विप्लव समूहका जनसरकार प्रमुखसहित छ जना पक्राउ


 खगेन्द्र अबस्थि




लम्की, असार १४ गते । जिल्ला प्रहरी कार्यालय कैलालीले नेकपा (विप्लव समूह) का छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव समूहका कैलाली जिल्ला जनसरकार प्रमुख दलबहादुर विकसहित अन्य पाँच जना रहेका छन् ।  विभिन्न मितिमा कैलालीका विभिन्न क्षेत्रमा आपराधिक क्रियाकलाप, राज्यद्रोह, कर्तव्यज्यान, हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ तथा सङ्गठित अपराधमा संलग्न रही फरार रहेको भन्दै प्रहरीले खोजीकार्य अघि बढाएको थियो । कैलालीमै रहेको भन्ने विशेष सूचनाको आधारमा विकलाई प्रहरीले खोज्ने क्रममा प्रहरी गस्ती टोलीले शनिबार साँझ धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट पक्राउ गरको हो ।

विकले प्रहरीमाथि अभद्र व्यवहार गर्नुका साथै आफूसँग रहेका अरुलाई भगाउन खोजेपछि प्रहरीले विकसहित अरु पाँच जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्त्ता प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले छ जना विप्लवका कार्यकर्तालाई पक्राउ गरेको बताउनुभयो ।




पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-९ बस्ने ४८ वर्षीय विकसँगै वडा नं. ३ का लक्की शाह, वडा नं. २ ठेगाना भएका जिल्ला कमिटी सदस्यसमेत रहेका ४० वर्षीय डम्बर सुनार, वडा नं. ७ ठेगाना भएका अखिल क्रान्तिकारी कैलाली जिल्ला अध्यक्ष २५ वर्षीय सुवास जोशी रहेका छन् ।

त्यसैगरी त्रिवेणी-८ बाजुरा ठेगाना भएका धनगढी उपमहानगरपालिकाका ईन्चार्ज ३० वर्षीय प्रकाश रावल, खप्तड छान्ना गाउँपालिका-५ बझाङ ठेगाना भएका पूर्व क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष एवम् जिल्ला कमिटी सदस्य ३० वर्षीय बबरजङ्ग सिंह रहेको जनाइएको छ ।




सम्बन्धित
Loading...