गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङक्रमण


गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लामा १७ संक्रमित थपिएका हुन् ।




गण्डकी स्वास्थ्य निर्देशनालयअनुसार कोरोना संक्रमित थपिने जिल्लामा तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीका छन् । साउदी, कुवेत र दुबईबाट आएका पनि संक्रमण पुष्टि भएको छ ।

मंगलबार कोरोना संक्रमित पुष्टि हुनेमा ८ जना कास्कीका छन् । जसमध्ये ६ जना पोखरा महानगरका ३० देखि ५३ वर्ष उमेर समूहका पुरुषहरु छन् । एकजना मादी गाउँपालिकाका ४२ वर्षीय पुरुष छन् ।

‘अर्का एकजना पनि पुरुष नै हुन् । तर, प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा भूलबस महिला भन्ने आएको छ,’ अधिकृत आचार्यले अनलाइनखबरसँग भने, ‘विज्ञप्तिमा पोखरा महानगर ठेगाना भनिएको छ । तर, उनी भारतबाट आएका हुन् । ठेगाना खुल्न बाँकी छ ।’

कोरोना पुष्टि हुने पोखराका संक्रमित ४ जना साउदी, एकजना कुवेत र अर्का एकजना दुबईबाट आएको आचार्यले जानकारी दिए । ‘उहाँहरु हिँजो साँझ नै आइसोलेसनमा गइसक्नु भएको छ । स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने ।

त्यस्तै, मंगलबार नै कोरोना संक्रमण पुष्टि हुनेमा तनहुँका ५ जना छन् । ब्यास नगरपालिकाका उनीहरु २०, २७ र ३२ वर्षका ३ जना पुरुष छन् भने २७ र ३६ वर्षका २ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लमजुङका ३ जनामा संक्रमण भेटिएको छ । बेसीशहर, मस्र्याङ्दी र मध्यनेपाल नगरपालिकाका उनीहरु ३ जना नै महिला हुन् ।
त्यस्तै, स्याङ्जा पुतलीबजारका ३० वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ जना पुगेको छ । जसमध्ये २ जनाको कोरोना उपचारकै क्रममा पोखरामा मृत्यु भएको छ । गण्डकी प्रदेशमा कोरोनाबाट निको भएर घर फर्किनेको संख्या २ सय १४ छ ।







सम्बन्धित
Loading...