बझाङ पहिरो अपडेट : ६ जनाको शव भेटियो, राहत लिएर हेलिकोप्टर जाँदै।


धनगढी: बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ। एक जना भने अझै बेपत्ता रहेका छन्।




वडा अध्यक्ष गणेशबहादुर बोहोराका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ बालिका अष्मिता जेठाराको शव भेटिएको छ। त्यस्तै, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको हो। २० वर्षीय गिरि जेठारा भने अझै बेपत्ता भएको  वडा अध्यक्ष  बोहोराले जानकारी दिए।




गएराति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको उनले बताए। राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाए पनि ७ जना भने पहिरोमा पुरिएका थिए।

स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु पनि पहिरोले बगाएको छ। ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ। स्थानीयले भोगचलन र अन्न उब्जाउ गर्दै आएको करिब आधा जमिन पहिरोले बगाएको स्थानीयले बताएका छन्। पहिरोले घरबारविहीन भएका व्यक्तिहरूले हिजो राति स्थानीय विद्यालयमा ओत लागे पनि अब कहाँ बस्ने भन्ने चिन्ता भएको बताएका छन्।

यसैबिच पहिरो पीडितका लागि गृह मन्त्रालयसँगको समन्वयमा खाद्यान्न तथा लत्ताकपडासहित हेलिकोप्टर जाँदैछ। प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार संघ र प्रदेश सरकारले राहत पठाउन लागेको जानकारी पाएको बताए। तर घटनास्थलमै ल्याण्ड गर्न नसक्ने भएकाले जिल्लास्थित सेनाको ब्यारेकमा सामान झारेर गाडीबाट लैजाने तयारी भएको बताइएको छ।




सम्बन्धित
Loading...