भरतपुर अस्पतालमा बिरामी बढ्न थाले


कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ ।




अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने समय बढाएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको आइतबार अस्पतालको बहिरङ्ग सेवामा ३ सय ८९ जना उपचारका लागि आएका थिए ।




त्यस्तै आकस्मिक सेवामा ८२ जना रहेका थिए । अस्पतालमा आइतबार बिरामीको सङ्ख्या बढी हुने गर्दछ ।

मङ्गलबार बहिरङ्ग सेवामा ३ सय १५ र आकस्मिकमा १ सय ११ उपचारका लागि आएका थिए ।  लकडाउनसँगै बिरामीको सङ्ख्या निकै घटेको थियो ।

२६ चैतमा बहिरङ्ग सेवामा ३१ र आकस्मिक सेवामा १ सय ४० जनाले उपचार लिएका थिए । अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या पनि बढेको छ ।

अस्पतालले यही आइतबारबाट बहिरङ्ग सेवाको टिकट काट्ने समय बिहान ९ देखि १२ बजेसम्म बनाएको छ । यसअघिको भन्दा समय दोब्बर बढेको हो ।

यस्तै, अस्पतालको प्रसूति सेवामा बिरामीको चाप निकै बढेको छ । विभागका प्रमुख डा. सुनिलमणि पोख्रेलका अनुसार दैनिक सरदर ३० जना गर्भवतीले अस्पतालमा बच्चा जन्माएका छन् ।

पूर्ण लकडाउनको समयमा यो सङ्ख्या १५ हाराहारी सम्ममा झरेको थियो । गर्भवती हुनेमध्ये ३० देखि ४० प्रतिशतको शल्यक्रिया गरिन्छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जिल्लामा सबैभन्दा सुरक्षित अस्पताल भरतपुर अस्पताल भएको भन्दै उपचारका लागि आउने बिरामीलाई कुनै जोखिम नरहेको बताए ।  रासस




सम्बन्धित
Loading...