मालपोत परासीको भवन बेवारिसे, लाखौँ भाडा तिरेर निजी घरमा कार्यालय


भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को नवनिर्मित सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको एक वर्ष बित्दा पनि प्रयोगमा आउन सकेको छैन ।




कार्यालयले भने वार्षिक लाखौँ रुपैँया भाडा तिरेर व्यक्तिको निजी घर भाडामा लिएर सेवा दिँदै आएको छ । नयाँ भवन निर्माण भएको एक वर्ष बित्दा पनि कार्यालय सार्न चासो नदिइएको भन्दै यहाँका सरोकार पक्षहरुले चिन्ता व्यक्त गरेका छन् । आफ्नै सुविधा सम्पन्न भवन तयार भइसक्दा पनि सर्नुको सट्टा राज्यको कोषबाट लाखौँ रुपैयाँ भाडा तिरेर व्ययभार थप्नु उचित नभएको कृषक हक हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष शम्भु उपाध्यायले बताए ।

‘भवन तयार भएको वर्ष दिन बित्दा पनि कार्यालय सार्न चासो नदिनु गम्भीर विषय हो, राज्यको कोषबाट अनावश्यक खर्च भइरहेको छ, तत्काल नयाँ भवनमा कार्यालय सार्नुपर्छ’, उनले भने । करोडौँको भवन लामो समयदेखि बेवारिसे रहेकोले तत्काल संरक्षण गर्नुपर्ने नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसनका प्रदेश सदस्य अर्जुन क्षेत्रीले माग गरे । कार्यालयको मालपोत शाखाले मासिक ५० हजार रुपैयाँ भाडा दिएर व्यक्तिको निजी घरबाट सेवा प्रवाह गरिरहेको छ । भूमिसुधार शाखा पनि भाडामै सञ्चालनमा छ ।




कार्यालय प्रमुख सुरेन्द्र केसीले भने यसै महिना भित्र कार्यालय सार्ने तयारी भइरहेको बताए । निर्माण कम्पनीलाई भुक्तानी गरेर हस्तान्तरण भएपछि सर्ने बताउँदै उनले भने । ‘भवन निर्माण सम्पन्न भएको आधिकारिक पत्र शहरी विकास मन्त्रालयबाट प्राप्त भइसकेको छैन । निर्माण कम्पनीको पनि केही रकम भुक्तानी गर्न बाँकी रहेकोले हस्तान्तरण भएको छैन, न्यूनतम मूल्याङ्कन समितिको बैठक बसेर हामी प्रक्रिया मिलाएर यसै महिना भित्र सर्ने तयारीमा छौँ ।’

राज्यलाई थप व्ययभार नपरोस् भनेर आफूले निर्माण कम्पनीलाई प्रक्रिया पु¥याएर चालु आवमै भुक्तानी लैजान आग्रह गरेको उनले बताए । निर्माण कम्पनी बाबुल दिव्या जेभी सिद्धार्थनगरका सञ्चालक किरण कार्कीले आफूहरुले करिब ८० लाख भुक्तानी लिन बाँकी रहेकोले त्यसको प्रक्रिया चलिरहेको बताउँदै नयाँ भवनमा कार्यालय सार्न भने कुनै अवरोध नगरिएको बताए ।




सम्बन्धित
Loading...