्रो नेता – जिन्दावाद
महिला स्वतन्त्रता – पाउनै पर्छ
नाराले सभास्थल गुञ्जायमान भाे ।
कार्यक्रम समापन पश्चात् उसलाई खानपिनकाे लागि लगियाे । स्थानीय नेतृत्ववर्ग र पछुवाहरू लिएर ऊ हाेटलमा गयाे ।
खानपिनपश्चात् अाधा राततिर ऊ घरतिर हानियाे ।
घर पुग्नासाथ उसले श्रीमतीलाई ढाेका खाेल्न चिच्यायाे । तर ढाेका खुलेन । “एक दिन हाेइन, दुई दिन हाेइन सधैंभरि कुकुरकाे मुत धाेकेर अाधारातमा अाउनुपर्छ ” श्रीमतीले मनमनै साेच्दै ढाेका नखाेल्ने अठाेट गरिन् ।
उसले ढाेका खाेल्न कर गर्दै फेरि चिच्यायाे, नखाेले ढाेका फाेर्छु भन्दै ढुङ्गाले ढाेकामा हान्न थाल्याे । ढाेका फुटाल्नुभन्दा खाेल्नु ठीक ठानेर उनले सकिनसकी उठेर ढाेका खाेलिन् । अामा उठेकाे थाहा पाएर बच्चाे रुन थाल्याे । हत्त न पत्त बच्चालाई थुम्थुम्याउन गइन् । ऊ सरासर भित्र पसेर ढाेका नखाेलेकाे निहुँमा बिरामी श्रीमतीलाई कुट्न थाल्याे ।
*** *** *** ***
भाेलिपल्ट उसकाे अाँगनमा गाउँभरिका महिलाहरू जम्मा भए । ऊ झसङ्ग झस्कियाे कतै श्रीमतीसँगकाे हिजाेरातिकाे मुठभेडकाे वृतान्त बुझ्न महिला मण्डली अाएका त हाेइनन् ! तर महिलाहरूकाे हातमा फूलकाे माला देखेर ऊ केही धैर्य भाे ।
महिलाहरू महिलासम्मानमा उसले हिजाे गरेकाे भाषणबाट प्रभावित भई सम्मान गर्न जुटेका रहेछन् । अाँगनमा उसलाई फूलमाला र अबिर लगाई सम्मान गरेर हाम्राे नेता जिन्दावाद भन्दै फुर्क्याइएकाे थियाे । घरभित्र उसकी श्रीमती भने हिजाे उसकाे पतिले हिर्काउँदा उठेकाे टाउकाेकाे टुटिल्काे छामिरहेकी थिइन्।







सम्बन्धित
Loading...