प्रदेश सांसदकाे तलब सुबिधा बढाउनु गलत : जनमुक्ति पार्टी





बुटवल-

प्रदेश नं. ५ सरकारले कानून संशोधन गरेर स्थानीय जनप्रतिनिधिहरुको तलब तथा सुविधा अनपेक्षित रुपमा बढाएकोमा त्यसको भण्डाफोर र खबरदारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टी, प्रदेश नं. ५ (लुथम) ले आज बुटवलमा भण्डाफोर एवं खबरदारी सभा सम्पन्न गरेको छ ।




भण्डाफोर तथा खबरदारी सभालाई सम्बोधन गर्दै पार्टीका उपमहासचिव एवं भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानका केन्द्रीय प्रवक्ता टोप अस्लामीले प्रदेश ५ को सरकारले कानून बनाएर जनप्रतिनिधिहरुको तलब भत्ता अनपेक्षित रुपमा वृद्धि गर्नु नेपालको संविधानको वर्खिलाप भएको बताउनु भएको छ ।

उहाँले प्रदेश ५ को सरकारको बदनियतपूर्ण निर्णय भ्रष्टाचारी कदम हो भन्दै जनताको सेवा गर्ने कसम खाएर जिम्मेवारी प्राप्त गरेका जनप्रतिनिधिहरुले त्यसको स्वीकार गर्नु थप भ्रष्टाचार हो भन्नु भयो । दुईतिहाई जनमत प्राप्त प्रधानमन्त्रीले समृद्ध नेपाल र सुखी नेपालीको नारा प्रचार गरेको सन्दर्भ स्मरण गर्दै भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्रीको नजर यता छ कि छैन ? भन्ने प्रश्न राख्नु भयो ।

उहाँले देशको संविधानको वर्खिलाप कार्य गर्ने प्रदेश ५ को सरकारलाई तत्काल खारेज गर्न पनि माग गर्नु भयो । भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानका प्रवक्ता अस्लामीले यदि जनप्रतिनिधिहरुले आर्थिक लाभ प्राप्त गर्ने उद्देश्य नै लिएको हो भने व्यापार व्यवसाय गरेर बस्नु पर्ने स्मरण गराउनु भएको छ । राष्ट्रियताका पक्षमा कतिपय राम्रा कामका वाबजुद प्रधानमन्त्रीले भ्रष्टाचार सम्बन्धमा कानून बनाएर अगाडि बढ्न उदासिन भएको आरोप समेत लगाउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य गीता सारुले प्रदेश ५ को सरकारले विभिन्न १४ शिर्षकमा गरेका निर्णयहरु जनताको हित प्रतिकूल भएको बताउनु भयो । हरेक जनताले तिरेको राजस्वको सही सदुपयोग गर्ने जिम्मेवारी पाएकाहरुले भाग लगाएर त्यसको दुरुपयोग गर्नु जनमतको अपमान भएको बताउनु भयो । उहाँले जनताको बलबाट प्राप्त संघीयतालाई असफल बनाउने खेल सरकारबाट नै हुन लागेको त छैन ? भन्ने प्रश्न पनि उठाउनु भयो ।
सो भण्डाफोर एवं खबरदारी सभामा राष्ट्रिय थारु मञ्च नेपालका राष्ट्रिय संयोजक रेखा प्रसाद चौधरी साथै जनमुक्ति युवा महासंघका प्रदेश ५ (लुथम) का अध्यक्ष डिबी थापाले पनि सम्बोधन गर्नु भएको थियो । उहाँले प्रदेश ५ सरकारले विभिन्न १४ बुँदामा गरेको जनविरोधी निर्णयको तत्काल खारेज गर्न माग गर्नु भयो । यसका साथै अब न्यायप्रेमी नेपालीहरुले सरकारका भ्रष्टाचारी कदमलाई टुलुटुलु हेरेर नबस्ने बताउनु भयो ।
राष्ट्रिय जनमुक्ति पार्टी, प्रदेश नं. ५ (लुथम) का सदस्य आशा गुरुङ्गको सञ्चालन रहेको सो भण्डाफोर एवं खबरदारी सभा प्रदेश उपाध्यक्ष धनी आलेको सभापतित्वमा सम्पन्न भएको थियो ।

अविरल झरीका बीच भएको कार्यक्रम जनताको उत्साहजनक उपस्थिति रहेको थियो । भण्डाफोर एवं खबरदारी सभा कार्यक्रम शुरु हुन अगाडि लखन चोक चौराहाबाट रयाली शुरु गरिएको थियो भने रयाली ट्राफिक चोकमा पुगी सभामा परिणत भएको थियो ।जनप्रतिनिधिहरु भक्षक होईन रक्षक बन्नु पर्छ भन्ने मूल नारा सहित अगाडि बढेको र्यालीमा राष्ट्रिय जनमुक्ति पार्टी – जिन्दावाद, जनप्रतिनिधिहरूले तलब भत्ता लिने व्यवस्था बन्द गर,  जनप्रतिनिधिहरू स्वयंसेवक हुनै पर्छ, तलब लिने जनप्रतिनिधि – राजीनामा गर, जनप्रतिनिधिको तलब भत्ता बढाउने निर्णय – खारेज गर, जनप्रतिनिधिहरुले तलब भत्ता त्याग्नै पर्छ – त्याग्नै पर्छ भन्ने नाराहरु लगाईएको थियो ।




सम्बन्धित
Loading...