कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू नगर्न माग

71




२०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी निर्णयमा निजी विद्यालयका सञ्चालकहरूले असहमति जनाएका छन् । कक्षा सञ्चालनको टुङ्गो नभएको तथा हालको अवस्थामा विद्यार्थीको पाठ्यभार घटाउने अन्तर्राष्ट्रिय अभ्यासविपरीत विद्यार्थीलाई थप बोझ बनाउन नहुने अडान उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान)ले लिएको छ ।

सङ्घका सचिव रामहरि सिलवालले अहिलको अवस्थामा शैक्षिक सत्र नै छ÷सात महिनामा सक्नुपर्ने अवस्था आउन सक्ने र अध्ययन अध्यापनका लागि विद्यार्थी र शिक्षकसमेत तयार हुन कठिन हुने अवस्थामा नयाँ पाठ्यक्रम लागू गर्न हुँदैन भन्ने औपचारिक निर्णयमा आफूहरू पुगेको जानकारी दिनुभयो । कक्षा ११ मा विषय थप भएसँगै विद्यालयहरूले भौतिक संरचना, शिक्षकको तयारीलगायतका धेरै कुरामा ध्यान दिनुपर्ने उहाँले स्पष्ट पार्नुुभयो । सरकारले भने २०७७ सालदेखि नै कक्षा ११ बाट नयाँ पाठ्यक्रम लागू गरिने जानकारी दिँदै त्यसका लागि आवश्यक तयारी गरिएको जनाएको छ । सरकारी तयारी अनुसार अब कक्षा ११ मा अनिवार्य तीनवटा विषय अध्ययन गर्नुपर्नेछ । नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य बनाइने भएको हो । यसअघि कक्षा ११ मा नेपाली र अङ्ग्रेजी गरी दुई विषय मात्रै अनिवार्य थियो ।

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेको तथा कक्षा ११ र १२ को परीक्षाका बारेमा समेत अन्योल रहेका बेला सरकारले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न हुँदैन भन्ने आफूहरूको भनाइ रहेको सिलवालको भनाइ छ ।
कक्षा ११ मा झन्डै ७० प्रतिशत विद्यार्थी निजी माध्यमिक विद्यालयमा अध्ययन गर्ने भएकाले यसमा आफूहरूसित पनि समन्वयमा काम गर्न सङ्घले माग गरेको छ ।

You might also like
Loading...